दीपक बोहरा भन्छन्, पार्टी फुट्नुमा सबैको दोष छ, कोही पनि चोखा छैनौँ

Dipak bohara

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकीकरण गरी वकल्पिक शक्ति बनाउन राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले गठन गरेको पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदलका संयोजक हुन्, पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा । राष्ट्रवादी शक्तिहरू एक ढिक्का भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै राप्रपा एकीकरणको तयारी थालेको बोहराको तर्क छ ।

सरकारबाट बाहिरी सक्नु भएको छ, अब ५ वर्षका लागि सरकारमा जाने बाटो पनि बन्द भयो, आजकल के गर्दै हुनुहुन्छ ?
स्वाभाविक रूपमा ५ वर्षसम्म सरकारमा जाने कुरा हुँदैन । कम्युनिस्टहरूको एकताले देशमा स्थायी सरकार निर्माण भएको अवस्था छ । मुलुकमा वामपन्थी धार एक भएर अगाडी बढेको अवस्थामा राष्ट्रवादी सोच भएका, परापूर्वकालदेखि चली आएका हाम्रा परम्परालाई उचित सम्मान दिएर अगाडि बढेका शक्तिहरू विचपनि एकता हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ र, यसका लागि राष्ट्रवादी शक्तिहरू बिच एकता भएर अगाडी बढ्नुपर्ने खाँचो हामीले देखेका छौँ । यो क्रममा हामी तीन पार्टीहरू राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एक ठाउँमा उभिन आवश्यक छ भनेर अहिले म एकताको गृहकार्यमा व्यस्त छु ।

अब देशमा वामपन्थी, नेपाली काँग्रेस र राष्ट्रवादी प्रजातान्त्रिक शक्ति मात्र रहन्छन् । राष्ट्रवादी शक्तिले परम्परा, संस्कृतिलाई जोगाउन यो देशलाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न अग्रसर हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

चुनावमा पार्टीले अप्रत्यासित रूपमा पराजय व्यहोर्नुको कारण वामपन्थी पार्टी एक भएर हो, या राप्रपा आफ्नै सिद्धान्तमा अडिग नभएर हो ?
वामपन्थी एकता गर्ने बित्तिकै उहाँहरू बलियो हुनुभयो, स्वाभाविक हो । हामी जो राष्ट्रवादी शक्ति निर्माण गर्न जुटेका थियौँ, एक ठाउँमा मिसियौँ र पुनः अप्रत्यासित रूपमा चुनाव अगाडी फुट्दा जनताले पत्याएनन् । वामपन्थीहरूको एकता, हाम्रो विखण्डन र प्रजातान्त्रिक शक्तिहरूलाई विखण्डन गरेर आफ्नो स्वार्थ पुर्ति गर्ने देशी विदेशी शक्तिहरूको चलखेलका कारण हाम्रो पराजय भएको हो । हाम्रै बिचमा रहेका घटकहरूसँग पनि तालमेल र सहकार्य हुन सकेन । नेपाली काँग्रेस, मधेसवादी दल र हामीहरू वामपन्थीको जस्तो मजबुत ढङगले निर्वाचनमा जान सकेनौँ । यसकारण पनि सिद्धान्त र विचार राम्रो हुँदाहुँदै हाम्रो पराजय भएको हो ।

राप्रपाले आफ्ना एजेन्डाहरूलाई स्थायी रूपमा बोक्न नसकेको कारण पनि चुनावमा हार भएको मान्न सकिन्छ ?
संविधान सभाको निर्वाचनमा राप्रपा नेपालले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डा बोकेको थियो । हामीले अहिलेको गणतन्त्रलाई स्वीकार गर्दै हिन्दु राष्ट्र हुनुपर्छ भन्ने एजेण्डालाई अगाडी बढाएका थियौँ । हाम्रा एजेन्डा अहिलेको परिवर्तनलाई स्वीकार गर्दै धर्मनिरपेक्ष राष्ट्रका विपक्षमा रहेर अगाडी बढ्ने थियो र अहिलेपनि त्यही छ तर, निर्वाचनमा गइसक्दा यो कुरालाई जनता माझ प्रस्ट रूपमा बुझाउन सकेनौँ । फलस्वरुप हाम्रो पराजय भएको हो, एजेन्डा विहीन भएर निर्वाचनमा गएकोले पराजित भएको हैन ।

राप्रपा नेपाल र राप्रपा एक भएर पुुनः टुट्नुको कारण व्यक्तिगत टकराव हो कि पार्टीगत समस्या हो ?
केही कुरा व्यक्तिगत टकरावका पनि छन्, केही पार्टीगत टकरावलाई पनि नाइँ भन्न सकिन्न । अब अहिले त्यसलाई केलाएर पुनः मिल्ने अवस्था आएको बेलामा आरोप–प्रत्यारोपण गर्ने पक्षमा म छैन तर, समग्रमा भन्नुपर्दा हामी जुटेर फुट्यौँ । यो घटनामा कतिपय व्यक्तिगत टकराब थिए, कतिपय पार्टीको सिद्धान्त र धारणा मिल्न सकेन, त्यो भन्दा बढी राष्ट्रवादी शक्तिलाई एकबद्ध हुन नदिन हिन्दुधर्मका पक्षधरलाई कमजोर बनाउन देश विदेशी शक्तिहरूले गरेको चलखेल सफल भयो ।

यसरी जुट्दै फुट्दै सिद्धान्त विहीन भएपछि जनताले त पत्याउन सक्ने अवस्थै हुँदैन नि, राजनीतिमा सिद्धान्त र दृष्टिकोण प्रस्ट हुनुपर्दैन ?
ठिक कुरा गर्नु भो, कुनै पनि पार्टी सिद्धान्त र दृष्टिकोण विहीन हुनुहुन्न । राप्रपा (प्रजातान्त्रिक) विचार, सिद्धान्त र दृष्टिकोणबाट कदापि विचलित भएको छैन । मात्र हामीले हाम्रा विचार, सिद्धान्त र दृष्टिकोणलाई जनताका अगाडी प्रस्ट रूपमा प्रस्तुत गर्न सकेनौँ । यसमा कतिपय व्यक्तिगत स्वार्थ थिए, कतिपय पार्टीगत र कतिपय बाहिरी शक्ति पनि थिए । जुट्दै फुट्दै गर्दा जनताले हामीलाई राम्रो सबक सिकाउनु भएको छ । तीन वटाको भोट जोड्ने हो भने तीन प्रतिशत पुगेकै छ ।

स्थिर एजेन्डा नभएर पनि हुन सक्छ, हामीलाई जनताले पत्याएनन् तर, हिन्दु धर्मको एजेन्डामा हामी सबैको मत थियो, परम्परागत शक्तिको मान–सम्मान हुनुपर्छ भन्ने कुरामा पनि हामी सबै एकै ठाउँमा थियौँ । दुर्भाग्यवश, हामी एक आपसमा झगडा गर्नतिर लाग्यौँ । कारण जे सुकै होस् तर पार्टी फुट्नुमा हामी सबैको दोष छ, कोही पनि चोखा छैनौँ । हामी उत्तेजनामा आयौँ, एकै ठाउँमा बस्न सकेनौँ । जसको परिणाम जनताले हामीलाई कुनै स्थान दिनुभएन ।

प्रजातन्त्रमा राजा भन्दा पनि जनता सर्वोपरि रहेछन्, होइन त ?
जनता त जहिल्यै पनि सर्वोपरि नै छन् । अहिले यो देशलाई के खाँचो छ त ? त्यो महत्त्वपूर्ण कुरा हो । आज भन्दा २० वर्ष पहिले गणतन्त्रको कुरा गर्दा मान्छे यस्तो पनि हुन्छ र भन्थे । सशस्त्र द्वन्द्व भयो, गणतन्त्र पनि आयो । त्यो बेलामा हिन्दु राष्ट्र थियो अहिले त्योपनि गयो । त्यसैले मान्छेको सोचको परिवर्तनलाई कसैले पनि छेक्न सक्दैन । अहिले पनि धेरै त्यस्ता कुराहरू छन्, जुन नेपाली जनताले निर्णय त गरिसकेका छैनन् तर, अप्रत्यक्ष रूपमा चुनाव भएर त्यसको परिणामलाई मान्ने हो भने निर्णय आइसक्यो ।

हिन्दु राष्ट्र र राजसंस्थाप्रति जनमत सङ्ग्रह गरियो भने तपाईँहरूकै जित हुन्छ भन्न खोज्नुभएको हो ?
हामीलाई मत आउँछ भन्दापनि प्रत्यक्ष रूपमा त्यस्तो गरिएको छैन, र त्योपनि एउटा आधार हुन सक्छ भन्ने कुरा हो । अब हामी त्यो कालखण्डबाट धेरै अगाडी बढिसकेको अवस्थामा ती कुरालाई कोट्याएर बस्नुको अर्थ छैन । अहिलेको एजेन्डा भनेको विकास निर्माणको एजेन्डा हो । पार्टीबिचको एकतापछि पाँच वर्षमा जनताले कामको मूल्याङ्कन गर्नेछन् । त्यही आधारमा राष्ट्रियता, विकास र जनताको जीवनस्तर उठाउने कुरामा केन्द्रित भएर यो पार्टी अगाडी बढ्यो भने अबको प्रतिस्पर्धा स्वच्छ हुन्छ भन्ने लागेको छ ।

माओवादी–एमालेबिचको एकता र एकीकरणलाई तपाईँले कसरी हेर्नु भएको छ ?
माओवादी–एमाले एकीकरणमा सबैका आ–आफ्ना स्वार्थ छन् । हिजो एक अर्कालाई देखि नसहने, दुई वामपन्थी विचार धारा अहिले एक ठाउँमा उभिएका छन् । एक हिसाबले भन्ने हो भने यो एकता राष्ट्रका लागि फाइदाजनक छ, कम्तीमा ५ वर्षसम्मका लागि स्थायी सरकार त बन्यो तर, यो एकता पानी माथिको ओभानो अर्थात् विचारधारा मिल्दा नमिल्दै एकै ठाउँमा उभिएको जस्तो देखिन्छ । यसलाई मिलाएर सम्हालेर राख्न सक्नुभएन भने यो फेरी बिस्फोटक रूपमा तीतिर–वितर हुन्छ । जसले पार्टीलाई मात्र हैन मुलुकलाई समेत ठुलो गर्छ । त्यस कारण यो अप्रत्यासित रूपको एकताले अप्रत्यासित रूपको विस्फोटन पनि हुन सक्छ ।
अबको नेपाली राजनीतिमा कति वटा दल रहलान् ?

अबको नेपाली राजनीतिमा कम्युनिष्टवादी, राष्ट्रवादी र प्रजातन्त्रवादी विचारधारा भएका तीन पार्टीको अस्तित्व रहने देखिएको छ । हामी बिचका हौँ । हामी राष्ट्रवादी शक्ति हौँ, हामी परम्परालाई मान्ने शक्ति हौँ, इतिहासका धरोहरलाई मेट्न हुन्न भन्ने पक्षका हौँ र, प्रजातन्त्रवादी पनि हौँ ।

अहिलेको २१ औँ शताब्दीमा पुनः पुरातन सोचलाई मात्रै बोकेर अघि बढ्न सकिन्छ त ?
हामी पुरातन सोचलाई मात्र बोकेर अघि बढिरहेका छैनौँ । हामीले गणतन्त्रका पक्षमा बकैदा भोट हालेर अहिलेको बदलिँदो परिस्थितिलाई स्वीकार गरेर अगाडी बढेका छौँ । यो पार्टीले गणतन्त्रात्मक संविधान ल्याउन आफ्नो योगदान पुर्‍याएको छ । संविधान निर्माण, गणतन्त्र घोषणा गर्दासम्म नेपाली काँग्रेस, माओवादी, एमाले र राप्रपा मात्रै थिए । यी चार पार्टीले नै हो संविधान ल्याएको । यी चार पार्टीले मात्रै हो गणतन्त्र स्थापना गरेको ।

