भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

Bheri babai diversion andolan

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो ।

विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

आयोजना निर्माण गर्दा अतिप्रभावितस्थल भेरीगंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन रुपमा शुद्ध खानेपानी योजना निर्माण गर्नुपर्ने सहमति हालसम्म कार्यान्वयन नभएको सरोकार समितिको आरोप छ ।

यस्तै, विद्युत, सिँचाइ लिफ्टिङ्गको दीर्घकालिन समाधान गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रको जनता प्रावि र सरस्वति प्राविमा ध्वनि तथा वायु प्रदुषणरहित पर्खाल व्यवस्थापन गर्नुपर्ने माग सरोकार समितिले राखेको छ ।

हात्तिखाल र गेरुवानीअन्तर्गत पर्ने मुल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकताअनुसार कल्भर्ड तथा ह्युम पाइप तत्काल व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा दीर्घकालिन तटबन्धनको तत्काल व्यवस्था गर्ने सहमति भएपनि हाल कुनै काम नगरेकाले आयोजनाले विगतमा भएका सम्झौताहरु कार्यान्वयमा आफुहरु विश्वस्त नभएको प्रभावितहरुको भनाइ छ ।

प्रभावितक्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने स्थानीयबासीका लागि उपयोगी सीपमुलक, कृषि तथा पशुपालन, स्वरोजगारमुलक तालिम सञ्चालन गर्न स्थानीय समुदायको माग छ ।

यस्तै, खेलमैदान र वनभोज पार्क निर्माण गर्नुपर्ने पनि माग गरिएको छ । विभिन्न बाहानामा आयोजना तथा चिनिया कम्पनीबाट निकालिएका दक्ष–अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारको रोहवरमा सहमति गरि तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ ।

उनीहरुले काम गरिहेका कामदारलाई रोजगारीबाट निकालिएकोमा आपत्ति जनाउँदै पुनः काम दिन माग पनि गरेका छन् । यस्तै, कामदार तथा श्रमिकहरुको मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलव्ध गराउनुपर्ने माग मजदुरहरुका छन् ।

यता आयोजनाका निर्देशक शिवकुमार बस्नेतले असन्तुष्ट पक्षका मागहरु पहिले नै पुरा भइसकेको बताउँदै केही माग कार्यान्वयन भइरहेको अवस्थामा आयोजनालाई प्रभावित गर्न तालाबन्दी गरिएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस