स्व. प्रतामराम लोहार : त्यो ऐतिहासिक क्षणका एक साक्षी

Hira bk - हिरा विश्वकर्मा

प्रसंग २०४६/०४७ को जनआन्दोलनको हो । ३० वर्षे पञ्चायती शासनको विरोध मुुलतः नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुका विभिन्न घटकहरुले गरिरहेका थिए । त्यसमा विपी कोईरालाको राजासँगको मेलमिलाप नीतिले खासै फाईदा गरेको थिएन भने तत्कालिन मालेले जनपक्षीय रापस उम्मेदवारमार्फत पञ्चायतको उपयोगको नीतिले पनि कहिँ पुर्याएको थिएन ।

जब प्रजातान्त्रिक र वामशक्ति एक भएर पञ्चायती व्यवस्थाविरुद्धमा सडकमा उत्रियो, पञ्चायत ढल्ने स्थितिमा पुग्यो । मरिचमान सिंह प्रधानमन्त्रीलाई हटाएर मध्यमार्गी बाटो अपनाउन सक्ने स्वच्छ र नरम छवी भएका लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री बनाइए । पञ्चायतविरुद्धको सडक संघर्ष उत्कर्षमा थियो । गणेशमान सिंहको नेतृत्वमा सो आन्दोलन भए पनि वामघटक विभिन्न टुक्रामा विभक्त थिए । अतः प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दलाई पनि वार्ताको लागि शुत्रधारको आवश्यक्ता परेको थियो । तत्कालिन समयमा आन्दोलनरत नेताहरुसँग सोझै कुरा गर्ने अनुकुलता मिलिरहेको थिएन । त्यतिवेला अकस्मात प्रकट भए प्रतापराम लोहार ।

सुदुरपश्चिमको अति दूर्गम दार्चुला जिल्लाको एउटा दलित परिवारमा जन्मिएर पनि प्रतापराम लोहारको शिक्षा प्रेमको भावनाले गर्दा भारतको पिथौरागढमा स्नातकतह (त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर) सम्मको अध्ययन गर्ने मौका पाएको बेलामा भारतमा लागु भएको प्रजातान्त्रिक व्यवस्था तथा त्यसको मुल्य मान्यताले गहिरो प्रभाव पारेको थियो र नेपालमा चलिरहेको सामन्ती पञ्चायती व्यवस्था ठीक थिएन भन्ने लाग्थ्यो ।

तर भारतमा पढेर नेपाल फर्किदा पञ्चायती व्यवस्थाको विरोधमा लागेका प्रतिबन्धित पार्टीहरुसँग सिधा सम्पर्क हुन सकेन । आफ्नो विकट गाउँ दुहु गाउँपालिका वडा नं. ३, (साविक ब्रह्मदेव गाविस) बारबाँजमा शिक्षाको असाध्यै दुरावस्था भएको हुँदा आफैँले स्कूल स्थापना गरी आफैँ त्यसको प्रधानाध्यापक भएर गरेको समाज सेवाको चर्चा सुदूरपश्चिम भरी भएको हुँदा तत्कालीन पञ्चायतकालका नेताहरुसँग उनको सम्पर्क उठबस भयो ।

अन्य गैरदलित समुदायमा समेत पढेलेखेका मान्छे भेटाउन गाह्रो पर्ने समयमा सुदूरपश्चिमको स्नातक गरेका युवालाई पञ्चायतले उपयोग गर्ने नीति लियो र उनी गाउँ फर्क राष्ट्रिय अभियानको महाकाली अञ्चल खर्क सदस्य सचिव बनाइए । त्यसको काम थियो राजनीतिक पृष्ठभूमी वा राजामुखी भएका व्यक्तिहरुलाई टिके पद्धतिबाट गाउँ वा नगर पञ्चायतको पदाधिकारी बनाउनु, जुन आफैँमा अत्यन्त अप्रजातान्त्रिक विधि थियो ।

जब २०३६ सालमा विद्यार्थी आन्दोलन भयो र जनमत संग्रहको घोषणा भयो, पहिलेदेखि नै प्रजातान्त्रिक विचारधारा बोक्ने व्यक्ति भएको हुँदा उनले आफुले पाएको उच्च पदसमेत त्याग गरी पञ्चायतको विरोधमा बक्तव्य जारी गरी त्यसबाट अलग भएको घोषणा गरे र राजतन्त्रलाई अघोषित चुनौति दिए । काठमाडौं बसाईको क्रममा उनको डेरा र कृष्णप्रसाद भट्टराईको डेरा नजिक थियो । अर्धभूमिगत रहेका प्रजातान्त्रिक नेतासँग हिमचिम बढाउनु त्यो पनि गाउँ फर्क राष्ट्रिय अभियानको टिकामार्फत पञ्चे भएका प्रतापरामलाई त्यति सजिलो थिएन । तर पनि कृष्णप्रसाद भट्टराईसँग हप्ताको दुईतिन पटकसम्म उनको डेरामा गफ गर्नु सामान्य जस्तो थियो ।

अर्को अर्थमा उनी एक पारिवारिक सदस्य जस्तो थिए, दुवै राजनीतिक रुपमा एक अर्काका विराधी जस्ता भए पनि । यहि सम्बन्ध काम आयो त्यो ऐतिहासिक पहिलो जनआन्दोलनको राजा र आन्दोलनकारी शक्ति बीचमा वार्ता गराउने कडीको रुपमा ।

प्रतापराम लोहारको लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा बालुवाटारमै रहेर यहाँसम्म की राजदरवारसम्म समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताका कारण चन्दको प्रिय पात्र हुनु अनौठो भएन । यहि प्रिय पात्रताको विश्वास जनआन्दोलनका आन्दोलकारीसँग सहजकर्ताको भूमिकामा पनि काम लाग्यो । वाम र प्रजातान्त्रिक नेताहरुसँग चन्दले सिधा कुराकानी गर्न सक्ने माहोल बनिरहेको थिएन ।

त्यतिमा प्रतापरामलाई कृष्णप्रसाद भट्टराईकहाँ सम्पर्क शूत्रको रुपमा पठाईयो । उनले जनआन्दोलनमा धेरैका ज्यान गइसकेको छ, दरवारले अरु जनताको ज्यान पनि नजाओस् र एउटा उचित निकास निकाल्ने उद्देश्य सहित चन्दज्यूलाई प्रधानमन्त्री तोकेको छ । अतः उहाँसँग वार्ताको लागि जानु पर्यो भनेर अनुरोध गरेपछि भट्टराई तयार हुनुभयो र नेपाली कांग्रेसको तर्फवाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद काईरालासहित वाम मोर्चाको तर्फवाट सहाना प्रधानलाई लिएर बालुवाटारमा साँझको समयमा निकै लामो वार्ता भयो ।

वार्तावाट तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकै नेतृत्वमा १३ सदस्यीय मन्त्री मण्डल रहने गरी अन्तरिम सरकार बनाउने, मन्त्री मण्डलमा पञ्चायतको तर्फबाट ५ जना, कांग्रेसको तर्फबाट ५ जना र वाममोर्चाको तर्फबाट ३ जनाको मन्त्री मण्डल रहने । उक्त अन्तरिम सरकारले ६ महिनाभित्र संबिधान बनाउने र १ बर्षभित्र निर्वाचन गर्ने गरी सहमति गरिएको थियो । सो सहमति गरिसकेपछि तुरुन्तै राजदरवारमा राजासँग समय लिएर जाने काम भयो । राजासँग वार्ता गर्न गणेशमानको नेतृत्वमा सो टोली राजदरवार गयो र राजासँग प्रत्यक्ष वार्ता भयो ।

