थाईल्याण्डको गुफाभित्र फसेका बच्चाहरु महिनौंसम्म गुफामै बस्नुपर्ने

Coach nys9zdtnnb

थाइल्याण्डको गुफामा फसेका १२ बच्चासहित एक कोचले कि त डाइभ हान्न सिक्नुपर्ने कि महिनौंसम्म बाढी कम नहुञ्जेलसम्म गुफाभित्रै बस्नुपर्ने स्थिती निम्तिएको त्यहाँको सेनाले बताएको छ ।

बचाउ दलका सदस्यलाई बाढीले समस्या पारिरहेकाले तत्कालका लागि खानेकुरा र औषधी उपचारको व्यवस्था मिलाइएको बीबीसीले बताएको छ ।

उनीहरुलाई चार महिनासम्म पुग्ने गरी खाना आपूर्ती गरिने सेनाले बताएको छ ।

आफ्ना फुटबल कोचसहित १२ बच्चाहरु ९ दिन अघि चियंग रायस्थिती ट्याम लूंग गुफामा हराएका थिए ।
अब उनीहरुलाई बाहिर निकाल्ने चुनौती छ । गुफामा पानीको स्तर बढिरहेको छ र फोहोरका कारण उनीहरुसम्म पुग्न समस्या भइरहेको छ ।

गुफामा फसेका बच्चाहरु भएको ठाउँमा जब बेलायती गोताखोर पुगे तब उनीहरुले धन्यवाद दिँदै सुरुमै अब आफूहरु कहिले बाहिर निस्कन पाउँछन् भनी प्रश्न सोधेको बताइएको छ ।

गोताखोरले उनीहरुलाई आज निस्कन नसक्ने बताएपछि उनीहरुले ‘आज कुन दिन हो’ भनी प्रश्न सोधे । जवाफमा गोताखोरले भने, ‘सोमबार । तपाईंहरु यहाँ दस दिनदेखि हुनुहुन्छ । तपाईंहरु निकै बलियो हुनुहुन्छ निकै बलियो ।’

गोताखोर बच्चा भएको ठाउँमा पुगेको भिडियो थाइल्याण्डको नेवी सीलले जारी गरेको छ ।

 आफ्नो कोचसँग बच्चाहरु

गुफामा हराइरहेका १२ किशोर र उनीहरुको कोचको अवस्थाबारे पूरा देशमा चिन्ताको स्थिती थियो । यी सबै सुरक्षित भएको खबर सार्वजनिक भएपछि उनीहरुका परिवारका सदस्य निकै खुसी छन् ।

चियंग रायका गभर्नर नारोंग्सक ओसोटानकोर्नका अनुसार खोजी अभियानमा संलग्न नौसेनाका विशेष दलले उनीहरुको खोजी गरे ।

जब उनीहरु सकुशल भएको खबर आयो तब गुफा बाहिर रहेकी एक बच्चाकी आमाले भनिन्, ‘आजको दिन सबैभन्दा राम्रो छ । म कहिले देखि आफ्नो बच्चालाई कुरेर बसिरहेकी छु । अब म निकै उत्साहित छु । जब छोरो बाहिर आउँछ, सबैभन्दा पहिले म उसलाई अंगालो हाल्छु । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

 बचाउ दलका अनुसार गुफामा फसेका बच्चा र उनको कोचले यस्तो स्थानको खोजी गरेका थिए जसमा बाढी आउन सक्दैनथ्यो ।

बीबीसीको बैंककमा रहेका संवाददाता जोनाथन हेडले यसबारे ट्वीटरमा जानकारी दिएका छन् ।

अविरल वर्षा र फोहोरका कारण उनीहरुको खोजी अभियानमा निकै समस्या निम्तिएको थियो ।

त्यहाँको स्थितीबारे बेल्जियमा गोताखोर बेन रेमेनेन्ट्सले बताएका छन् । बच्चाहरुलाई भेट्नुअघि उनले बीबीसीसँग भने, ‘उनीहरु निकै भित्र छन् र त्यहाँ पौडी खेलेरमात्र जान सकिन्छ । यो गुफा निकै झुक्याउने किसिमको छ, तापक्रम २१ डिग्री छ । यो स–साना सुरुङले बनेको झुक्याउने किसिमको निकै लामो सुरुङ हो । पहिलो दिन म निकै निराश थिएँ किनभने अँध्यारोको कारण हामीले केही देख्न सकेका थिएनौं ।’

बच्चालाई सुरक्षित तरिकाले बाहिर निकाल्ने योजना बनाइँदैछ । पत्रकारसँग कुराकानी गर्दै चियंग रायका गर्भनरले बचाउ अभियानको अर्को चरणबारे जानकारी दिँदै भने, ‘अब हामी उनीहरुलाई खाना दिन्छौं । तर उनीहरुले खान सक्छन् वा सक्दैनन् भन्ने बारे सटिकसँग भन्न सक्दैनौं किनभने उनीहरुले १० दिनदेखि केही पनि खाएका छैनन् । उनीहरुले खाना पचाउन सक्छन् वा सक्दैनन् भनेर हामीले विचार गर्नुपर्छ । अब धेरै काम गर्न बाँकी छ । उनीहरुलाई सुरक्षित बाहिर निकाल्नु छ र उनीहरुलाई स्कूल जानसक्ने बनाउनु छ ।’

को थिए यी बच्चाहरु ?

– सबै बच्चाहरु वाइल्ड बोर भनिने मू पा नामक फुटबल टीमका सदस्य हुन् ।

– २५ वर्षका उनका सहायक कोच इक्कापोल जनथावोंग कहिलेकाँही यी बच्चालाई घुमाउन लिएर जान्थे । दुई वर्ष अघि पनि यहि गुफामा उनले बच्चालाई घुमाएका थिए ।

– टीममा सबैभन्दा साना खेलाडी ११ वर्षका चेन टाइटन हुन् । उनले सात वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका थिए ।

– टीमका कप्तान १३ वर्षका डुआंगपेट ‘डोम’ हुन् । उनी आफ्नो टीमको मोटिभेटर अर्थात् उत्साह बढाउने सदस्य पनि हुन् ।

– क्लबका मुख्य कोच नोप्पारात कंतावोंग टीमसँग घुम्न गएका थिएनन् । उनका अनुसार यी सबै बच्चाहरु एक दिन व्यवसायिक फुटबल खेलाडी बन्ने सपना देख्छन् । उनलाई विश्वास छ सबै बच्चाहरु एक–अर्कासँगै रहनेछन् र एक अर्कालाई एक्लो छोड्दैनन् ।

 


एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...