विश्वकै ध्यान तान्यो थाइल्याण्डको एउटा गुफाले, जहाँ २ हप्तादेखि १२ बालक फसेका छन्

Thai gufa

काठमाडौं । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको छ ।

घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए । गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन् ।

१८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

उद्धारकर्ताहरूको टोली स्थानीय समयअनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले बताए । उद्धार कार्यमा सघाउन पुगोस् भनेर गुफाबाट लाखौँ लिटर पानी तानिसकिएको छ ।

सो गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको थियो । गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३ सय मीटर लामो छन् ।

ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती बालकको उद्धार गर्न सजिलो पर्ने उद्धारमा संलग्न अधिकारहिरुले बताएका छन् ।

उद्धारमा खटिएका एकजना गोताखोर बालकलाई खाना पु¥याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरुले मानिरहेका थिएनन् । त्यही भएर यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान गरिएको छ ।

करिब दुई साताअघिदेखि नै उनीहको उद्धार थालिएको थियो । किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब १ हजार जना खटिएका छन् ।

प्रतिकृया दिनुहोस