सो वार्ताको आमनेसामने राजा र आन्दोलनकारी शक्ति रहे । लोकेन्द्रबहादुर चन्द, प्रतापराम लोहार, पशुपति शम्शेर राणा, अच्युुतराज रेग्मी र राजदरवारका अन्य ब्यक्तिहरु पनि रहे । तर यहाँ विडम्वना के भयो भने तत्कालिन समयमा रहेको नेपालको एकमात्र नेपाल टेलिभिजनले दृश्य खिच्दा लोकेन्द्रबहादुर चन्द र प्रतापराम लोहारलाई देखाईएन । अन्य व्यक्तिहरुको मात्र खिच्यो । पहिलो दिनको प्रसारणमा झलाकझुलुक अन्य व्यक्तिहरुलाई पनि देखाइए पनि पछि प्रसारण हुँदा त्यसलाई हटाईयो । यसले गर्दा त्यो ऐतिहासिक क्षणका साक्षी तथा सहजकर्ता तथा अन्य व्यक्तिहरु ओझेलमा पारिए र सम्भवतः आजपर्यन्त त्यस घटनाको चर्चा केवल गणेशमानको नेतृत्वमा आन्दोलनकारी नेता तथा राजाबीच मात्रै भएको भान पारिएको छ ।

प्रतापाराम लोहार बाचुन्जेल सो घटनाको चर्चा उनले आफ्ना पारिवारिक सदस्यहरुसँग पनि कहिल्यै गरेनन् । किनभने उनी आत्म प्रचार गर्ने काममा कहिल्यै लागेनन् । यो घटनाको रहस्योद्घाटन चन्द पुत्र तथा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री जयन्त चन्दसँगको अन्तरवार्तामार्फत जानकारी भएको थियो ।

बालुवाटारमा भएको वार्तामा चन्दलाई प्रधानमन्त्री बनाउने लिखित सहमति भए पनि राजदरवारको वार्ता लगत्तै प्रज्ञाप्रतिष्ठानको हलमा आन्दोलनकारी शक्ति र प्रधानमन्त्री चन्दबीच अन्य सहमति गर्न बोलावट भयो । सो हलमा निकै ठूलो भीड जम्मा भइसकेको छ भन्ने जानकारी हुँदाहुँदै सुरक्षालाई समेत त्यति ध्यान नदिएर चन्द र लोहारसहित अन्य व्यक्तिहरु त्यहाँ पुगे । रातभरी जस्तो वार्ता भयो । तर सहमति कार्यान्वन गर्नेभन्दा पनि आन्दोलनकारीले पेलेर जाने नीति अख्तियार गरे र प्रधानमन्त्रीले त्यससँग प्रतिकार गर्ने भन्दा पनि आफु पछि हटेर आन्दोलनकारीकै नेतृत्वमा सरकार गठन गर्ने कुराको मार्गप्रशस्त गरे । ती सबै कार्यमा प्रतापराम लोहारको सहयोग र साथ रह्यो ।

लोकतन्त्रको पुनर्बहालीसँगै प्रतापराम लोहार आफुले नेतृत्व गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पदाधिकारीसहित कांग्रेसमा प्रवेश गरे । भट्टराईसँग त्यति नजिक रहेका व्यक्ति भएको हुँदा उनले पार्टीमा राम्रो भूमिका पाउने छन् भन्ने अपेक्षा थियो । तर भट्टराई र कोइराला बीचको आन्तरिक खिचातानीमा उनले त्यो अवसर पाएनन् । तर जीवनको अन्तिम वर्षतिर सुशील कोइरालाको पालामा सिधैँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भए । सम्भवतः कांग्रेसले पनि त्यहिँ क्षणहरुको थोरै भए पनि गुन तिर्यो ।

स्व. प्रतामराम लोहार दलित आन्दोलनका एक ऐतिहासिक व्यक्तित्व त हुन नै, उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि प्रसस्तै योगदान पुर्याएका छन् । यस्ता व्यक्तित्वलाई दलित आन्दोलनले स्मरण त गर्नै पर्छ, राज्यले पनि उचित सम्मान दिन हिच्किचाउनु हुँदैन ।

लेखक : सामाजिक अभियान्ता र अनुसन्धानकर्ता हुन् ।

 

प्रतिकृया दिनुहोस