मतदान केन्द्रमा आत्मघाती विस्फोट, ३१ को मृत्यु

Pakisthan 1

काठमाडौं । पाकिस्तानको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ । सो घटनामा परी ३१ जनाको मृत्यु भएको छ ।

कडा सुरक्षाबीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको थियो । आत्मघाती विष्फोट हुँदा मतदान भइरहेको थियो ।

सो घटनामा परी हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । शहरको पूर्वी बाइपास क्षेत्रस्थित मतदान केन्द्रमा भएको हमलामा मृत्यु हुनेमा प्रहरी अधिकारी र सर्वसाधारण मतदाताहरु रहेका छन् ।

क्वेटा शहरको प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर–आइ–नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए । पाकिस्तानी सञ्चार माध्यमका अनुसार हमलाकारीले प्रहरीको भ्यानलाई लक्षित गरी बम पड्काएका थिए ।

आम निर्वाचनमा सबैभन्दा संवेदनशील मानिएको बलुचिस्तान प्रान्तमा निर्वाचन अभियानको क्रममा यसअघि भएका विभिन्न आत्मघाती हमलामा १८० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पाकिस्तान सरकारले निर्वाचनको सुरक्षाको लागि ३ लाख ७० हजार भन्दा धेरै सेना र ४ लाख ५० हजार भन्दा धेरै प्रहरी खटाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस