नेपालले गर्यो गोलको वर्षा, ९ गोल खाँदा पाकिस्तान स्तब्ध

काठमाडौं । थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि सानदार जीत निकालेको छ ।
नेपालले पाकिस्तानविरुद्ध सुरुवातबाटै दबाब बनाएको थियो । खेलको अन्तिम समयसम्म पनि खेललाई आफ्नो नियन्त्रणमा राखेको नेपालले ९ गोल गर्यो । यो जीतसँगै नेपाल एएफसी यु–१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
नेपालको लागि मञ्जलीकुमारी योञ्जनले दोस्रो मिनेटमै गोल गरेर खललाई आफ्नो पक्षमा पारेकी थिइन् । ३१औँ मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । अलिसा जिम्बाले ३७औँ मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिँदै खेलमा ३–० सहज अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप गोल गर्यो । खेलको ४८औँ मिनेटमा सम्झना लावतीले, त्यसको केही मिनेटभित्रै पूजा रानाले दुई गोल, ५७औँ मिनेटमा निशा थोकरले अर्को गोल गरेकी थिइन् ।
७४औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७–० को अन्तर बनाएकोमा निशाले नै ८५औँ मिनेटमा गोल गरिन् भने कप्तान सरु लिम्बूले ८९औँ मिनेटमा गोल गरेपछि नेपाल ९–० को फराकिलो अवस्थामा पुगेको थियो ।
समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । आयोजक थाइल्यान्ड अघिल्लो चरणका लागि छनोट भइसकेको छ ।
प्रतिकृया दिनुहोस