त्रिलोक चन्द्र विश्वास भन्छन्, पुरुष होस्टेलभित्र केटीहरु लगेर राखि दिने ?

Trilok chandra bk

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष हुन्, त्रिलोक चन्द्र विश्वास विक । दलित आन्दोलनले आफ्नो भनिरहेका बेला एउटा सामाजिक संस्थाले सरकारी पैसाबाट किनिएको जग्गा कब्वा गर्न पाईदैन भनेर आवाज उठिरहेको छ । यही विषयलाई लिएर कहिले संघको कार्यालयमा तालावन्दी हुने गरेको छ भने कहिले छात्राबासमा झडपसमेत हुने गरेको छ । अहिले संघले सञ्चालन गरेको भनिएको विजेश्वरी छात्राबास विवादमा तानिएको छ । प्रस्तुत छ, अध्यक्ष विकसँग यसै विषयमा केन्द्रित रहेर निशान न्युजले गरेको कुराकानीको अंश ।

विजेश्वरी छात्राबासको विवाद चर्किदै गएको छ । विजेश्वरी छात्राबास विवादमा आउनुको कारण के हो ?
के विवाद आएको छ र ? तपाईले के थाहा पाउनु भयो र ?

पछिल्लो चरणमा छात्राबास सञ्चालनमा विवाद आएका छन्, होइन र ?
विवाद गरिरहनुपर्ने खासै केही कारण त देखिँदैन । विवाद नै नहुने कुरालाई त्यतिकै अतिरञ्जित गरेर, बंग्याई तंग्याई गरेर विवादमा ल्याउन खोजियो । केही मिडियाले वास्तविकता नबुझी पूर्वाग्रहपूर्वक लेखेको पाइयो । हामीले पहिलेदेखि नै व्यक्तिगत वा घरको प्रयोजन गर्न लागेको भए, अन्य प्रयोजनमा ल्याउन खोजेको भए वा अनैतिक प्रयोजन गर्न खोजेको भए कारवाही हुन्छ नी । बरु अहिले सञ्चालनमा रहेको छात्राबासभित्रै विवाद छ ।

छात्राबासभित्रै विवाद ? कसरी ?
एउटा छात्रबास भनेको कस्तो व्यक्ति बस्न पाउने ? को विद्यार्थी बस्न पाउने हो ? अरु व्यवस्थापन कसरी हुनुपर्ने हो ? त्यसलाई कसरी व्यवस्थित गर्ने ? समस्या केके छन् ? बरु त्यो कुरामा ध्यान दिनुपर्ने हुुन्छ । अहिले जस्तो की ८/१० वर्षसम्म पढेर जागिरे भएर त्यो पनि भएन भनेर डेरै जमाएर बस्ने, आफ्नो व्यक्तिगत प्रयोजनका लागि भनेर कसैले बस्न त पाउँदैन नि ? कसैले जवरजस्ती गरेर अरु विद्यार्थीलाई बस्नै नदिने हो भने त होस्टेलको वातावरण नै खल्बिलिन्छ । हामीले संस्थाको तर्फबाट सबैसँग समन्वय गरेर कसरी राम्रो बनाउन सकिन्छ ? त्यसलाई अझ राम्रो बनाउन हाम्रो तर्फबाट हामी ओपन छौं । हामीले त्यसलाई व्यक्तिगत सम्पति बनाउन त्यसो गरेको होइन । जुन किसिमले अग्रजहरुले बचाउनुभयो, त्यसलाई सुरक्षित गरेर राखिदिनुभयो । पहिले ३ रोपनी सात आना जग्गामा जनकबहादुर खड्गीले व्यक्तिगत बनाएर बेचिदिएको भए हाम्रो रहन्थ्यो र ? सो जग्गालाई जनकबहादुर खड्गीसँग मुद्दा लडेर आफ्नो बनाउन हाम्रो संस्थाको यति खर्च भयो कि १० रोपनी जग्गा किन्न सक्ने पैसा खर्च भयो । त्यत्रो दुःख गरेर त्यसलाई बचाएर कमसेकम संस्थाको नाममा रहे पनि संस्थाले त अरु प्रयोजनमा त ल्याएको छैन नी । संस्थाले त छात्राबासको होस्टेल नै बनाएर सञ्चालन गर्दै आएको हो । शिक्षा मन्त्रालयले पनि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको मातहतमा छात्राबास रहने गरी यसलाई प्रत्येक वर्ष आर्थिक सहयोग पनि दिएकै हो । अन्य दात्रृ निकायबाट पनि सहयोग जुटाएर भवन बनाउने काम भयो । हिरालाल विश्वकर्मा शिक्षा मन्त्री भएको बेला पनि सहयोग लिएर भवन बनाउने काम भयो । यी कामहरु त संस्थाले व्यवस्थित रुपमा गर्दै आएका काम हुन् नि ।

तर, अहिले त वार्डेन नियुक्त गरेपछि विवाद आएको हो भनिन्छ, होइन र ?
हो । वार्डेन नियुक्तीको विवाद के हो भने शिक्षा मन्त्रालयको पत्रमा पनि हेर्न सकिन्छ । अब यो संस्थाकै महासचिव सदस्य सचिव रहेर वार्डेनसमेत रहेर त्यसलाई व्यवस्थित गराएको हो । पहिले संस्थाका अध्यक्ष र पदाधिकारीसहित अन्यलाई सल्लाहकारमा राखेर त्यो सञ्चालन हुँदै आएको हो । द्धन्द्धकालदेखि २० वर्षसम्म राज्यका सबै संयन्त्रहरुले काम गरेनन् । त्यो समस्या छात्राबासमा पनि आयो । त्यो बेला सही ढंगले काम हुन सकेन, गतिविधि अल्झियो । तैपनि हामीले दलित विद्यार्थी बसेका छन् भनेर काम गर्यौ । बसन्त विश्वकर्मा वार्डेन हुँदासम्म उहाँ नै बस्नुभयो । पछि चाँही राम नेपाली भाई विद्यार्थीको रुपमा पढ्न बस्नुभयो । पढ्न बसेपछि र पढाई सकेपछि पनि मलाई नै वार्डेन बनाइयो भनेर बस्नुभयो । कसले उहाँलाई वार्डेन बनायो भनेर आधिकारिक रुपमा उहाँसँग नियुक्ती पत्र वा अन्य प्रमाण पनि छैन । मुखको भरमा बनाएर त हुन्न नी । आफ्नो अधिकार नै नभएको ठाउँमा कसैले अधिकार पनि दिन सक्ने कुरा भएन । तयसैले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आधिकारिकता छ ।

मातपोत कार्यालयले पनि यसलाई दर्ता गरेर पुर्जा दिइसकेको छ । वसन्त सरले पनि छात्रबास छुट्टयाउनुपर्छ भनेर मुद्दा हाल्नुभयो । त्यो मुद्दामा पनि जिल्ला अदालतले संस्थाकै मातहतमा जोडिएर काम भइरहेको र संस्थामा जोडिएको हुँदा फेरि अर्काे नयाँले चाँही मेरो भन्न मिल्दैन भनेर हराइदियो । फेरि त्यो पुनरावेदन अदालतमा पुग्यो । जनकराज खड्गी र सहर्षनाथ कपालीका परिवारहरु पनि यो त हाम्रो हो भनेर अदालत जानुभयो । उहाँको कुरा पनि जायज थियो । किनभने यो पैसा राजा महेन्द्रले सहर्षनाथ कपालीलाई ‘ल तिमीले गर’ भनेर दिइएको थियो । यो संस्थाका संस्थापक अध्यक्ष प्रतापराम लोहार सबै मिलेर एउटा छात्राबास बनाऔं भनेर सल्लाह भएपछि उहाँले केही खर्च गर्नुभयो । बाँकी रहेको ४ हजारमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । पछि जनकबहादुर खड्गीलाई मोही राखिएको रहेछ । सहर्षनाथ कपालीका परिवारलाई लामो यो दलित समुदायकै नाममा हुने हो, यहाँ मरेर गए पनि दलित समुदायको नाममा भएको कुराको नाम रहन्छ भनेर लामो समयसम्म फकाएपछि मालपोत कार्यालयमा गएर यो जग्गामा हाम्रो कुनै हक रहने छैन भनी कागज गरिदिएपछि यो संस्थाको नाममा आएको हो । तपाईहरु जस्तो पत्रकारहरुले पनि वास्तविकता राखिदिनुपर्छ । बंग्याएर राखि दिनुभएन ।

यसको अर्थ हेर्ने हो भने विजेश्वरी छात्राबासको जग्गा नेपाल राष्ट्रिय समाज कल्याण संघकै भएको बुझिन्छ होइन त ?
कानुनी रुपमा नेपाल राष्ट्रय दलित समाज कल्याण संघ कै भयो । तर, संस्थाको प्राक्टिस के छ भने जग्गा संघको नाममा भए पनि त्यहाँ छात्राबास नै चलाउने हो । त्यो अहिलेसम्म संघले नराम्रो मनसाय राखेको छैन । यो हाम्रो हो र हामीले गर्नुपर्छ भनेको छैन । संस्थाले यसलाई राम्रो रुपमा चलोस् भन्न खोजेको छ । अहिले व्वाइज होस्टेल छ नि, त्यो राम्रो छैन । ट्वाइलेटको अवस्था विजोग छ । दुर्गन्धित भएको छ । होस्टेलमा पानी चुहिएर समस्या छ । कोठाहरुमा त्यस्तै फोहोर छ । त्यसलाई सुधार गर्ने अनि पछि त्यसलाई गल्र्स होस्टेलको रुपमा पनि विकास गर्ने भन्ने हो । त्यही भएर त्यसलाई अझ व्यवस्थित गर्न भनेर संस्थाले सबैसँग सल्लाह गरेर काम गरेको हो । दलित नागरिक समाजलाई पनि सल्लाह गरेर सबै मिलेर जाने, सबैको सम्पति हो भनेर सल्लाह गर्दै गएको हो । त्यसपछि भात्रृ संगठनसँग पनि सल्लाह गर्न खोजको हो । तर, भात्रृ संगठनका नेताहरुसँग अलिक टाइम भएन । मैले पटकपटक समय मिलाउन आग्रह गरे । उहाँहरुको एकताले गर्दा टाइम दिनुभएको छैन ।

त्यहाँ त विद्यार्थीबीच कुरा नमिलेर पुलिसमा समेत गए । त्यहाँ मान्छेले रक्सी खाने । केटीहरु लगेर राखि दिने पुरुष होस्टेलभित्र । वार्डेन भन्ने अनि रक्सि खाएर सबै गरिदिने त्यो खालको अवस्था आएर हामीलाई डिष्टभ भयो भन्न थाले । हामीले त पुलिसले खवर गरेपछि मात्रै त्यस्तो भएको थाहा भयो । हामीले त ठिकै रुपमा चलेको होला भन्ने थियो । पछि पुलिसले कि राम्रोसँग सञ्चालन भएन ? किन यसरी वेतिथि भयो भनेर स्थानीय साथीहरु र पुलिसले भन्न थाले । स्थानीयको भनाईमा यदि व्यवस्थित नगर्ने हो भने हामीले नै दिएको जग्गा हो, हामीले नै चलाउँछौ भनेर आक्रोसित बन्न थाले । कसैले वडा कार्यालयसम्म बनाउने कुरा गर्नुभयो । हामीले त्यसो गर्न पाइँदैन, दलितको नाममा भएको छात्राबासमा दलितले नै बस्ने हो भनेर हामीले कुरा गर्यौ । संस्थाकै नाममा व्यवस्थित गरेर लैजान्छौ भनेपछि स्थानीय चुपचाप बसेका छन् । त्यसपछि हामीले सक्रियता देखाएको हो । त्यत्रो दुःख हामीले ग¥या छ ।

छात्राबास सञ्चालन गर्न तपाईको संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले कति खर्च गर्दै आएको छ त ?
पहिलेपहिले पनि मर्मत गर्ने, सहयोग जुटाउने, संस्थाले पनि आफ्नै खर्चमा मर्मत सुधार गर्ने काम गर्दै आएको छ । अस्ति भर्खरै मात्रै पनि १०÷१५ रुपैयाँबाट ट्यांकी सफा गर्ने, विद्युत वाइरिङ गराएका छौं । हामीले त्यही सुधारका राम्रा काम गरेपछि कसैलाई इश्र्या भएको हो । विषेश गरेर गणेश विक हुनुहुन्छ नि, उहाँले यो गलत ढंगले उस्... (अस्पष्ट शब्द) गराउनुभयो । उहाँ भनने हो भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकै संस्थामा रहेर काम गरेर आउनु भएर बुझेको मान्छेले पनि एनजिओ भन्ने ? फेरि उहाँ आफैं एनजिओ चलाएर आएको मान्छे हो । उहाँ र हामीले सँगै काम गरेको रिपोर्ट अझैं फाइनल भएको छैन । उहाँ आफैं एनजिओको अध्यक्ष, तपाईहरुले बुझ्नु भएकै होला उहाँको आफ्नो एनजिओका पदाधिकारीहरु, आफ्नो अफिस कसरी सञ्चालन गरिरहनुभएको छ भन्ने कुरा । यो नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ त त्यस्तो होइन नि । यहाँ त सबै राजनीतिक विचार राख्नेहरु छन् । सबै जातिका छन् । देशभरीका छन् ।

यो त तपाईहरुको संगठनको कुरा होला । यहाँ त विजेश्वरी छात्राबास दलित आन्दोलनको उपलब्धि हो र यसलाई हामीले नै अपनत्व लिनुपर्छ भनेर राजनीतिक दलहरुका नेताहरुले भनिरहनुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
जनकबहादुर खड्गीले मुद्दा हाल्दा दलित आन्दोलनले के ग¥र्याे त्यतिबेला ? त्यो कुरा पनि भन्नु पर्याे नि । मुद्दा हाल्दा हामी लड्ने बेलामा दलित आन्दोलन कहाँ थियो ? कहाँ सुतेर बसेको थियो ? त्यति बेला दलित आन्दोलन लड्यो कि लडेन ? त्यति बेला दलित आन्दोलन लडेर जनक खड्गीलाई परास्त गर्न दलित आन्दोलन लडेको होइन, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ एक्लैले लड्यो । त्यतिबेला कति खर्च भयो । वकिल राखेर मुद्दा लड्दा कति खर्च भयो । त्यतिबेला व्यक्तिगत बनाउनबाट जोगाएर संसथाको बनाइ दियो र त अहिले दलित आन्दोलनको कुरा गर्न पाइएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पनि दलित आन्दोलनकै एउटा हिस्सा हो नि त । यो आन्दोलनबाटै स्थापित भएर आएको संस्था हो । पञ्चायतकालमा संघर्ष गर्ने यो मात्रै थियो । अहिले एमाले, माओवादी, कांग्रेस, राप्रपामा लाग्ने सब साथीहरु पहिले यसको सदस्य हुनुहुन्थ्यो नि । अहिले सांसद्, मन्त्री भएका सबै पहिले यो संस्थामा हुनुहुन्थ्यो ।

अहिले बहुदल आएर नै विभिन्न संघ संस्था खुल्न थाले । त्यही भएर पहिले यही संस्थामा बनाउनुपर्छ भनेर सहमतिमा गरियो । अहिले आएर हजारौं संघ संस्था खुले । ती हजारौं संघ संस्थालाई भाग बण्डा लाउन त मिल्दैन नि ?

पहिले जुन किसिमले भयो, सहमतिमै भयो । अहिले पनि सबैलाई समेटेरै भएको छ । बाहिर गएर जसले जहाँ जे बोले पनि यहाँ कुनै राजनीतिक पार्टीको कुरा चल्दैन । संस्थाभित्र छिरेपछि मात्र दलित समुदायका विषयमा कुरा हुन्छन् । त्यही अनुसारका गतिविधि हुन्छन् । म राष्ट्रिय अध्यक्ष भए पनि मैले कहिले राजनीतिक कुरा गरेको छैन । त्यही भएर त सबैको स्वीकार्य संस्था भएको छ । यो संस्था दलित आन्दोलनको धरोहर भएको छ ।

तपाईले दलित आन्दोलनमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको महत्वपूर्ण भुमिका छ भन्न खोज्नुभएको हो ?
हो हो । हामीले धेरै विद्यार्थीलाई छात्रवृद्धि दिएर शिक्षामा अगाडी बढाएका छौं । विभिन्न जिल्लामा सशक्त भुमिका खेल्नुभएको छ । यो छात्राबासको विषयमा जिल्ला जिल्लामा ठूलो चर्चा भएको छ । जिल्लाका साथीहरु तयार छन् । कहीँ कतै दायाबायाँ भयो भने भन्नुस् हामी सबै काठमाडौंमा उत्रिएर आन्दोलन गर्न तयार छौं भनिरहनु भएको छ । जिल्लाका साथीहरु यति उत्तेजित हुनुभएको छ कि । त्यस्तो भ्रम किन फिजियो ? ताला लगाउने काम किन गरियो ? हामी आउनुपर्छ भने हामी आफ्नै खर्च खाएर आउँछौ भनेर जिल्ला जिल्लाका साथीहरु लाग्नु भएको छ । मैले भने हैन, यो सबैलाई समन्वय गरेर राम्रो व्यहार भइरहेको छ । मैले सबैलाई मिलाएर जाने प्रयन्त गरेको छु । साथीहरु हामीले त्यसरी उग्र रुप जानु हुँदैन । त्यसरी भ्रम फैलाएर त्यस्तो काम गर्नुहुँदैन । हामीले जे काम गर्ने हो राम्रो ढंगले, बैधानिक ढंगले अघि बढ्नुपर्छ भनेर सम्झाएको छु । हामीले त्यसरी नकारात्मक सोचाई राखेका छैनौं ।

तपाईहरुले विजेश्वरी छात्राबास चलाउन गरिएको महायज्ञको खर्च सार्वजनिक नगरेको भन्ने आरोप लागेको छ नि । खास के हो ?
त्यो आरोप साथीहरुले नबुझेर लगाउनुभएको हो । पहिले त बुझ्नुपर्याे नि । यहाँहरुले त्यसको हिसाव कहाँ के भयो भनेर बुझ्नु पथ्र्याे । जसले आरोप लगाउनुभयो, त्यही कुरा कतिपय त बुझेकै हुनुपर्छ । हामीले जति उठाएको छौं, त्यसको सबै हिसावकितावको बिल भर्पाइँ राखिदिएका छौं । खर्चको अवस्था पारदर्शी छ । मैले बाहिर हामीले नै गरायौं भनेको केही साथीहरुको कुरा सुनेको छु । बरु तपाईहरुले उहाँहरुको बिल भर्पाइँ खोजिदिनुपर्याे । उहाँहरुले कहाँबाट पैसा लिनुभयो ? कुन संस्थाबाट खर्च गर्नुभयो ? त्यसको बिल भर्पाइँ कहाँ छ ? २/४ जनाले आफु खुसी समिति बनाएर पैसा उठाएर त्यसको विवरण हामीलाई दिनुभएको छैन । त्यो त कुनै बैधानिक भएको छैन नि । आउनुस्, हेर्नुस् । हामी सबै खर्चको हिसाव दिन्छौं । कहीँ कतै हिसाव तलमाथि भएको छैन । त्यस्तो भेटाउनु भयो भने के जवाफ दिनुपर्छ ? म तयार छु ।

अन्त्यमा केही भन्नु छ की ?
तपाईहरुलाई के अनुरोध गर्छु भने यहाँहरु मिडियामा हुनुहुन्छ । यो खुसीको कुरा हो । तपाईले नै देखिरहनुभएको छ कि देशमा दलितको अवस्था दयनीय छ । यस्तो अवस्थामा यसरी दुःख गरेर बचाएको छात्राबासको बारेमा बुझेर सही समाचार सम्प्रेषण गरिदिनु पर्याे । अझैं पनि अबैधानिक रुपमा रहेका विद्यार्थी राख्ने, बाहिर जागिर खाने व्यक्ति राख्ने, नचाहिँदो गतिविधि गर्ने काम छात्राबासमा हुनुभएन । कुनै एनजिओले आफ्नो घर बनाउँछ भने र त्यसलाई व्यवस्थित चलाउन सक्दैन भने भोली त त्यो सरकारको भइहाल्छ नि । तर, हामीले राम्रो गर्दागर्दै त्यसलाई भ्रम फिजाएर त्यसरी विगार्नु भएन । किनभने दलितप्रति जति आक्रमण भइरहेका छन्, त्यसका विरुद्ध एक भएर लाग्नुपर्ने बेला छ । सकिन्छ भने सरकारसँग पैसा लिएर अर्काे होस्टेल बनाउँ न ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...