भेनेजुएलाका राष्ट्रपतिमा पुनः मादुरो

Maduro

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अर्को छ वर्षका लागि पुनःनिर्वाचित भएका छन् ।विपक्षी दलले बहिष्कार गरेको तथा धाँधली भएको आरोप लागेको निर्वाचनमार्फत् वर्तमान राष्ट्रपति मादुरो पुनः निर्वाचित भएको बताइएको छ ।

भेनेजुएलाको राष्ट्रिय इलेक्ट्रोल काउन्सिल (सिएनई)ले निर्वाचनमा ४६ प्रतिशत मतदान भएको बताए पनि विपक्षीले भने त्योभन्दा कम मद खसेको जिकिर गरेका छन्।

मतदान सकिएसँगै भेनेजुएलाका प्रमुख प्रतिपक्षी उम्मेद्वार हेन्री फाल्कनले मतपरिणाम अस्वीकार गर्दैै नयाँ निर्वाचनको माग गरेका थिए ।‘हामी यो निर्वाचन प्रक्रियालाई आधिकारिकताको मान्यता दिँदैनौं । हामी भेनेजुएलामा नयाँ निर्वाचन चाहन्छौं,’ प्रमुख प्रतिपक्षी उम्मेद्वार फाल्कनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

निर्वाचनमा खसेको ९० प्रतिशतभन्दा बढी मतगणना सकिँदा वर्तमान राष्ट्रपति मादुरो एक्लैले ६७.७ प्रतिशत मत प्राप्त गरेको भेनेजुएली निर्वाचन कार्यालय सिएनईलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ९० प्रतिशत मत गणना हुँदासम्म मादुरोले ५८ लाख मत प्राप्त गरेको बताइएको छ । सिएनईका प्रमुख तिबिसे लुसेनाले घोषणा गरेअनुसार प्रमुख प्रतिपक्षी उम्मेद्वार फाल्कनले भने केबल २१.२ प्रतिशत अर्थात् १८ लाख मत प्राप्त गरेका छन् । भेनेजुएलाको प्रमुख प्रतिपक्षी गठबन्धनले निर्वाचनको बहिष्कार गरेसँगै वर्तमान राष्ट्रपति मादुरोले सहजै जित निकाल्ने पूर्वानुमान गरिएको थियो । कतिपय निर्वाचन पर्यवेक्षक भने कति प्रतिशत भेनेजुएली नागरिकले मतदान बहिष्कार गर्छन् भन्ने विषयलाई नियालिरहेका थिए।

भेनेजुएलाको प्रमुख निर्वाचन कार्यालय सिएनईका अनुसार यस निर्वाचनमा सन् २०१३ को भन्दा कम टर्नआउट हुने छ । प्रमुख प्रतिपक्षीले भने सिएनईले तथ्याङ्क तोडमोड गरेको आरोप लगाएको छ । उसका अनुसार केबल ३० प्रतिशत मतदाताले मात्रै राष्ट्रपतीय निर्वाचनमा मतदान गरेका छन् । सिएनआईका स्रोतले समाचार एजेन्सी रोयटर्सलाई जनाएअनुसार ३२.३ प्रतिशत मात्रै मतदान भएको छ ।

भेनेजुएलाको संविधानअनुसार निर्वाचन गराउन र त्यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि सिएनई त्यहाँको आधिकारिक स्वतन्त्र तथा जिम्मेवार निकाय हो । सिएनआईमा पाँच जना सदस्य हुन्छन् । पाँच सदस्यमध्ये चार जना सत्तापक्षीय सदस्य भएको विपक्षीले आरोप लगाउँदै आएका छन् । त्यसैले उनीहरुले निर्वाचन कार्यालयको विवरणलाई विश्वास गर्न नसकिने दाबी पेश गरिरहेका छन् ।सिएनईका सदस्य एवं सरकारका आलोचक लुइ एमिलियो रोन्डनले आफूले निर्वाचनको परिणामलाई मान्यता नदिने बताएका छन् । उनले भेनेजुएली नागरिकले मतदान गर्न पाउने स्वतन्त्रताको राम्रोसँग प्रयोग गर्न नपाएको भन्दै निर्वाचनको मत परिणामलाई मान्यता नदिने बताएका हुन् ।

निर्वाचनको मत परिणामलाई लिएर मादुरो समर्थक भने प्रफुल्लित रहेको बिबिसीले उल्लेख गरेको छ । ५५ वर्षीय मादुरोका समर्थकले राजधानी कराकसस्थित राष्ट्रपति भवन बाहिर भेला भएर ‘क्रान्ति अझै यही रहेको’ भन्ने नारा लगाएको बिबिसीले जनाएको छ । उनका समर्थकहरुले ‘अघि बढ निकोलस !’ जस्ता नारा लगाउँदै आतासबाजीसमेत गरेका छन् । आफ्नो जितले फाल्कन गलत साबित भएको जितपछि मादुरोले बताएका छन् । समर्थकसामु मादुरोले विपक्षीले आफूलाई एक्लै सरकार सञ्चालन गर्न दिनु पर्ने बताउँदै उनीहरुलाई वार्तामा आउनसमेत आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । यसअघि पनि राष्ट्रपति मादुरोले वार्ताका लागि विपक्षीसमक्ष गरेको आग्रह असफल भएको थियो।

विपक्षी दलले निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने निर्वाचन अघि नै बताएका थिए । उनीहरुले केही विपक्षी नेतालाई निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिएको, केहीलाई जेलमा हालिएको र केही देशबाट निकालिएको अवस्थाको फाइदा मादुरोले लिने आरोप लगाउँदै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । यसअघि आउँदो डिसेम्बर महिनाको लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन मे महिनामा नै गर्न आट्नुले पनि सरकारी नियत निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा हुन नदिने रहेको विपक्षीले आरोप लगाएका थिए ।

विपक्षी गठबन्धनले निर्वाचन बहिष्कार गरे पनि मादुरोको विकल्पमा भेनेजुएली जनताले मतदान गर्न पाउनुपर्ने भन्दै फाल्कन भने राष्ट्रपतीय निर्वाचनमा होमिएका थिए । निर्वाचनमा होमिसकेपछि भने उनले समेत निर्वाचन मादुरोको पक्षमा गराइएको र धाँधली भएको आरोप लगाएका छन् । उनले मतदातालाई प्रभावित पार्न मादुरो सरकारले राज्यले जारी गरेको फाइदा कार्डमार्फत् खानामा पहुँच दिएर त्यसको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले पुनः निर्वाचनको मागसमेत गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस