अब पार्टीले नयाँ गति लिन्छ : अध्यक्ष थापा

Rpp 10

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत निर्वाचनको परिणामले केही हतोत्साही बनाए पनि अब पार्टीले नयाँ गति लिने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संघले राजधानीमा आयोजना गरेको तिज विशेष कार्यक्रममा अध्यक्ष थापाले नबको दिनमा पार्टीले नयाँ गति लिने विश्वास व्यक्त गरे । नयाँ उत्साहका साथ सक्रिय हुँदै जनताको घरदैलोमा पुग्न महिलाहरुलाई उनले आग्रह गरे ।

अध्यक्ष थापाले मुलुकको सामाजिक, सांस्कृतिक, राजनीतिक सद्भाव र एकताको लागि नेपालका पर्वहरुको विशिष्ट स्थान र भूमिका रहेको उल्लेख गरे ।

‘मुलुकमा महिला हिंसा, बलात्कार जस्ता अप्रिय घटनाहरु मौलाउँदै गएको अवस्थामा आम नारीहरुको पीडा, व्यथा र मर्कालाई अभिव्यक्त गर्न महत्व राख्ने तीजको महत्व छ’ उनले भने, ‘यस्तो अवस्थामा महिला संगठनले महिलामाथि भइरहेका हिंसा, श्रृंखलाबद्ध रुपमा भएका बलात्कारको विरोधमा लाग्नुपर्छ ।’

अध्यक्ष थापाले सबै पीडा, दुःख, व्यथाहरुलाई एकछिन बिर्सेर शुभकामना आदानप्रदान एवं रमाइलो समेत गर्ने उदेश्यले तिजको कार्यक्रम आयोजना गरेकोले संगठनलाई धन्यवाद दिए । उनले आगामी वर्षदेखि यस्ता कार्यक्रमहरु केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहका वडासम्म आयोजना गरी अधिकांश महिलाहरुलाई समेट्न आग्रह गरे ।

सो कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक महिला संघकी अध्यक्ष कुन्तिकुमारी शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस