१२ वर्षपछि फर्कियो खोलो, फ्रान्स पुग्यो फाइनलमा

Franc pugyo final

काठमाडौं । भनिन्छ १२ वर्षपछि खोलो फर्किन्छ । यस्तै भएको छ फ्रानसका लागि । अर्थात् रुसमा जारी फुटवलको महाकुम्भमा फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको हो । अब फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

खेलको ५१ मिनेटमा फ्रान्सले अग्रता लियो। कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए । राफायल भारनको कर्नर बलमा उम्टिटीले गोल गरेका हुन् ।

त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका लागि गरेका प्रयासमा विपक्षी गोलकिपर बाधक बनेका थिए । बेल्जियमका इडिन हजार्ड र टोबी एन्डरवारेल्डको प्रहारलाई फ्रान्सका गोलकिपर हुगो लोरिसले बिफल पारेका थिए । यस्तै फ्रान्सका बेन्जामिन पभार्डको उत्कृष्ट प्रहारमा बेल्जियमका गोलकिपर थिबाउन कोउटिउसले उत्कृष्ट बचाउ गरेका थिए ।

यस्तो छ इतिहास
१९९८ को च्याम्पियन फ्रान्सले पछिल्लो पटक २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो । फ्रान्सले सन् १९९८ मा ब्राजिललाई पराजित गरेर पहिलोपटक विश्वकपको उपाधि जितेको थियो ।

२० वर्षपछि फ्रान्सले महत्वपूर्ण खेलमा जित निकालेर दोस्रो पटक विश्वकपको उपाधि जित्ने अभियान नजिक पुगेको छ । यस जीतका साथ फ्रान्सले तेस्रो पटक विश्व कपको फाइनलमा स्थान बनायो । सन् १९९८ र सन् २००६ मा उसले फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

रुसमा जारी विश्वकपको सेमिफाइनलमा फ्रान्सका लागि गोल गर्ने उम्टिटी तेस्रा डिफेन्डर बने । फ्रान्सले विश्वकपको सेमिफाइनलमा गरेका ६ मध्ये ४ गोल डिफेन्डरबाट भए । यसअघि सन् १९८२ मा जर्मनी विरुद्धको सेमिफाइनलमा डिफेन्डर मारियउस ट्रेसोरले फ्रान्सका लागि गोल गरेका थिए । सन् १९९८ को क्रोएसिया विरुद्धको सेमिफाइनलमा फ्रान्सका डिफेन्डर लिलियन थुरामले २ गोल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस