राप्रपाका नेता पाठक भन्छन्, अहिले हामी कमजोर छौं, भोली बलियो बन्छौँ

Bhuwan pathak

प्रतिनिधिसभामा एक सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले पार्टी शुद्धिकरणमा अभियानमा जुटेको छ । त्यही पार्टीका पूर्व प्रवक्ता हुन् भुवन पाठक । उनी अहिले पार्टीको प्रशिक्षण विभाग प्रमुख हुन् । पूर्व मन्त्रीसमेत रहेका पाठक राप्रपाका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । प्रस्तुत छ, पार्टी एकता, हिन्दु जागरण अभियान र पछिल्लो राजनीतिक अवस्थाबारे पाठकसँग निशान न्युजका लागि गोपाल बराइलीले गरेको कुराकानी ।

तपाईहरु अहिले पार्टी शुद्धिकरणको अभियानमा हुनुहुन्छ । कस्तो छ प्रगति ?
हामी पार्टी शुद्धिकरणभन्दा पुनर्गठनतिर लागेका छौं । गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम हाम्रा लागि सुखद रहेन । त्यसका विभिन्न कारणहरु छन् । पहिलो त निर्वाचनकै मुखमा पार्टी विभाजन भयो । अर्काे, नेपाली कांग्रेससँग चुनावी तालमेल गर्दा पनि इमान्दारितापूर्वक कार्यान्वयन हुन सकेन । त्यसैगरी हाम्रो संगठनात्मक स्वरुप एकदम कमजोर बन्यो । यी तिनवटा कारणले हामीले निर्वाचनमा अत्यन्तै नराम्रो परिणाममै चित्त बुझाउनुपरेको छ । त्यसैले निर्वाचनको परिणामलाई अत्यन्तै सुक्ष्म ढंगले विष्लेषण गर्दा अब नयाँ ढंगबाट अघि बढ्नुपर्छ भनेर नयाँ अभियान चाल्न थालेका हौं । वीरगञ्जमा बसेको केन्द्रिय परिषदको बैठकले सबै तहमा पुनःसंरचना गर्ने, सातै प्रदेशमा हिन्दु जागरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको थियो । त्यसैअनुरुप हामी अघि बढिरहेका छौं ।

हिन्दु जागरण अभियान सञ्चालन गर्नुपर्ने कारण चाँही के हो नि ?
हाम्रो पार्टीको मूल एजेण्डा भनेकै हिन्दु राष्ट्रको पुनःस्थापना हो । त्यसका लागि सातै प्रदेशमा यो अभियान भइरहेको छ । हामीले सबै स्थानीय तह, जिल्ला र प्रदेशमै हिन्दु जागरण सञ्चालन गर्ने छौं । यसको मुल कारण भनेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउने हो ।

हिन्दु जागरण अभियान सञ्चालन गर्दै गर्दा राजतन्त्र पुनःस्थापनाको मुद्दा चाँही कहाँ छाड्नु भयो नि ?
हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मुद्दा सँगसँगै लगेका छौं । तर, अहिलेको मुख्य फोकस चाँही हिन्दु राष्ट्रलाई नै गरेका छौं । सबै तहमा संगठनलाई चुस्त र दुरुस्त बनाउँदै हिन्दु जागरण अभियानलाई सफल बनाइसकेपछि आमागी कार्यक्रम भनेको हिन्दु राष्ट्र पुनःस्थापनामा केन्द्रित हुनेछ । त्यतिबेला काठमाडौंमा बृहत कार्यक्रम गर्ने छौं ।

तपाईहरुले त सडक आन्दोलन गरेरै भए पनि हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना गरेरै छाड्ने भन्नुभएको छ होइन र ?
पहिले हामी संगठनात्मक रुपमा विकास गर्दैर्छौ । स्थानीय तहदेखि जिल्लामा संगठन बलियो बनाउँछौं । सात वटै प्रदेशमा संगठनको संरचना खडा गर्छौ । र, सबै तहमा हिन्दु जागरण अभियान सकेपछि निर्णायक आन्दोलन गर्छौ । जुन आन्दोलनले हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना गरेरै छाड्ने छ ।

गणतन्त्र, धर्म निरपेक्ष र संघीयता कायम भएको नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना हुने कतिको सम्भावना छ त ?
नेपालमा असम्भव भन्ने के छ र ? हामीसँग हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने दुईवटा मात्रै बाटो छ । पहिलो सडक आन्दोलन र दोस्रो संविधान संशोधन । हामी हिन्दु जागरण अभियान सकिएपछि सडक आन्दोलनमा होमिने छौं । जुन आन्दोलनले हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना गर्ने नै छ । अर्काे भनेको राष्ट्रिय एकता, सार्वभौम सत्ता र अखण्डता बाहेकका संविधानका सबै धारा उपधारालाई दुई तिहाई बहुमतले पारित गराएर राजतन्त्र र हिन्दु राष्ट्र कायम गराउन सकिन्छ ।

तर, तपाईहरु त सडक र सदनमै कमजोर हुनुहुन्छ भने यो कसरी सम्भव होला र ?
हो, अहिले हामी कमजोर छौं । तर, राजनीतिमा सधैं कमजोर नै भइन्छ भन्ने छैन । कुनै बेला हामी निर्णयक ठाउँमा थियौं । समयक्रमले अहिले हामी कमजोर बनेका छौं । अहिलेको अवस्थामा कमजोर बने पनि हामी निरन्तर जनताको घरदैलोमा पुगेका छौं । र, जनताले हाम्रो आवश्यकता रहेको ठहर गरिसकेको अवस्था छ ।

तर, विगतको निर्वाचनको परिणामलाई हेर्दा त जनताले तपाईहरुलाई नपत्याएको जस्तो देखिन्छ । अनि अहिले एकाएक कसरी जनताले पत्याउलान् र नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना होला त ?
समय एउटै रहँदैन । हिजो एउटा यस्तो कालखण्ड पनि थियो, जुनबेला हाम्रो अनुपस्थितीले सरकार बन्न सक्दैन थियो । हामी बलियो शक्ति थियौं । अहिले हामी कमजोर बन्यौं । तर, हाम्रा मुद्दा कमजोर बनेको छैन । हाम्रो मुद्दासँग जनता परिचित छन् । मात्रै हामीभित्रका केही कमीकमजोरीले गर्दा जनतालाई राम्ररी बुझाउन सकेनौं । त्यो हाम्रो कमजोरी हो । जनता अझैं हिन्दु राष्ट्रको पक्षमा छन् । जुन मुद्दा हामीले बोकेका छौं । यसर्थ पनि हामीलाई फेरि जनताले साथ दिनेछन् ।

पार्टी एकताको प्रक्रिया चाँही कहाँ पुगेर अड्कियो नि ?
अहिले स्थगित छ । खासगरी राप्रपा (प्रजातान्त्रिक) भित्र सैद्धान्तिक मतभिन्नता र केही व्यक्तिगत सोचका कारण समस्या आएको छ । जबसम्म उहाँहरुले हिन्दु राष्ट्र र राजतन्त्रको विषयमा स्पष्ट धारणा ल्याउनु हुन्न, तबसम्मका लागि वार्ताका कुनै पनि प्रक्रिया अघि नबढाउने पार्टी अध्यक्ष कमल थापा ज्युले उद्घोष गर्नुभएको छ । तर, पनि उहाँसँग अनौपचारिक रुपमा कुराकानी चाँही भइरहेको छ । सैद्धान्तिक हिसावमा तीन वटै राप्रपाबीच त्यति मतभिन्नता छैनन् । त्यसलाई मिलाएर जानुपर्छ भन्ने जनता र पार्टीका कार्यकर्ताहरुको दवाव छ ।

कार्यकर्ताको दवाव भइरहँदा पनि किन पार्टी एकतामा बिलम्भ भइरहेको छ त ?
अब धेरै समयसम्म यो अवस्था रहँदैन । अब पार्टी एकता नगरी सम्भव पनि छैन । त्यसका लागि तल्लो तहदेखि नै आएका दवावलाई नेतृत्वले बुझेको पनि छ ।

केही समयअघि पूर्व युवराज पारसले तीनवटै राप्रपाका नेतालाई भेटेर पार्टी एकताका लागि दवाव दिएको भन्ने कुरा आयो । वास्तविकता के हो ?
पार्टी एकता भन्ने कुरा हाम्रो आन्तरिक कुरा हो र आवश्यकता पनि । तर, एउटै सिद्धान्त भएका पार्टीहरु एक हुन् भनेर इच्छा राख्नु स्वभाविक पनि हो । तर, पूर्वयुवराज पारससँगको भेटमा राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका नेताहरु हुनुहुन्थ्यो । हाम्रो पार्टीका कुनै पनि नेता त्यो भेटमा उपस्थित हुनुहुन्नथ्यो ।

प्रशंग बदलौं, अहिले अवस्थालाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । हत्या हिंसा बढिरहेको छ । बलात्कारका घटना भइरहेका छन् । बलात्कारपछि बालिकाको हत्या भएपछि कञ्चनपुरमा त्यति ठूलो आन्दोलन भयो । बालिका बलात्कारपछि भएको हत्या र हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्नु सरकारको कमजोरी हो । अर्कातिर भदौं १ देखि आएको संहिताका विरुद्ध जनता लागेका छन् । यो पनि सरकारका लागि राम्रो होइन । एक प्रकारले सरकार अधिनायकबादतिर नै धकेलिएको हो कि भन्ने पनि देखिएको छ । यो पक्कै पनि राम्रो होइन ।

तपाईहरुले त सरकारलाई हरेक कुरामा समर्थन जनाइरहनुभएको छ नि, होइन र ?
हामी सरकारलाई गुणा र दोशको आधारमा समर्थन गर्छौ । नराम्रो काम गरे समर्थन गर्नुपर्छ भन्ने छैन । नराम्रो कामको विरोध र राम्रो कामको समर्थन रहनेछ । तर, पछिल्लो चरणमा सरकार जसरी अधिनायकबादको बाटोमा हिड्न खोजेको छ, हामीले त्यसको विरोध गरेका छौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...