रामबहादुर चौहानको प्रश्न, बरियतामा कयौं गुणा तल भएकालाई हुक लगाएर तान्नुपर्ने कसरी आयो ?

Chauhan 1

दुई बाम पार्टी एकता भएपछि सबै जिल्लामा पदीय बाडफाँड भइरहेको छ । अधिकांस जिल्लामा एकले अध्यक्ष पाए अर्काेले सचिव पाउने सहमति बनेको छ । अर्घाखाँचीमा पूर्वएमालेलाई अध्यक्ष र पूर्वमाओवादी केन्द्रको भागमा सचिव परेको छ । अर्घाखाँची जिल्ला अध्यक्षका लागि पीताम्बर भुसाल सिफारीस भएका छन् । तर, जिल्ला तहबाट अध्यक्ष सिफारीसमा अन्याय भएको भन्दै तत्कालीन एमालेका जिल्ला सचिव रामबहादुर चौहान न्याय खोजिरहेका छन् । २०३८ सालदेखि नै राजनीतिमा सक्रिय रहेका चौहान संघ र प्रदेशको निर्वाचनमा निर्वाचन परिचालन कमिटिको सचिव भएका थिए । प्रस्तुत छ, अध्यक्ष सिफारीसका विषयमा निशान न्युजका लागि गोपाल बराइलीले चौहानसँग गरेको कुराकानी ।

नेकपाको जिल्ला अध्यक्ष सिफारीस गर्दा विवाद भयो । र, तपाई आफु अन्यायमा परेँ भनिरहनु भएको छ । सत्यता के हो ?
जब पार्टी एकता भयो, स्वभाविकै रुपमा दुई पार्टीका नेताहरुले मिलेर जिल्ला हाँक्ने हो । अर्घाखाँची पूर्व एमालेको भागमा परेको छ । तर, जिल्लाबाट अध्यक्षका लागि व्यक्ति सिफारीस गर्दा सकिन्छ जिल्ला कमिटिको बैठकबाट, नसके सचिवालयको बैठक राखेर नाम सिफारीस गर्नुपर्ने हो । तर, हामीसँग कुनै परामर्श नगरी एकाएक सामाजिक सञ्जालहरुमा फलानोलाई कार्यदलले एक मात्रै नाम सिफारीस गरेको छ भनेर आयो । त्यसपछि मैले जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, प्रदेश संयोजक लगायतसँग मैले कुरा राखेको हुँ । मैले किन हामीसँग परामर्श गरिएन ? भनेर प्रश्न गरे । मैले केन्द्रिय अध्यक्षद्धय, महासचिव, बरिष्ठ नेता लगायतलाई भनिसकेको छु । नेकपा अत्यन्तै विवेकशील पार्टी हो । यसले कसैलाई अन्याय गर्दैन, सर्वसाधारण जनतामाथि अन्याय गर्दैन भन्ने छ । त्यसैले केन्द्रिय नेतृत्वले सच्याउने छ भन्नेमा म विश्वास्त छु ।

तपाईले नै जिल्ला अध्यक्ष पाउनुपर्ने कारण के छ त ?
म पूर्व एमालेको अर्घाखाँची जिल्ला कमिटी सचिव हुँ । जब कि०६९ फागुन ४ र ५ गते भएको ७ औं जिल्ला अधिवेशनमा उहाँ (पीताम्बर भुसाल) मसँगै पराजित हुनुभएको थियो । अहिले उहाँको नाम अगाडि सारिएको छ । म २०३८ सालदेखि नै राजनीतिमा सक्रिय छु । २०४२ सालमा जन पक्षीय मञ्च गठन गरेवापत मैले यतिसम्म यातना पाएको छु, त्यो भनि साध्य छैन । त्यतिबेला रामबहादुर चौहान मर्यो भन्ने कुरासम्म आयो । २०४६ सालमा पनि मैले पञ्चायतविरुद्ध लड्दा धेरै दुःख भोग्नुपरेको छ । म अनेरास्ववियुको जिल्ला अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रिय प्रचार विभागको सदस्य हुँदै २०६६ मा आएर म अर्घाखाँची जिल्लाको पार्टीको जिल्ला पार्टीको जिल्ला सचिवालयमा काम गरे । त्यही बेला युवा इन्चार्ज पनि थिए । २०६९ मा जिल्ला सचिव भएँ । त्यति मात्रै होइन, संघ र प्रदेशको निर्वाचनमा निर्वाचन परिचालन कमिटिको सचिव भएर काम गरे । म आत्म प्रशंसक बन्न चाहेको होइन । तर, मैले लामो समयसम्म अध्यापन पनि गरेको, पत्रकारिता पनि गरेको र पार्टीमा जुन भुमिका निर्वाह गरेको छु, त्यो नै मैले अध्यक्ष पाउनुपर्छ भन्ने मुख्य आधार हो ।

जिल्ला पार्टीले आवश्यक ठानेको व्यक्तिलाई अध्यक्षको रुपमा सिफारीस गर्दा तपाईले विरोध गरिरहनुपर्ने कारण के छ ?
त्यसरी कम्तीमा पनि पदाधिकारीसम्मलाई सल्लाह गरेको भए मात्रै पनि कुनै समस्या हुन्न थियो होला । हामीले सहर्ष स्वीकार गर्ने अवस्था आउथ्यो होला । तर पदाधिकारीहरुलाई वेवास्ता गरियो । हामीले एकाएक सामाजिक सञ्जालहरुमा देखेर अध्यक्षमा सिफारीस गरेको थाहा पायौं । यो भन्दा अपमान के हुन सक्छ ? यो जस्तो दुःखको कुरा के हुन सक्छ ? यो जस्तो अन्याय के हुन सक्छ ?

तपाईले अध्यक्ष सिफारीस गर्दा बरियताको ख्याल गरिएन भन्नुभएको छ । पार्टी चलाउन बरियता नै चाहिन्छ भन्ने के छ र ?
यदी पार्टीका रहेका बरिष्ठ व्यक्ति सक्रिय बनेका छैनन् भने कनिष्ठबाट पनि सिफारीस गर्न सकिन्छ । तर, हामी क्रियाशील हुँदा हुँदै पार्टीका निम्ति मर्न तयार भएर लागेका व्यक्ति हुँदा हुँदै कनिष्ठलाई सिफारीस गर्न सुहाउँदैन । जो मर्दा गाड्ने ठाउँसम्म छैन । अहिलेसम्म जसले पदको लाभ लिएको छैन । त्यस्तालाई वाइपास गरेर कनिष्ठ खोज्नुपर्ने, तलकालाई सिफारीस गर्नुपर्ने, बरियतामा कयौं गुणा तल भएकाले हुक लगाएर तान्नुपर्ने कसरी आयो ? हामी सबै अचम्ममा परेका छौं ।

के तपाईलाई आफु चाँही गुट उपगुटको कोपभाजनमा परे भन्ने लागेको हो ?
पार्टीभित्र विभिन्न गुट उपगुट छन् र हुन्छन् पनि । तर म अहिलेसम्म कुनै व्यक्तिको पुजारी हुन सकिनँ । म सिंगो नेपाल कम्युनिस्ट पार्टीमा लागे । म जनताको जनवाद र पार्टीको सिद्धान्तमा लागे । जुन कारणले पनि अहिले यो नियती भोगिरहेको छु ।

तपाईले आफु अन्यायमा परेको कुरा पार्टी नेतृत्वसम्म पनि पुर्याउनुभएको छ । कस्तो पाउनुभयो प्रतिक्रिया ?
मैले महासचिवलाई समेत जानकारी गराएको छु । उहाँहरुले समेत जिल्लामा अन्याय भएको महसुस गर्नुभएको छ । र, उहाँहरुले जिल्लाबाट आएको सिफारीसलाई सच्याउने प्रतिवद्धता जनाउनुभएको छ । मलाई लाग्छ अवस्य पनि सच्चिने नै छ ।

तपाई ढुक्क हुनुहुन्छ की नेतृत्वले जिल्लाको सिफारीसलाई सच्याउँछ भनेर । तर, जिल्लाको सिफारीसलाई प्रदेश र केन्द्रले सजिलै सच्याउन सक्ला र ?
नेपाल कम्युनिस्ट पार्टी भनेको मुलुककै सबैभन्दा न्याय दिने पार्टी हो । अनि यसका श्रदेय नेताहरु पार्टीको हाई कमाण्डमा हुनुहुन्छ । मेरो के मात्रै विश्वास हो भने उहाँहरुले अर्घाखाँची जिल्लाबाट भएका गल्तीलाई सच्याउनु हुन्छ र पार्टीलाई व्यवस्थित गरेर लैजानु हुन्छ । अहिले संक्रमणकालीन अवस्था छ । यो अवस्थामा सबैलाई समेटेर जानुहुन्छ । र, अन्यायमा परेकालाई न्याय दिनुहुन्छ भन्नेमा म ढुक्क छु ।

तपाईले बडो आदर्शको कुरा गर्नुभयो । न्याय दिने पार्टी पनि भन्नुभयो । खोइ त तपाईले आफ्नै पार्टीबाट न्याय पाएको ?
नेपालमा कम्युनिस्ट पार्टीबाटै मुलुकमा दिगो शान्ति स्थापना हुन्छ । कम्युनिस्ट पार्टीले मात्रै समृद्ध नेपाल बनाउन सक्छ । अर्काे विकल्प छैन । यो पार्टीले पनि देश बनाउन सकेन भने नेपालको अस्तित्व नै रहन्न । तर, यो एउटा अपवाद हो । ममाथि जुन अन्याय भएको छ, यो केन्द्रिय कमिटिलाई पनि जानकारी छैन । तलबाट जुन नियतका साथ कमजोरी गरिएको छ, यो माथिबाट सच्चिन्छ । अवस्य न्याय पाइन्छ ।

 

प्रतिकृया दिनुहोस