हराउने हराएको हरायै, खोज्ने खोजेको खोज्यै : आखिर जान्छन् कहाँ ?

Pyuthanma bepatta

प्युठान । गत असार २४ मा च्याउ खोज्न जान्छौ भनेर घरबाट जंगल निस्किएका सरुमारानी गाउँपालिका ६ भिङ्ग्रीखोला घर भएकी २५ वर्षीय शीला मगर र २३ वर्षीय मिरा घर्ती हराएको तीन महिना बितिसक्यो ।

उनीहरु नन्द भाउजु हुन् । घरमा तीन जना दुधे बच्चा छोडेर निस्किएका उनीहरुको खोजीका लागि प्रहरी र आफन्तले भएभरको बल लगाइसक्यो । तर, अझैं उनीलाई भेटाउन सकेको छैन ।

प्युठान नगरपालिका –२ सिद्धिखोला की २३ वर्षीया बसन्ती जिसी २०७४ जेठ २ देखि हराइन् । ०७४ माघ १३ देखि ऐरावती –६ की २० वर्षीया आशुष्माको अझैं अत्तोपत्तो छैन । सरुमारानी –२ की २१ वर्षीया रमिता ०७४ फागुन २५ देखि हराइन् । उनको पनि कुनै खबर छैन ।

यस्तो छ तथ्यांक
धेरैजसो हराएकाहरू कहाँ जान्छन्, प्रहरीले समेत अहिलेसम्म भेउ पाउन सकेको छैन । कतिपयका अनुसार मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किए प्रहरीमा जानकारी गराउँदैनन् । त्यही भएर पनि हराएको अभिलेखमा रहिरहन्छ ।

आर्थिक वर्ष ०७२/७३ मा ६९ जना मानिस हराएको तथ्यांक छ । तर, १५ जना मात्रै भेटिएका छन् । ५४ जना अझैं सम्पर्कविहीन छन् । गत आर्थिक बर्षमा महिला, पुरुष र बालबालिका गरी जिल्लाबाट १ सय ६० जना हराएका थिए । त्यसमध्ये ७ जना अझैं फेला परेका छैनन् ।

तीमध्ये १ सय ५३ जनालाई प्रहरीले खोजबिन गरी सम्बन्धित अभिभावकको जिम्मा लगाएको महिला तथा बालबालिका सेवा केन्द्र प्युठानले जनाएको छ ।

चालू आर्थिक वर्षको असोज १ गते सम्म हराइरहेका ३० जनामध्ये १५ जना फेला परेको प्रहरी तथ्याकंमा उल्लेख छ । अन्य १५ जना बेपत्ताको सुचीमा छन् । जिल्लाबाट हराएकाहरू यी प्रतिनिधि घटना हुन् ।

अभिभावक र प्रहरी नै हैरान
यसरी हराउनेमा महिला तथा बालबालिकाको संख्या धेरै रहेको जनाईएको छ । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य भइरहेको छ । यद्धपि प्रहरीले खोजी गरिरहेको दावी गरे पनि परिवारका सदस्य भने प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँछन् ।

हराएकाको खोजीमा हैरानी बेर्होनु परिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । आफैं हराएको या अरु के कारण हो भन्ने यकिन नहुँदा पनि प्रहरीलाई खोज्न हैरानी हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी निर्मल बुढाथोकी भन्छन्, ‘ हराएको जानकारी आउनासाथ खोजी गर्न टोली परिचालन गर्ने गरिएको छ ।’ तर, हराएका व्यक्ति फेला पर्न नसक्दा त्यसको दोश प्रहरीले नै खेप्नुपर्छ ।

आफैं हराएकाहरू मुलुकबाहिर पुग्ने गरेको सुचना पनि प्रहरीले थाहा पाउने गरेको छ । त्यति मात्रै होइन, कति त कतै गएर लुकेर बसिदिने गर्दा पनि खोजी गर्न हैरानी हुने गरेको छ ।

कतिपय महिला र किशोरकिशोरीले भागी विवाह गर्ने गरेका छन् । भागी विवाह गर्दा परिवारले खोसेर लैजाने डरले वर्षौसम्म पनि सम्पर्कमा आउँदैनन् । उनीहरु सम्पर्कमा नआएपछि हराउनेको उजुरी बढि नै आउँछन ।

पहाडी जिल्लाबाट तराई झरेर बस्ने या भारततिर जाने गरेका कारण पनि हराएकाको खोजी गर्न समस्या हुने गरेको छ । परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको महिला तथा बालबालिका सेवा केन्द्र प्युठानकी प्रमुख दिलसरा राना बताउँछिन् ।

बैदेशिक रोजगारी, पारिवारिक कलह र सामाजिक सञ्जालको दुरुपयोगबाट पनि महिला तथा बालवालिका बेखवर बन्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

यसरी पोखिन्छ आक्रोस
हराएको जानकारी आउनासाथ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले मातहतका सबै एकाइ र उपल्ला निकायमा हुलियासहित जानकारी दिने गरेको छ ।

कोही हराए जिल्ला, अञ्चल, क्षेत्र हुँदै केन्द्रसम्म उनीहरूको सूची पठाइन्छ । तर, हराएकाहरूका परिवारले भने खोजी गर्न प्रहरीले औपचारिकता मात्र पूरा गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

‘बेपत्ताको खोजीमा प्रहरी सक्रिय नै छ । तर हराएजति फेला पार्न सकिएको छैन’ डिएसपी बुढाथोकी भन्छन्, ‘हामीले खोज्दा खोज्दै पनि कतिपय नियतबस लुक्छन् । त्यस्ता व्यक्ति नभेटाउन पनि सकिन्छ ।’

प्रतिकृया दिनुहोस