अहिले तपाईँ पार्टी एकीकरणमा पुरै लाग्नु भएको छ, यो अस्थायी होकी स्थायी रूपमा हो ?
मेरो पार्टीको तर्फबाट कार्यदलको संयोजक भएर एकता प्रक्रियालाई अगाडी बढाइरहँदा अबको एकता स्थायी हुनुपर्छ भनेर लागेको छु । विगतमा भएका कमीकमजोरीलाई हामी तीनै पक्षले आत्मआलोचना गर्दै अगाडी बढ्न जरुरी छ । कमलजीहरुकोबाट पनि एउटा कार्यदल बनेको छ । सम्भवतः हामी सँगै बसेर छलफल गर्छौँ । मलाई पूरा विश्वास छ कि अब हामी एक ठाउँमा उभिएर व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर, राष्ट्रका निम्ति, पार्टीका निम्ति एकताबद्ध हुन्छौँ ।

पार्टी एकताका लागि देखिएका चुनौतीहरू के के छन् ?
पार्टी एकतामा चुनौती भनेको कसले नेतृत्व गर्ने भन्ने मात्रै हो । यसलाई पनि हामी समायोजन गर्न सक्छौँ । दुनियाँमा कस्ता कस्ता कुरा त मिल्छन् भने, नेतृत्व कसले कसरी गर्ने कुरालाई सबै जना एउटै टेवलमा बसेर व्यक्तिगत टकरावलाई बिर्सेर सम्मानजनक ढङ्गले सबै नेताहरूलाई ठाउँ दिएर अगाडी बढ्नुपर्छ । यसका लागि म मेरो स्थानबाट प्रतिबद्ध छु ।

नेपाल धर्म निरपेक्ष भइसकेको अवस्थामा हिन्दु राष्ट्रको एजेन्डा बोकिरहनु भएको छ, यो नारामा मात्रै हो कि कार्यान्वयनको तहसम्म पनि पुग्छ ?
संविधान नै फेर्ने हो भने दुई तिहाइ चाहिन्छ । यदि हामीले दुई तिहाइ मत पायौँ भने कार्यान्वयन गरी हाल्छौँ । भएन भनेपनि हिन्दु राष्ट्रको एजेण्डालाई छोड्दैनौँ । आजको दिनमा हेर्ने हो भने धर्म परिवर्तन तीव्र गतिमा भइरहेको छ । केही विदेशीको स्वार्थमा हिन्दुधर्मको अस्तित्वलाई समाप्त पार्न अनेकन लोभ देखाएर धर्म परिवर्तन भइरहेको थियो । अहिले एनजिओ आइएनजिओहरुले धर्म प्रचार गर्न नपाउने भनेर वामपन्थी सरकारले नै बन्द गरिदियो । धर्मनिरपेक्ष हुनुपर्छ भन्ने वामपन्थी सरकार नै धर्मपरिवर्तनको विपक्षमा आइसकेको अवस्था छ । यसर्थ हिन्दुधर्म राष्ट्र घोषणा कार्यान्वयन भइरहेको हामीलाई आभास भएको छ ।

ठुला दलहरूले हिन्दु धर्मलाई त २०६२/६३ सालमा नै हटाइसके, तपाईँहरू अहिलेसम्म बोकेरै हिँड्नुभएको छ, पुनर्बहालीको सम्भावना छ ?
सबै दल मिलेर ल्याउने हो भने स्वतः पुनर्बहाली भइहाल्छ । दुईवटा राप्रपा एकीकरणपछि बिचमा केही सम्झौता गरेका थियौँ । हिजो पनि हामीले गणतन्त्रमा भोट हाल्यौँ, गणतन्त्रलाई स्वीकारेर अगाडि बढ्यौँ । त्यो समयमा पनि हामीले हिन्दु धर्म हुनुपर्छ भनेर भनेकै थियौँ । अहिले पनि परापूर्वकालदेखि चलिआएको हाम्रो परम्परा, हाम्रो इतिहासलाई मेट्न हुँदैन भनिरहेकै छौँ । लुकाएर राजनीति हुने कुरै भएन तर, धर्म परिवर्तन कति डरलाग्दो रूपमा भएको छ भनेर यही सरकारले भनिसकेको छ । धर्म परिवर्तन गराउने एनजिओ आइएनजिओलाई यही सरकारले ‘अब खारेज गर्छौँ’ भनेर भनेकै छ । सबै धर्मनिरपेक्षमा रहेका दुई तिहाइ पार्टीले धर्म परिवर्तन रोक्नुपर्छ भनेर भनिरहेकै छन् । यस कारण जनताले चाहेमा, पार्टीहरूले चाहेमा हिन्दुधर्म पुर्नस्थापना नहुने कुरा हैन ।

कसको कारणले धर्म परिवर्तन भइरहेको छ रु फाइदा कसलाई हुन्छ ?
यो विषयमा त वामपन्थी सरकारलाई नै सोध्दा बेस हुन्छ । हामीले पहिलेदेखि नै भनिरहेका छौँ, देशमा अशिक्षा, गरिबीका कारणले धर्म परिवर्तन भइरहेका छन् । युरोपियन युनियन, डलरको खेती गर्नेहरुले धर्मपरिवर्तन गराइरहेका छन् । हजारौँ वर्षदेखि चलिआएको सम्पूर्ण जातजातिको समन्वयलाई छिया छिया बनाएको छ धर्म परिवर्तनले । परापूर्वकालदेखि मिली आएको नेपाली समाजलाई धर्मका नाममा विखण्डन गर्नु जायज छ त रु यो सरासर गलत हो, यसले अरूलाई होइन, नेपालीलाई नै बेफाइदा हुन्छ । धर्म व्यक्तिगत स्वतन्त्रता भए पनि यसको परिवर्तनले धार्मिक लडाइँ सिर्जना हुन्छ र, देश विखण्डनको बाटोतर्फ मोडिन्छ । धर्म निरपेक्षता नेपालीको माग थिएन । अरू देशमा भन्दापनि नेपालमा तीव्र रूपमा धर्म परिवर्तनको बिगबिगी छ ।

अबको राप्रपाको कार्यदिशा के हुन्छ ?
अबको राप्रपाको कार्यदिशा भनेको तीन वटै पार्टी एकीकृत हुने, सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी सोच भएका व्यक्तिहरूलाई एक ठाउँमा ल्याउने, परम्परालाई मान्ने शक्तिलाई एक ठाउँमा ल्याउने र एउटा वैकल्पिक, प्रजातान्त्रिक, राष्ट्रवादी शक्तिको निर्माण गर्ने । त्यसपछि जनतालाई वैकल्पिक शक्तिको विश्वास दिलाउने यसको मुख्य कार्य दिशा रहेको छ ।

वैकल्पिक, प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको निर्माण गर्ने सामर्थ्य छ, पार्टी नेतृत्वमा ?
हामी जनता समक्ष आफ्नो गल्ती सहर्ष स्वीकार गर्नेछौँ, यसमा दुइमत छैन । मैँले मात्र होइन सिङ्गो पार्टीले नै गल्ती स्वीकार गर्नेछ । जनता समक्ष विगतका गल्ती सच्याएर अघि बढ्नका लागि नै हामीले पार्टी एकता गर्न लागेका हौँ ।

राप्रपा पुनर्जीवित भएर आउँछ भन्ने कुरामा अब जनता ढुक्क भए हुन्छ ?
जनताले त हिजो पनि माया गरेकै हुन् नि, त्यही भएर हामीप्रति जनताको रिस पनि धेरै छ । हामीसँग जनमत त थियो तर, सङ्गठित भएर अघि बढ्न सकेनौँ । अब जनताको अगाडी क्षमा माग्दै अघि बढ्नुको विकल्प छैन र, पुनः हामीलाई जनताले पत्याउने छन् भन्ने कुरामा म विश्वस्त छु ।

कहिले सम्ममा एकता अघि बढ्छ त ?
भर्खरै कमिटी बन्यो, दुवै तर्फबाट वार्ता कमिटी बनेका छन्, सबैकुरा सहज रूपमा भयो, सबैले आ–आफ्ना व्यक्तिगत स्वार्थ त्यागे भने, असारभित्रमा पार्टी एकता हुन सक्छ ।

मकालु खबरका केशव सापकोटाले गरेको कुराकानी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...