नेकपाले टुंग्यायो प्रदेश कमिटी सदस्यहरुको नाम

Nekapa pradesh ma oli prachanda

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालको असन्तुष्टी रहे पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सातै प्रदेश कमिटीका सदस्यहरुको नामवाली टुंगो लगाएको छ । पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश कमिटी टुंग्याउन नसकेको नेकपाले सोमबार सबै प्रदेश सदस्यहरुको सूची सार्वजनिक गरेको हो ।

गत बुधबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । केही प्रदेशमा नामावलीमा विवाद देखिएकाले नामावली प्रकाशित नगरिएको भए पनि सोमबार केही परिवर्तन गरेर सार्वजनिक गरिएको हो ।

त्यसको सबै विवरण नेकपाले सोमबार सार्वजनिक गरेको हो । यसअघि नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

पार्टी एकताकै क्रममा अझै नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ ।

यस्तो छ भागबण्डा
प्रदेश १ र ७ मा इञ्चार्ज र अध्यक्ष दुवै तत्कालीन एमालेबाट छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इञ्चार्जको जिम्मेवारी पाउँदा अरू प्रदेशमा सरकारमा नरहेका नेताहरूले जिम्मेवारी पाएका थिए ।

इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिवको जिम्मेवारी पाएको सुरेशबहादुर राईको प्रदेश नम्बर १ को प्रदेश कमिटीले पनि पूर्णता पाएको छ । विधानतः २ सय ७ सदस्यीय रहेको प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना सदस्यको नाम समावेश गरिएको छ ।

प्रदेश नं. २ मा तत्कालीन एमालेबाट १ सय ६ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । पार्टी एकतापश्चात अन्य पार्टीबाट प्रवेश गरेका ३ जनालाई समावेश गरिएको छ । प्रदेश २ को इञ्चार्जमा मण्डल, अध्यक्षमा प्रभु साह, सह–इञ्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई यसअघि नै जिम्मेवारी दिइसकिएको छ ।

प्रदेश न. ३ मा तत्कालीन एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना सदस्य रहने गरी २ सय १७ सदस्यीय प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । यसअघि नै इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सह–इञ्चार्ज हितबहादुर तामाङ र सचिवको जिम्मेवारी आनन्द पोख्रेलले पाइसकेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ इञ्चार्ज छन् । अध्यक्षमा हितराज पाण्डे, सह–इञ्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई असोजमा जिम्मेवारी तोकिएको थियो । यहाँ तत्कालीन एमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना गरी १ सय ८७ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ ।

प्रदेश ५ मा मुख्यमन्त्रीसमेत रहेका शंकर पोख्रेल इञ्चार्ज छन् भने सहइञ्चार्जमा दलबहादुर राना, अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा यसअघि नै नियुक्त भइसकेका छन् । बुधबारको बैठकले तत्कालीन एमालेबाट १ सय ६ जना र तत्कालीन माओवादी केन्द्रबाट ९७ जना रहने गरी २ सय ३ सदस्यीय समिति बनाएको छ ।

कर्णाली प्रदेशमा जनार्दन शर्मा इन्चार्ज, गोरखबहादुर बोगटी अध्यक्ष, यमलाल कँडेल सह–इञ्चार्ज र सचिवमा मयाप्रसाद शर्मा छन्। यो कमिटीले पनि अहिले पूर्णता पाएको छ। कर्णाली प्रदेशमा तत्कालीन एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना रहने गरी १ सय ७५ सदस्यिय प्रदेश कमिटी बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी छन् । सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १ सय ८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।

प्रतिकृया दिनुहोस