प्रकाण्डको उद्घोष : निर्मला पन्तको हत्यारालाई कारवाही गरेरै छाड्छौ

Prakand cpn 595x300

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन् ।

पार्टी पुर्नगठनको अवसरमा शनिबार प्रदर्शनी मार्गमा आयोजित जनसभामा प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले निर्मलाको घटनाको छानविन गर्ने बताए । उनले बलात्कारी र हत्यारालाई जनताको बीचमा ल्याएर कारवाही गरेरै छाड्ने ठोकुवा गरे । उनले निर्मलाको बलात्कार र हत्या सरकारी मान्छेबाटै भएको जिकिर पनि गरे । उनले निर्मलाको हत्या सरकारी मान्छे भएकै कारण अहिलेसम्म अपराधी पत्ता नलागेको दाबी गरे ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका प्रकाण्डले भने ‘निर्मला पन्तको बलात्कारको घटनामा सरकार नै संलग्न रहेको छ । अब मंसिर १६ गते निर्मला पन्तको बलात्कार र हत्याको बिरोध कार्यक्रम गर्छौ ।’

प्रकाण्डले अहिलेको सरकार भ्रष्टचारको दलदलमा फसेको आरोप पनि लगाए । ‘नेताहरु भ्रष्टचार गर्नैका लागि जन्मिएका हुन्’ प्रकाण्डले भने, ‘कसरी राज्यको ढुकुटी लुटेर कसरी आफ्नो बनाउने भननेबाहेक अरु केही सोच छैन ।’

प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । उनले भने, ‘राष्ट्रियता संघटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ । हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको छ । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधिनताको लागि राष्ट्रिय सेनामा बदलिने छन् ।’

प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’को संज्ञा दिएका छन् । प्रकाण्डले उनीहरुकै कारण जनताले धोका पाएको बताए । 

सो जनसभा कार्यक्रममा पूर्वमाओवादी केन्द्रका नेता एवम् सांसद पूरन राना थारु, माकेका पूर्वनेता एवम् बौद्धिक अभियन्ता नरबहादुर कार्कीलगायत सयौं जना नेकपामा प्रवेश गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेलले गरेकी थिइन् भने सभाको अध्यक्षता नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गरेका थिए ।

सभामा देशभरबाट नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकको उपस्थिति रहेको थियो । सहभागीले प्रदर्शनीमार्ग, भृकुटीमण्डप, पुतलीसडक, रत्नपार्क खचाखच भरिएको थियो ।

प्रतिकृया दिनुहोस