३३ किलो सुनकाण्ड : अदालतमा पेस गरेको भिडियो अभियुक्तका वकिलले देखाउनै दिएनन्

Adalat

काठमाडौं । सांढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रमाणका रुपमा इजलास सामु पेस गरिएको भिडियो वकिलहरुले होहल्ला गरी देखाउन दिएनन् ।

जिल्ला अदालत, मोरङमा न्यायाधीश नारायण शर्माको इजलासमा शुक्रबार चलेको थुनछेक बहसका क्रममा सरकारी वकिलले अनुमति मागेर भिडियो देखाउन खोजेका थिए । अभियुक्त पक्षका कानुन व्यवसायीहरूले होहल्ला गरेपछि इजलासमा देखाउन थालिएको भिडियो बीचमै रोकिएको छ । भिडियोमा ३३ किलो सुन पत्ता लगाउन चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सहयोगी र भरियालाई दिएको यातनाका दृष्य छन् । उनले सहयोगी र भरियालाई होटेलका कोठा र जंगलमा यातना दिएका थिए ।

त्यस्तै, सनम शाक्यलाई करेन्ट लगाइएको थियो । यातना दिने क्रममा संगठित अपराधमा संलग्न प्रहरी र कारोबारीको नाम उच्चारण गरेका छन् । सुन तस्करीमा संलग्न भुजुङ गुरुङले भरियाहरूलाई हप्काएको विषयमा पनि भिडियोमा छ, जुन अनुसन्धान समितिसँग अभियुक्तहरूले भनेका कुरा भिडियोमा देखिएको सरकारी वकिलले बताएका छन् ।

इजलासमा भिडियो देखाउन सुरु गर्नासाथ प्रतिवादी पक्षका वकिल उद्धवचन्द्र घिमिरेले विरोध जनाए । अदालतबाट गलत अभ्यास भएको र त्यसले नकारात्मक प्रभाव पार्ने उनको जिकिर थियो । त्यसपछि वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले होहल्ला गर्न थाले । उनीहरूको होहल्लापछि ४ मिनेट देखाइएको भिडियो रोकियो । र, लगत्तै न्यायाधीश शर्माले इजलास स्थगित गरे ।

आइतबारदेखि प्रतिवादी पक्षको बहस
दुई दिन सरकारी पक्षका वकिलले बहस गरे । आइतबारदेखि प्रतिवादी पक्षका वकिलले बहस गर्नेछन् । मोरङ अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार, प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या ८० पुगेको छ । पछिल्लोपटक बहसका लागि नाम दर्ता गराउनेमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, सुशील पन्त, अधिवक्ताहरू उद्धव रेग्मी, मनीषा बस्नेत, रमिता महर्जन, कल्पना धमलालगायत छन् । त्यस्तै, झापाका अधिवक्ता अशोक पोखरेल, सुनसरीका मोहन कोइराला, मोरङका अधिवक्ताहरू हेमराज पन्त, पुरुषोत्तम नेपाल, उद्धवचन्द्र घिमिरेलगायत छन् ।

तेस्रो मुलुकबाट तस्करी भएर आएको साढे ३३ केजी सुन गायब भएपछि खोज्ने क्रममा यातना दिँदा मोरङ उर्लाबारी–७ का सनम शाक्यको गत १८ फागुनमा मृत्यु भएको थियो । त्यसपछि गृह मन्त्रालयले विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो । जसमा ६३ जनाविरुद्ध संगठित अपराध, मानव अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान अपराधमा मोरङ जिल्ला अदालतमा १९ वैशाखमा मुद्दा दर्ता गरिएको थियो । मुद्दामा सन् २०१५ जुलाईदेखि १६ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन तस्करी भएको र सोहीअनुसार बिगो दाबी गरिएको छ ।

यसमा आठ प्रहरीसहित ३० जना पक्राउ परेका छन् भने ३३ जना फरार छन् । मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्री पनि फरारकै सूचीमा छन् ।

 

प्रतिकृया दिनुहोस