कुलमानको घोषणा : आजबाट मुलुक लोडसेडिङमुक्त

Kulan ghising 11

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए ।

प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक ग्राहकका हकमा दैनिक तीन घण्टा आपूर्ति कटौति गर्दै आएको थियो ।

गत चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले लोडसेडिङमुक्त तुल्याउन सकिनुका कारणमा खोलामा पानीको बहाव बृद्धि भएकाले नदी प्रवाही (गैरजलाशययुक्त) विद्युत् गृहबाट उत्पादन बढोत्तरी भएको, पिकिङ (अर्धजलाशयुक्त विद्युत्गृह) को कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात उल्लेख गरेको छ । अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले बताए ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण/वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय–समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

अधिकारीले बिहान र बेलुकाको पिक (अत्यधिक बिजुली खपत हुने समय) मा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।
देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ । अभैm पनि ४० प्रतिशत जनसंख्या स्थायी लोडसेडिङमा छन् ।

प्रतिकृया दिनुहोस