सामाजिक पूँजी : समाज परिवर्तनको संवाहक

Shambhu rasali - शम्भु रसाली

सामाजिक पूँजीले समाज विकास प्रक्रियालाई सशक्त ढंङ्गले प्रभाव पारेको हुन्छ । मान्छेको सामाजिक पूँजी भनेकै संघ सङ्गठन, समूह, नेटवर्क आदिमा आवद्ध रहने प्रक्रिया हो । जो मान्छे समाजमा जति नै धेरै अन्तरघुलित भएको हुन्छ, उसको सामाजिक सम्पत्ति उत्ति नै बढेको हुन्छ ।

सामाजिक पूँजीले मान्छेलाई साहस, आत्मविश्वास, कामप्रति प्रतिवद्ध र बढी भन्दा बढी सामाजिक दायीत्व बोधले बाध्न थाल्छ । जो मान्छे समाजको रमाउँछ, उसले आफ्नो र परिवारको बारेमा मात्र सोच्दैन । उसले सामुहिक सवालहरुमा बढी चनाखो हुन्छ । जस्तो अन्य व्यक्ति, समाज, समुदाय र वर्गको बिषयमा चासो दिइरहेको हुन्छ । सामाजिक पूँजीले साहस र आत्मा विश्वास बढाउँछ ।

सामाजिक पूँजीको आवश्यक्ता किन ?
विकास भनेको सकारात्मक परिवर्तन हो । कुनै पनि क्षेत्रमा भएको सकारात्मक परिवर्तन नै विकास हो । ब्यक्तिगत विकास ब्यक्तिको पहलमा हुन सक्छ । तर त्यो भन्दा बाहिरको विकासका लागि सामाजिक पुँजी निर्माणको प्रयासपछि मात्र सम्भव हुन्छ । सामाजिक कार्य चाहे त्यो सानो होस् या ठूलो । यी सबै काम सामाजिक पुँजी वा समुहको प्रयत्नपछि मात्र सम्भव हुन्छ ।

जब कोही ब्यक्ति समूह, सङ्गठनमा आबद्ध हुन्छ, उसको उद्देश्य साहस र आत्माविश्वास बढाउनेतिर उन्मुख रहेको हुन्छ । म अन्याय, अत्याचारको बिरुद्द र सत्य, नीति नियमको पक्षमा बोल्नुपर्छ भन्ने साहस र आत्माविश्वास सामाजिक पूँजीबाट प्राप्त भएको हुन्छ ।

सामाजिक कार्य एकल ब्यक्तिबाट असम्भव हुन्छ । यसका लागि समूह, संघ, सङ्गठन चाहिन्छ । यो त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला सामाजिक पूँजीको निर्माण भएको हुन्छ । सामाजिक सम्पत्ति त्यस्तो शक्ति हो, जुन शक्तिले समाजको मात्र होइन सिङ्गो राष्ट्रको मुहार बदल्न सफल भएको हुन्छ ।

नेपाल विभिन्न समुदाय र वर्ग रहेको देश हो । यहाँ आफ्नो हक अधिकार स्थापित गर्न विभिन्न तह र तप्काबाट संगठित भएर आफ्नो अधिकार र जिम्मेवारी बहन गर्न समूह, संघ सङ्गठनको नामबाट लागिपरेको हामीले देखेका छौं ।

राज्यले यो गर्छु वा त्यो गर्छु भनेर बनाएको नीति नियम कार्यन्वयन भएको छ कि छैन भनेर यसरी बनेका समूह, संघ सङ्गठनहरुले हेरेको हुन्छ । यदि कार्यन्वयन भएको छैन भने किन यो काम भएन भनेर वकालत गर्ने काममा सामाजिक पूँजीको आवश्यक्ता अहम हुन्छ ।

सङ्गठन विभिन्न उद्देश्यले खोलिएको हुन्छ । ती सङ्गठनमा विभिन्न जात, भुगोल, लिंग, धर्म मान्ने ब्यक्तिहरु समावेश भएका हुन्छन् । जसले गर्दा एक अर्काप्रति सद्भाव र भाईचाराको सम्बन्ध स्थापित भएको हुन्छ ।

शक्ति त्यतिबेला बन्छ, जतिबेला एकता हुन्छ । एकताले समाज, समुदाय मात्र होइन, राज्यको नीति नियम र संविधानसमेत बदल्न सक्छ । उदाहरणका लागि नेपालको राजतन्त्रको अन्त्य नेपालीहरुको एकताले मात्र सम्भव भएको हो । विश्वमा जति पनि ठूला ठूला परिवर्तन भएका छन्, ती सबै एकताले सिर्जना गरेको शक्तिको कारणले भएका हुन् ।

समाजमा विभिन्न खालका विभेद हुन्छन् । जस्तो जातीय, भौगोलिक, लैंगिक, वर्गीय, धार्मिक विभेद आदि । यी विभेदको विरुद्धमा आवाज त्यतिबेला मात्र बुलन्द हुने छ, जति बेला एकतामार्फत संगठित हुने काम हुन्छ । राज्यले त्यतिबेला मात्र तिनीहरुको आवाजको सुनुवाइ गर्ने छ, जति बेला उनीहरुसँग एकतामार्फत शक्तिको निर्माण भएको हुन्छ । उदाहरणका लागि मधेशको आन्दोलनलाई लिन सकिन्छ । जुन सफल आन्दोलन हो ।

राज्य सत्तामा पहुच पुर्याउनका लागि एकताको ठूलो आवश्यक्ता हुन्छ । नेपालमा बाहुन क्षेत्रीहरुको राज्यमा पहुँच हुनु भनेको उनीहरुले बनाएको सामाजिक सम्पति र एकताको उपज हो । नेवार थकालीहरुको ब्यवसायमा पहुँच हुनु भनेको पनि त्यहीँ हो । अहिले आरक्षणको ब्यवस्था हुनु भनेको पनि एकताको नै परिणाम हो ।

जब संघ सङ्गठनमा आवद्ध भइन्छ, त्यहाँ विभिन्न क्षेत्रबाट अनुभव लिएर आएका ब्यक्तिसँग संगत हुन्छ । त्यही अनुभव र संगतबाट नयाँ नयाँ कुराको थालनी हुन सक्छ । जस्तो ब्यावसायिक कार्यको सुरुवात, राजनीतिक यात्राको थालनी । उदाहरणका लागि सामाजिक कार्यबाट सुरु भएको मधशी जनाअधिकार फोरम नेपालले आन्दोलनकै बलमा राजनीतिक पार्टीको रुप लिएको थियो ।

संघ सङ्गठन र नेटवर्कमा बस्दा विभिन्न क्षेत्रका मानिसहरुसँग भेटघाट र चिनापरिचय हुन्छ । जसको कारण कहाँ के भइरहेको छ, त्यसबारे सुचना पाउन सकिन्छ । सुचना शक्तिशाली हुन्छ । त्यहीँ सुचनाको आधारमा विभिन्न अवसरहरु प्राप्त गर्न सकिन्छ ।

(लेखक : विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड वर्ल्ड फाउन्डेसन र विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् ।)

 

 

प्रतिकृया दिनुहोस