केके छ ट्रम्प र किमबीच भएको सहमतिपत्रमा ? हेर्नुस् सहमतिपत्र

Tramp kim

काठमाडौं । निक्कै चासोका साथ हेरिएको अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीचको भेटवार्तामा ४ बुँदे सहमति भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंगापुरमा भइरहेको ऐतिहासिक भेटवार्ताले पुरै विश्वको ध्यान तानेको बेला दुई देशबीच ४ बुँदे सहमति भएको हो ।

प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निरस्त्रीकरण गर्न प्रतिबद्ध तुल्याउने सो सहमति पत्रमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेका छन् ।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताए । आफूहरुबीच विशेष सम्बन्ध बनेको पनि उनको भनाइ छ ।

सो सहमति पत्रमा हस्ताक्षर गर्दै उत्तर कोरियाली नेता किमले आफूहरू विगतलाई पछाडि छाड्न सहमत भएको बताए ।

अमेरिकाका राष्ट्रपति ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने छन् । उनी बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

यस्तो छ सहमतिपत्र
१) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।

२) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायस्द्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउनेछन् ।

३) सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायः द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

४) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँछन् ।

प्रतिकृया दिनुहोस