२२ वर्षको उपलब्धि : नेपालले आज पहिलो एक दिवसीय खेल खेल्ने

Nepali cricket teem

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्न लागेको हो ।

नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।

नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो ।

त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत प्राप्त गरेको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध बनेको थियो । त्यसअघि नेपालले लन्डनमा त्यहाँका स्थानीय क्लबसँग केही अभ्यास खेलसमेत खेलेको थियो ।

यी दुई टोलीबीच आधिकारिक एक दिवसीय खेल पहिलोपटक हुन लागे पनि ५० ओभरको क्रिकेटमा भने यस अघिबाटै खेल्दै आइरहेका छन् । विगतमा ५० ओभरको क्रिकेटमा एकअर्काविरुद्ध भएको प्रतिस्पर्धाको नतिजाले भने नेदरल्यान्ड्सलाई बलियो देखाएको छ ।

 

प्रतिकृया दिनुहोस