बलात्कारबारे गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारबाही सिफारिस

Doctor

धनुषा । धनुषाको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले बालिका बलात्कारमा गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारबाही सिफारिस गरेका छन् । ती डाक्टरले बलात्कार नै नभएको रिपोर्ट दिएका थिए ।

जनकपुर अञ्चल अस्पतालका डा। विजयकुमार सिंह र डा। रम्भा गोइतलाई कारबाही सिफारिस गरिएको हो । उनीहरूलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र गृह मन्त्रालयमा पत्र पठाएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

उनीहरूले धनुषाको जनकन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिका बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिएका थिए ।

बलात्कारजस्तो अपराधमा मेडिकल रिपोर्ट महत्वपूर्ण हुने भन्दै धनुषा सरकारी कार्यालयका वकिल टेकबहादुर कार्कीले अपराधीलाई संरक्षण गर्ने नियतले गलत रिपोर्ट आएको देखिएको बताए । ‘कतिपय बलात्कारका मुद्दामा गलत मेडिकल रिपोर्टका आधारमा अपराधी उम्कने गरेका छन्,’ उनले भने ।

विगतमा पनि अस्पतालहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट समयमा उपलब्ध नगराउने गरेको प्रहरी उपरीक्षक थपलियाले बताए । अञ्चल अस्पतालका चिकित्सक सिंहले भने आफूले तयार पारेको रिपोर्ट सही भएको दाबी गरेका छन् ।

त्यसो त जनकपुर अञ्चल अस्पतालमा परीक्षणका लागि शवको अंगको नमुना र भिसेरा संकलन सरसफाइकर्मीले गर्ने गरेका छन् । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिवेक्षक डा। रामपरीक्षण यादवले शवको पोस्टमार्टम गर्दा भिसेरा निकाल्ने र चिरफारपछि शवको सिलबन्दी गर्ने काम सरसफाइकर्मीले नै गर्ने गरेको स्वीकार गरे । तालिमप्राप्त सफाइकर्मीले सो काम गर्दै आएको यादवको दाबी छ ।

पोस्टमार्टम गर्ने काम सफाइकर्मीको नभई फरेन्सिक विभागमा विशेषज्ञता हासिल गरेका दक्ष चिकित्सक भएको सरकारी वकिल टेकबहादुर कार्कीले बताए । पोस्टमार्टम रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सक फरेन्सिक विज्ञ हुनुपर्नेमा जनकपुर अञ्चल अस्पतालमा फरेन्सिक विज्ञ नै छैनन् ।

यसरी भयो पर्दाफास
ठूलोबुबाको घरबाट खाना खाएर ८ भदौ राति आफ्नो घर जाने क्रममा १२ वर्षीया बालिकाको रामकरण मण्डल ९खत्वे०ले मुख थुनेर बलात्कार गरेका थिए । घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालय खजुरीले बालिकाको स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको थियो । घटनालगत्तै मण्डल फरार थिए । उनलाई प्रहरीले ११ भदौमा पक्राउ गरेको थियो ।

तर, घटनाको ११ दिनपछि जनकपुर अञ्चल अस्पतालले बालिकाको बलात्कार नभएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय पठाएको थियो । तर, प्रहरीले बालिकाको पुनः स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठायो । सो अस्पतालका डा। राकेशकुमार सिंहले बालिकाको यौनांग च्यातिएको र गालामा दाँतले टोकिएको निसान देखिएको रिपोर्ट जिल्ला प्रहरी कर्यालय पठाएको थियो ।

अदक्ष व्यक्तिले गर्छन् नमुना संकलन
जनकपुर अञ्चल अस्पतालमा परीक्षणका लागि शवको अंगको नमुना र भिसेरा संकलन सरसफाइकर्मीले गर्ने गरेका छन् । शवको अंग नमुना संकलनदेखि सिलबन्दीसम्मको काम सफाइमा खट्ने कर्मचारीले गर्ने गरेका छन् । अदक्ष व्यक्तिले नमुना संकलन र सिलबन्दी गर्दा प्रमाण नष्ट हुन सक्ने सरकारी वकिल टेकबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस