शर्मा भन्छन्, चौतारीमा राजा भेटिएको शैलीले नयाँ युग होइन, पुरानो युगको सम्झना गरायो

Biswa prakash sharma

काठमाडौं । नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन गर्न लागिएकोमा सन्तोष व्यक्त गरेको छ । तर, कार्यान्वयन प्रक्रिया सुरु गर्दा अपनाइएको प्रचार शैलीको भने विरोध गरेको छ ।

कांग्रेसले सामाजिक सुरक्षा कोष पूर्वप्रधानमन्त्री शेरबहादुरको पालामा राष्ट्रपतिबाट प्रमाणित भएको र वर्तमान सरकारले त्यसको पूरै जस लिन खोजेको आरोप पनि लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित भएको सरकारलाई अवगत गराएको छ ।

ऐनको सफल कार्यान्वयनबाट श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कांग्रेसले कार्यान्वयन भड्किलो शैलीले र झुठो प्रचारले नहुने भन्दै सरकारलाई सचेत बनाएको छ । कांग्रेसले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरीको संज्ञा दिएको छ ।

‘सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझैं गरेर भ्रम छर्नेगरी प्रधानमन्त्री केपी ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको छ’ सो पत्रकार सम्मेलनका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र सर्वत्र टाँस्नुले नयाँ युग होइन पुरानो युगको सम्झना भएको छ ।’

‘प्रधानमन्त्रीको तस्बिर टोलटोलमा, बिजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्बिर सहितको पोष्टर टाँसिदा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने ?’ शर्माले भने, ‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद हो । तर, सरकारले भड्किलो प्रचार शैली अपनायो । यसले भ्रम छर्ने काम गरेको छ ।’

स्पाइनल इन्जुरी, किड्नी, क्यान्सर र मुटु रोगका असक्त बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णयलाई खारेज गरेकोमा आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस