आधुनिक तीजमा विषाक्त संस्कृतिको प्रभाव

Surya thpa 1 - सूर्या थापा

तिज पर्व विशेष गरेर हिन्दु धर्मावलम्बी महिलाहरुले सदियौँदेखि मनाउँदै आएको परम्परा हो । ठोस रूपमा भन्नु पर्दा यो पर्व मनाउने प्रचलन भनेको सामन्ती संस्कृतिको उपज नै हो । यो चाड धार्मिक परम्परामा वा आदर्शवादी चिन्तनबाट प्रेरित हुने गर्छ । यसले नैतिकता, दर्शन, कला, शिक्षा र साहित्यलाई भौतिक आधारबाट अलग्याएर हेरिएको पाइन्छ ।

पहिले सामन्तवादी व्यवस्थामा सम्पन्न वर्गले विपन्न वर्गमाथि थिचोमिचो गर्ने वा शोषण दमन गर्ने प्रवृत्तिलाई सामान्य मानिन्थ्यो । विपन्न वर्गलाई दासको रुपमा हेरिन्थ्यो । त्यही अनुसार व्यवहार पनि गरिन्थ्यो । शासक वर्गलाई त्यस प्रकारले आफ्नो वर्चश्व कायम गर्नुपर्ने हुन्थ्यो । उसको बोली ईश्वरको बोली मान्नुपर्ने हुन्थ्यो ।

यो पहिलो विशेषता हो भने दोस्रो विशेषता भनेको सामन्ती संस्कृतिका पुराण लगायतका धर्मग्रन्थहरु, जस्तै– रामायण, महाभारत, मनुस्मृति आदि तेर्साएर आदर्शको खोल ओढाइन्छ । यसरी मानव समाजलाई यथास्थितिमा राख्ने प्रयास हुन्थ्यो । सबै खाले शोषण, उत्पीडनबाट विपन्न वर्गले यस्ता सामन्ती विषाक्त संस्कृतिबाट प्रताडित हुनु पर्दथ्यो ।

तेस्रो विशेषता भनेको यस्ता समाजमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिक मानिन्थ्यो । उनीहरुलाई सामाजिक, आर्थिक, राजनैतिक अधिकारबाट वञ्चित गराइन्थ्यो । आफ्नो हातमा अधिकारको नाममा केही हुँदैनथ्यो । सबै पुरुषको भरमा निर्भर हुनु पर्दथ्यो । घरको चारदिवार नै महिलाहरुको संसार मानिन्थ्यो । महिलालाई दासी, विलासिताको वस्तु, सन्तान उत्पादन गर्ने मेसिनको रुपमा हेरिन्थ्यो । आर्थिक रुपमा निर्भरता, सम्पूर्ण रुपमा छोरी बुबाको, श्रीमती श्रीमानको, आमा छोराको निर्भरतामा रहनुपर्ने हुन्थ्यो । स्वर्ग र नर्कको धार्मिक विश्वासमा पतिलाई परमेश्वर मान्नुपर्ने, उनको सेवा गर्नु नै धर्म हो भन्ने मान्यता व्याप्त थियो । मनुस्मृतिले त महिलालाई वस्तुको रुपमा तुलना गर्ने र उनलाई प्राण नभएको ढोल, गवार र पशु बराबर हेर्ने गरिन्थ्यो । यस्तो विषाक्त संस्कृतिलाई बढावा दिने कामलाई राज्यको तर्फबाट प्रोत्साहन दिइन्थ्यो । समग्रमा यो पितृसत्तात्मक समाजको चिन्तनको उपज हो भन्ने लाग्दछ ।

आज हामी एक्काइसौँ शताब्दीमा छौँ । तर पनि नेपाली समाज अर्ध सामन्ती अवस्थामा छ । शासन व्यवस्था पनि सोही धरातलमा आधारित छ । भनाइको तात्पर्य देश अर्ध औपनिवेशिक अवस्थाबाट गुज्रिराखेको छ । आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक सम्पूर्ण क्षेत्रमा नेपालीहरु आफैले निर्णयात्मक अवस्थामा रहन सकिरहेका छैनन् । २०६२/६३ सालको आन्दोलनबाट जनताले अभूतपूर्व सहभागिता देखाएर निरङ्कुश राजतन्त्रलाई फालेर गणतन्त्र ल्याएका थिए । संविधान जनताको प्रतिनिधिबाट बनेको छ । कतिपय नेपाली जनताको हक–अधिकारको ग्यारेन्टी गर्ने भनेर उल्लेख गरिएको पनि छ ।

२०६२–६३ सालको आन्दोलनमा महिलाहरुको सहभागिता उल्लेखनीय थियो । जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आज पनि सबै निकाय (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) मा ३३ प्रतिशत सहभागिता गराउने भन्ने उल्लेख छ तर ५० प्रतिशतको ठाउँमा ३३ प्रतिशत गराउँदा पनि व्यवहारमा अथवा कार्यान्वयन गर्ने बेलामा उदासिनता देखिन्छ, जबकि गणतन्त्र ल्याउने सन्दर्भमा, विशेष गरेर प्रगतिशील वामपन्थी धारणा राख्ने महिलाहरुले ठूलो योगदान दिएका थिए । आफ्नो हक–अधिकार समान रुपले उपभोग गर्न पाउनुपर्छ भनेर सदियौँदेखि लडाइँ लड्दै आएका थिए ।

महिलाहरुलाई धार्मिक, सामाजिक, आर्थिक, राजनैतिक रुपमा सधैँभरि दोस्रो दर्जाको नागरिक समान हेरिएको थियो । उनीहरुले पाउनुपर्ने हक–अधिकारका लागि संविधानमा सुनिश्चित हुनुपर्दछ भनेर आवाज उठाइरहेका थिए । त्यसबाट जे जति सीमित अधिकार प्राप्त गर्ने काम भएको थियो, त्यसको कार्यान्वयन गराउन पनि बारम्बार आन्दोलन गरिराख्नुपरेको परिस्थिति हो । जस्तो कि पैत्रृक सम्पतिमा समान अधिकार हुनुपर्दछ भनेर लामो समयदेखि आवाज उठाउँदै आएकोमा संविधानमा त उल्लेख गराउन सफल भइयो तर व्यवहारमा लैजान कठिन अवस्था भएको महशुस गरिएको छ ।

यसले यो बुझ्न सकिन्छ कि राजनैतिक पार्टीका नेताहरुमा पितृसत्तात्मक चिन्तनको प्रभाव बलियोसँगै जरा गाडिएर बसेको अनुभूति हुन्छ एकातिर भने अर्कातिर, अहिले वामपन्थी सरकारले देशमा आर्थिक समृद्धि ल्याउनुपर्ने आवश्यकता छ, त्यतातिर हाम्रो ध्यान जानु जरुरी छ भनेर प्रतिबद्धता जाहेर गरेको अवस्था हो । तर जनताले कुनै पनि क्षेत्रमा त्यो आर्थिक समृद्धितिर लम्केको अनुभूति गर्न पाएका छैनन् । बरु बदलामा देशमा भ्रष्टाचार मौलाएर गएको छ, सामाजिक अपराध अरु बढेर गएको छ । हत्या, हिंसा बलात्कार, बलात्कारपछि हत्याको शृङ्खलाबद्ध तरिकाले बढेर गएको छ । त्यस्तै, बेरोजगार युवायुवतीहरु विदेश पलायन हुने क्रम पनि चलिराखेको छ । त्यसमा पनि विशेष गरेर महिलाहरु रोजगारीको नाममा अनेक किसिमका प्रलोभनमा फसेर विदेश जाने तर त्यहाँ गइसकेपछि यौन शोषणमा आफूलाई बाध्य भएर देहव्यापारमा नारकीय जीवन व्यतित गर्न बाध्य छन् ।

त्यस्तै, महङ्गीले आकाश छोएको छ । त्यति मात्र होइन, यो वामपन्थी भन्ने सरकारले हालै नयाँ मुलुकी ऐन ल्याएको छ । कतिपय पक्ष सकारात्मक हुँदाहुँदै पीडित महिलाहरुको अवस्थामा उही परम्परागत चिन्तनले काम गरेको छ । जस्तो कि हामीले परम्परादेखि पुरुष सरह समान हक–अधिकार उपभोग गर्न पाएका छैनौँ । २०६२/६३ सालको आन्दोलनपछि जनताको प्रतिनिधिले बनाएको संविधानमा महिलालाई केही सीमित अधिकार प्राप्त भएको छ, यद्यपि त्यसलाई व्यवहारमा लागु गराउन सकिरहेको अवस्था छैन ।

अहिलेको ऐनमा महिलामाथि फेरि पनि भेदभावमूलक कानुन ल्याइएको छ । त्यो नीतिमा परिवर्तन ल्याउनु जरुरी छ । किनभने महिलाले दोस्रो विवाह गरिन् भने अघिल्लो पतिले उसको जीवनयापन गर्न कुनै खर्च ब्यहोर्नु नपर्ने व्यवस्था छ, जबकि पतिको हकमा त्यो व्यवस्था गरिएको छैन । दोस्रो, महिलामाथि हुने गरेका हिंसामा क्षतिपूर्ति दिलाउने व्यवस्थाले पीडकबाट त्यो काम नहुने वा कम हुने र समयमा नहुन सक्ने अवस्था प्रबल रहन्छ । तसर्थ, त्यो क्षतिपूर्तिको ग्यारेन्टीका लागि सरकारले एउटा एकाइ गठन गरी उपलब्ध गराउने व्यवस्था हुनुपर्ने हो र अपराधी नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बनाउनुपर्ने हो ।

यस्ता अनगिन्ती सवालहरु छन्, जसले गर्दा महिलाहरुको स्थितिमा खासै परिवर्तन आउन सकेको छैन । केही सीमित अधिकारको व्यवस्था अवश्य गरिएको छ । त्यसमा पनि नातापाता, आफ्ना नजिकका शुभचिन्तकहरुले मात्रै उपभोग गर्न पाएका छन् । आम नेपाली महिलाहरुको अवस्थामा सुधार आउन सकेको छैन । त्यसकारण उपर्युक्त सबै पक्षबाट उन्मुक्ति पाउन, आफ्नो हक–अधिकार सुनिश्चित गराउन, साथै सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूर्ति गर्न नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सच्चा क्रान्तिकारी पार्टी, मजदुर, किसान वर्ग र सचेत नागरिकले ठोस कदम अगाडि बढाउनुपर्ने यो राष्ट्रिय आवश्यकता बनेर गएको छ ।

विगतमा झैँ यस साल पनि तीज पर्व मनाउने परम्परा छ नै । फेरि पनि तीज मनाउने सवालमा विभिन्न खालको महिलाहरुको खेमामा बाँडिएको हामी पाउँछौँ । एकथरि महिलाहरु सामन्ती विषाक्त संस्कृतिमाथि पूर्ण विश्वास गरेर पति परमेश्वरको दीर्घायुको कामना राख्दै, खाली पेटमा पूजाआजा गर्दै मन्दिरमा नाचगान गर्ने र प्रसाद श्रीमानलाई खुवाएर मात्रै आफूले ग्रहण गर्ने परिपाटी छ । यो समाजमा विषाक्त संस्कृतिको प्रभावमा परेर धार्मिक संस्कार, अन्धविश्वास कुरीतिमा आधारित चिन्तनमा हुर्केको महिलाहरु पूर्ण रुपले नयाँ प्रगतिशील चेतनाको विकास गर्न सकिरहेको छैन । त्यसैले आफूले भोगेका पीडा, दुःख–कष्ट पोख्ने माध्यमको रुपमा तीजलाई मान्ने गरेको पाइन्छ । कतिपय महिलाहरु वर्षको एक पटक भए पनि माइत जान पाउने र आफ्ना पीडा पोख्ने थलोको रुपमा प्रयोग गर्ने गर्छन् । साथै निस्वार्थ भावनाले प्रेरित भएका गीतहरु प्रस्तुत गर्ने विषयलाई, भड्किला गीतहरु सञ्चार माध्यमद्वारा सम्प्रेषण गर्ने, नाचगान गर्ने, महिनौँ पहिलेदेखि दर खाने परम्परालाई भन्दा केही हदसम्म स्वीकार्न सकिन्छ ।

अर्काथरि परम्पराअनुसार तीजमा रमाइलो गर्ने, साथीसँगी जमघट भई नाचगान गर्ने दर खाने आदि गर्छन् । तर केही वामपन्थी धारणा राख्ने महिलाहरुले यो दिनलाई सन्देश दिने खालका कार्यक्रम गर्ने, जनतालाई सामन्ती विषाक्त संस्कृतिविरुद्ध चेतना अभिवृद्धि गराउने र समाजलाई परिवर्तन गर्ने खालका सन्देशमूलक गीत र मन्तव्य प्रस्तुत गर्ने अवसरको रुपमा मनाउने गर्दछन् । त्यसैले यस्ता विषाक्त संस्कृतिलाई बढावा दिने खालका कार्यक्रमलाई निरुत्साहित गर्नु चेतनशील र प्रगतिशील वामपन्थी शक्तिहरुको दायित्व पनि हो, जसले गर्दा यो दिनलाई बढीभन्दा बढी उपयोग गरी जनताको गलत सोचाइ, चिन्तनको पर्दाफास गर्दै सभ्य र सचेत समाजको निर्माण गर्नुपर्ने र उक्त दिनलाई आन्दोलनको रुपमा मनाउनु आजको आवश्यकता हो ।

अन्तमा, यसपालीको तीज पर्वले पनि ठोस सार्थकता पाओस् र सम्पूर्ण महिलाहरुको आगामी दिनहरु सुखमय होउन् र पीडाबाट मुक्त हुन पाउन् भन्ने हार्दिक कामना गर्दछु ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति ...