८५ बाट १४१ सदस्य जम्बो समिति बनाउँदै कांग्रेस

Nepali congress central office

काठमाडौं । गुटगत भागबण्डा मिलाउन अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति पनि जम्बो बन्ने भएको छ ।

अहिले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ । त्यसलाई बढाएर अब कांग्रेसको कार्यसमिति १ सय ४१ सदस्यीय हुने भएको हो ।

पछिल्लो समय नेपाली कांग्रेस गुटगत राजनीतिको चंगुलमा फसेको छ । जसले गर्दा कांग्रेसले प्रमुख प्रतिपक्षको राम्रो भुमिका पनि निर्वाह गर्न सकेको छैन । त्यही बेला कांग्रेसभित्र भित्रभित्रै गुटको राजनीति भुषको आगोझै सल्किएको छ । यसलाई मिलाउन पनि कांग्रेसले जम्बो समिति बनाउन लागेको हो ।

कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको सङ्ख्या बढ्ने भनिएको छ ।
सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आइतबार केन्द्रीय कार्यसमिति बैठकमा पेश गरे ।

मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

महासमिति बैठकले मस्यौदा प्रतिवेदन पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ । प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १ सय ४१ हुनेछ ।

प्रतिकृया दिनुहोस