दश वर्ष जेल सजाय सुनाइएका शरिफ स्वदेश फर्कंदै

नवाज शरीफ

पाकिस्तान । जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ शुक्रबार स्वदेशका लागि प्रस्थान गरेका छन् ।

अत्यधिक कडा सुरक्षा व्यवस्थाकाबीच उनी बेलायतको लण्डनदेखि आफ्नो गृहनगर लाहोरका लागि छुटेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहँुदै पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्किएका हुन् ।

आसन्न निर्वाचनको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा एकैदिन भएका छुट्टा छुट्टै घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको दिन शरीफ स्वदेश फर्किएका हुन् । पाकिस्तानमा यही जुलाई २५ तारिखका दिन निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै जाँदा र शरीफ स्वदेश फर्किएपछि सुरक्षा खतरा थप बढेको अधिकारीहरूले बताएका छन् ।

भ्रष्टाचार गरेको अभियोगमा उनलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए ।

स्वदेश फर्किएपछि उनले आफुलाई सेनाले लक्षित गरेको प्रतिक्रिया दिए । उनको पार्टीले शुक्रबार सार्वजनिक गरेको भिडियोमा शरीफले भनेका छन्, “मलाई थाहा छ, मलाई सिधै जेल लगिने छ ।”

“मैले मेरा पाकिस्तानीहरुलाई भन्न चहान्छु मैले जे गरिरहेको छु, त्यो सवै तपाईहरुका लागि हो । मसँगै हिड्नुस्, मसँगै हात मिलाउनुस् र मुलुकको गन्तव्य परिवर्तन गरौं,” शरीफले भिडियो सन्देशमार्फत देशवासीलाई आग्रह गरेका छन् ।
उनलाई स्वागत गर्न आयोजित ¥यालीमा झण्डै आठ हजार उनका समर्थकहरू जुटेका छन् । ¥यालीको नेतृत्व उनको भाई शहबाज शरीफले गर्ने कार्यक्रम रहेको छ ।

अप्रिय घटना हुने आशंकामा ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरूले जनाएका छन् ।

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको थियो । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । उनीमाथि लागेको आरोप सरिफ र उहाँका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस