स्कुलमा परामर्शदाता आवश्यक छ की छैन ?

Rajesh paudel (1) - राजेश पौडेल

विशेष गरी शहरी क्षेत्रका व्यक्तिगत स्वामित्वमा रहेका स्कूलहरुमा डिसिप्लीन इन्चार्ज (डिआई) राख्ने परिपाटी छ । विद्यार्थीको जटिल व्यवहार व्यवस्थापन र त्यस विषयमा परिवारसँगको सहकार्य डिआईको मुख्य जिम्मेवारीअन्तर्गत राखिएको छ । साथसाथै, बच्चाको अनुशासन कायम राख्न योजना र मुल्याङ्कन पनि डिआईको जिम्मेवारअन्तर्गत राखिएको छ ।

काठमाडौंका केही राम्रा स्कुलहरुले स्कूलमा डिआईको पदपुर्ति गर्न निकालिएको सुचनाअनुसार डिआईको योग्यता मध्यम वा प्लस टु तोकिएको छ । मुल्याङ्कन गर्न यति सजिलो छ की के डिआईको योग्यता र उसको जिम्मेवार सान्दर्भिक छ त ? साच्चै के डिआई बच्चाको व्यवहार बुझ्न र व्यवस्थापनगर्न सक्षम छन् त ? मैले यसरी प्रश्न गर्र्दा कुनै डिआईको रोजगारीमाथी धावा बोल्न पक्कै खोेजेको होइन । बरु यथार्थलाई थोरै कोट्याउन मात्रै खोजेको हो । यहाँ निर्दाेष विद्यार्थीमाथी स्कुलहरुले गरेका भावनात्मक शोषणमा औंला उठाउन खोजिएको हो ।

अहिलेको अवस्थालाई सरसर्ती हेर्ने हो भने डिआईको मुख्य काम स्कुलमा अनुशासनको दायरामा नबसेको विद्यार्थीलाई डर र धम्कीले व्यवस्थापन गर्न खोजेको देखिन्छ र त्यसको बारेमा विद्यार्थीको परिवारलाई विद्यार्थीको नकारात्मक टिप्पणी गराउने काम देखिन्छ । जसले गर्दा विद्यार्थीले आत्मसम्मान घटेर जान्छ ।

त्यसकारण यो भन्न सकिन्छ की चुरोट, रक्सी लगायतका लागुपदार्थ सेवन गर्ने र अनुशासनको दायरामा नबस्ने विद्यार्थीलाई मात्र व्यवस्थापन गर्ने डिआई राखेको हुनुपर्छ । के स्कुलमा विद्यार्थीको समस्या भनेको लागुपदार्थ सेवन र अनुशासन नहुनु मात्र हो त ? यदि यी मात्रै समस्या हुन् भने पनि डर र धम्कीले मात्रै समस्याको समाधान छ त ? के स्कुलमा ति समस्याको कारण खोजेर उचित योजना लागु गरिएको छ त ? बरु बलपूर्वक समस्याको समाधान खोज्दा विद्यार्थी र स्कुलको सम्बन्ध नकारात्मक भएको देखिन्छ ।

लागुपदार्थ सेवन, अनुशासित नहुनु बाहेक यौन हिंसा, पारिवारिक समस्या शिक्षकसँगको आपसी तनाव, विद्यार्थीबीच आपसीद्वन्द्व, मनो–सामाजिक समस्या र व्यक्तिगत मनोवैज्ञानिक कारण विद्यार्थीको मुख्य समस्या हुन् । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीका लागि करियर निर्माण पनि मुख्य समस्या हो । यी विविध समस्याले गर्दा विद्यार्थीको भावना सँगसँगै व्यवहारमा पनि परिवर्तन आउँछ र स्कुलमा फरक व्यवहार देखाउँछन् ।

परामर्श तालिमको क्रममा काठमाडौंको एउटा बोर्डिङ स्कुलमा पुगेको थिएँ । परामर्श विषयमा कुरा सकिसकेपछि कक्षा १० मा पढ्ने सृजना (नाम परिवर्तन गरिएको) मसँग कुरा गर्न आइन् । कुरा गर्दै जाँदा उनले आँखाभरी आँसु बनाउँदै आफ्नो समस्या व्यक्त गरिन् । आफ्नो डेरा नजिकै बस्ने काकाले उनलाई फरक व्यवहार गरेको कुरा उनले बताइन । उनले भनिन् ‘मसँग धेरै नजिक हुन खोज्नु हुन्छ, मेरो गोप्य अङ्गमा हातहरु लैजानु हुन्छ, मलाई अप्ठ्यारो लाग्छ । स्कुलबाट घर पुग्दात्यो काकाआइपुग्नु हुन्छ । बाबा, ममी अफिसबाट घर फर्किने समय भइसकेको हुँदैन । आजभोली त स्कुलबाट घर फर्किन पनि डर लाग्छ र साथीको घरमा जान्छु । अनिममी, बाबा आएपछी मात्र घर जान्छु ।’ उनी धेरै तनावमा देखिन्थिन ।

यो कुराले पढाईमा ध्यान दिन पनि नसकेको कुरा उनी बताउँथिन् । मैले उनको अनुमति लिएँ र उनको परिवारलाई यो विषयमा केही जानकारी गराएँ । यो एउटा उदाहरण हो । हरेक विद्यार्थी सृजनाको जस्तो समस्या बोकेर बसेका छैनन् भन्न नसकिएला । हो सबै विद्यार्थी यौन हिंसाको सिकार नबन्लान् । तर केही न केही मनो–सामाजिक कुराले तनावमा हुन्छन् । जसको कारणले विद्यार्थीको दैनिकी र पढाईमा नकारात्मक असर पर्न जान्छ ।

सृजनाको समस्याको समाधान खोज्ने हो त्यति धेरै जटिल पनि थिएन होला । यदि उनले आफ्नो समस्याको विषयमा खुलेर कुरा गर्न सकेको भए कतै न कतैबाट उनको समाधान सु्निश्चित थियो ।

प्रसृद्ध मनोविद्ध इरिक्सनका अनुसार किशोर अवस्थामा विद्यार्थीको मनोविज्ञान परिवारबाट स्वतन्त्र प्राप्त गर्ने हुन्छ । यो अवस्थामा किशोर/किशोरी आफ्नो पहिचान आफैँ बनाउन चाहन्छन् । जसको कारणले भावनात्मक रुपमा परिवारबाट केही टाढा हुन्छन् । उनीहरु परिवारसँग आफ्नो समस्या खुलेर राख्न सक्दैनन् । साथीभाईसँग भन्दा हाँसोको पात्र बन्ने डर मान्छन् भने शिक्षकसँग खुलेर बोल्ने डर मान्छन् ।

आफ्नै समस्या राख्न सक्नु ठूलो कुरा हो । यदि यसो हो भने विद्याथीर्ले आफ्नो समस्या कसलाई भन्ने ? कोसँग उनीहरु आफ्नो समस्या सुनाउँदा सुरक्षित अनुभव गर्छन् छ त ? के स्कुलको घोकाई प्रवृत्ति र उत्कृष्ट अंकले मात्र विद्यार्थीको करियर सुनिश्चित छ त ? यस्तै प्रश्नको उत्तर प्रयास गर्दै आज अमेरिका र युरोप लगायतका विकसित देशहरुमा स्कुल परामर्शदाता राखिएको छ ।

स्कुल परामर्शदाताको सुरुवात सन् १८०० को अन्तिमतिर औद्योगिक क्रान्ति र व्यवसायीक विश्वासको प्रतिक्रियाबाट भएको हो । विस्तारै यसको कार्यक्षेत्र र अधिकारमा विकास भई आजको आधुनिक पुस्तामा यसको महत्व अपरिहार्य छ ।

स्कुल परामर्शदाताको योग्यता
कमसेकम मनोविज्ञान विषयमा स्नातक र आवश्यक तालिम प्राप्त व्यक्ति स्कुल परामर्शदाताको रुपमा योग्य ठहरिन्छ । विकसित देशहरु अमेरीका, युरोपका आधारमा हेर्ने हो भने स्कुल परामर्श विषयमा स्नातकोत्तर र आवश्यक तालिम कार्य अनुभव भएको व्यक्ति स्कुल परामर्शदाताको रुपमा योग्य भनिन्छ ।

नेपालमा पनि स्कुल परामर्शलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले पोष्ट ग्राडुएट डिप्लोमा इन स्कुल काउन्सिलिङ कार्यक्रम ल्याएको छ । नेपालका मनोविद्धहरुको भनाई अनुसार, मनोविज्ञान विषयमा स्नातक र छ महिना मनो–सामाजिक तालिम प्राप्त गरेको व्यक्ति स्कुल परामर्शदाताको रुपमा योग्य हुन्छ । साथै सो विषयमा स्नातकोत्तर छ भने झनै राम्रो हुने बताउँछन् ।

परामर्शदाताको भुमिका
मानव विकास अध्ययन गर्ने मनोविदहरुका अनुसार किशोर अवस्था एक ट्रान्जिसनल पिरियड हो । मुलतः कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थी किशोर अवस्थाअन्तर्गत पर्दछन् । यो अवस्थामा अचानक हुने शारीरिक र हर्माेन परिवर्तनका कारण किशोर किशोरीका भावना र व्यवहारका परिवर्तन आउँछ । जसले गर्दा किशोर किशोरी मनोवैज्ञानिक तवरबाट तनावग्रस्त हुन्छन् ।

यौन हिंसा, रिसाहा प्रवृत्ति, पारिवारिक तनाव, इन्टरनेटको लत, पढ्ने बानी, करियर निर्णय साथीभाइसँग आपसीद्वन्द्व, शिक्षकसँगको मुटाव आदि विद्यार्थीको सामान्य समस्या हुन भने डिप्रेसन, डर दुश्चिन्ता, लागु औषध दुव्र्यसनी र आत्महत्या विद्यार्थीका मुख्य समस्या हुन् । पछिल्लो समयलाई हेर्ने हो भने किशोर किशोरीको आत्महत्या दर बढ्दो देखिन्छ । यस्तै समस्याको समाधानका लागि स्कुलमा परामर्शदाताको अतिआवयश्क हुन्छ । जोसँग विद्यार्थी आफ्नो समस्या खुलेर राख्न सक्छन् ।

अमेरीका स्कुलका काउन्सलर संगठनले स्कुल परामर्शदाताको भुमिका निम्न रुपमा उल्लेख गरेको छ ।
–विद्यार्थीहरुको शैक्षणिक योजना ।
–पटक पटक विद्यालय नजान्ने विद्यार्थीलाई परामर्श ।
–विद्यार्थीको भविष्यको करियर बुझाउन सहयोग गर्ने ।
–शैक्षिक चिन्ताको विषयमा विद्यार्थीलाई परामर्श गर्नु ।
–कक्षाकोठा व्यवस्थापनमा शिक्षकसँग सल्लाह गर्नु ।
–स्कुल प्रिन्सिपललाई विद्यार्थीको आवश्यकता पत्ता लगाउन सघाउने ।
– विद्यार्थीको डेटा विश्लेषण गरी आवश्यकता बुझ्ने ।

विकसित देशहरुमा हेर्ने हो भने परामर्शदाता नभएको स्कुल औंला भाँचेरै गन्न मिल्छ । छिमेकी देश भारतमा पनि महत्वलाई आत्मसाथ गर्दै शहरी क्षेत्रका प्रायजसो स्कुलहरुमा स्कुल परामर्शदाता छन् ।

यस विषयमा नेपालमा पनि चर्चा नभएको भने पक्कै होइन । १/२ वर्ष अगाडी पत्रपत्रिकामा डिआई हटाउँ, स्कुल परामर्शको सुरुवात गरौं भनेर एकादुई लेख लेखिएका थिए । देश विकसित हुँदै गर्दा, प्रयाप्त बुझाईको कमीले डिआई विकल्पको रुपमा राखे पनि परिवर्तनशील समयमा यो उपयुक्त नहुन पनि सक्छ । त्यसैले समय सँगसँगै हामी परिवर्तन हुन सिक्नु राम्रो होला । रातो बंगला, काठमाडौं मेरीडिन स्कल, बुढानिलकण्ठ लगायतका काठमाडौंका १०/१२ वटा नाम चलेका स्कुलहरुमा परामर्शको व्यवस्था भए पनि सरकारको यस विषयमा ध्यान नजानु र स्कुलहरुको बुझाईको कमीको कारण सबै स्कुलहरु यसबाट लाभान्वित भएका छैनन् ।

सरकारसामु अनुरोध छ, यस विषयमा ध्यानाकर्षण होस् र कलिला अनि निर्दाेष विद्यार्थीको भावनात्मक शोषण नहोस् । विद्यार्थीको सुनिश्चित भविष्य उनीहरुको अधिकार हो भने स्कुल र राज्यको दायित्व हो । प्रत्येक स्कुलले सोच्ने बेला आएको छ डिआई कि परामर्श ?

लेखक मनोविश्लेषण केन्द्र, नेपालका मनोपरामर्शदाता हुन् ।

 

 

प्रतिकृया दिनुहोस