सुन्दरी प्रतियोगिता अर्थात् अभौतिक महिला हिंसा, बजार भन्छ– ‘तु चीज बडी हे मस्त मस्त!’

Bandana - वन्दना ढकाल

गोरो अनुहार, उचालिएको वक्ष, ख्याप्प टाँसिएको पेट, नापो पुगेको उचाइ, जोख्दा ठिक्कको तौल, एकै किसिमको बोली, कम्मर लच्काउने हिँडाइ (क्याटवाक), हाँस्दा खित्का छाड्ने वा मुख बाउने होइन ठिक्क हाँस्नु पर्ने, लाली पोतिएका ओठ, टाँसेका परेला, दुई चार वटा रटेका प्रश्नका उत्तर। यिनै फम्र्याटमा तयार पारेर ल्याइएका बीस/बाइस थान प्रतियोगीको मञ्चीय प्रदर्शनबाट एक ‘मिस नेपाल’।

भन्न त मिस नेपाल वा यस्ता मिस नेपालजस्ता प्रतियोगितालाई युवा महिलाको प्रतिभा र क्षमता प्रष्फुटन गर्ने माध्यम नै भनिन्छ। यस्तो प्रतियोगिताबाट छानिएकाहरुलाई समाजकै नेतृत्वकर्ता हुन् झैँ गरेर प्रचार पनि गरिन्छ। मिडियाबाजी यसरी हुन्छ, मानौँ हाम्रो दुःखी देश यिनैले बदल्छन्, दुःख पाइरहेका यो देशका दिदीबहिनीलाई यिनैले मुक्ति दिन्छन्।
प्रश्न उठ्छ– के महिलाको प्रतीभा भनेको त्यही फम्र्याटमा फिट हुनु हो त? के यही मेसिनबाट निस्केका युवतीले नै समाज बदल्छन्? महिलालाई त्यही फम्र्याटमा किन ढाल्न खोजिएको हो?

हाम्रो देशका नामी महिलामध्ये केही हुन्ः शारीरिक रुपमा बोल्न, हिँड्न नसक्ने तर साहित्यका क्षेत्रमा चर्चित झमक घिमिरे, अन्तर्राष्ट्रिय रुपमा चिनिएकी अल्ट्रा धावक मीरा राई, बच्चा पेटमा हुँदासमेत सेनाबाट बच्न भीरपाखामा दगुर्दै संघर्ष गर्ने (हालकी सभामुख) ओनसरी घर्ती, झिना हात र कुँजिएको शरीर तर लेखन र संगठनद्वारा पञ्चायतलाई चुनौती दिने सशक्त साहित्यकार पारिजात आदि। यस प्रकारका नामको सूची अझै बढाउन सकिन्छ। र, सोच्न सकिन्छ– झमक, ओनसरी, पारिजात, मीरा सुन्दर छैनन् वा होइनन्? यिनीहरु र ‘मिस नेपाल’ बनाइएर क्याटवाक हिँड्नेहरुबीच सुन्दरता छुट्याउने कसी के हो? सुन्दरी प्रतियोगिताबारे सोच्नेका मनमा डाम्ने प्रश्न हो यो।

सौन्दर्यको कसरी मापन हुन्छ? सौन्दर्य आफैमा बेठीक चिज होइन तर यसको व्याख्या गर्ने जिम्मा वा ठेक्का कसले लिएको छ भन्ने कुराले परिभाषा निर्धारण हुन्छ। अहिलेको बजारव्यवस्थाअनुसार कलिला युवतीहरुको कामोत्तेजक तर कमजोर शरीर, निर्देशित दिमाग र एकै ढर्राको सोच्ने तरिका तयार पारेर शासकीय स्वभावको पुरुष समाज आकर्षित गर्न सक्ने क्षमता नै सौन्दर्य हो। यो परिभाषा शासकीय पुँजीवादी मानसिकता हो, जसले महिलालाई वस्तु मात्रै ठान्छ र महिलामाथि आफ्नो उपभोगको हक लाग्ने ठान्छ। यो व्यवस्थाले महिलालाई आफ्ना कारखानामा उत्पादन भएका माल बिकाउनका लागि प्रयोग गर्दछ। अर्को शब्दमा भन्ने हो भने पुँजीवादले जतिसक्दो कलिला युवतीको मासु व्यापार गर्छ र भन्छ, ‘तिम्रा दाँत सुन्दर, आँखा सुन्दर, आहा तिम्रा छाती, नितम्ब, तिघ्रा सुन्दर। तिमी त संसारकै सुन्दरी।’

बजारले आफ्नो माल बिकाउने माध्यम बनाएर महिला अस्मिताको खरिदबिक्री गरिरहेको छ। हामी त्यस्तो समाजमा छौँ, जहाँ प्रत्येक दिन कल्लीकुमारी विकहरु बोक्सीको नाममा मलमुत्र खान बाध्य छन्, आठदश वर्षका बालिका बलात्कृत भएर हत्या गरी खोलामा फालिन्छन्। हामी त्यस्तो सहरमा छौँ, जहाँ प्रत्येक दिन बाध्यतावश सयौँ महिला शरीर बेच्ने उद्यमबाट पेट र परिवार पालिरहेका छन्। हजारौँ, लाखौँ महिलाहरु आर्थिक, सांस्कृतिक, सामाजिक रुपमा पीडित छन्। बलात्कार, हत्या, अपमानका अनेक हिंसाबीच अर्को थप हिंसाका रुपमा दिनानुदिन सुन्दरी प्रतियोगिता मौलाइरहेको छ। मिस नेपाल नामका अनेक खाले सुन्दरी प्रतियोगिताहरु महिला हिंसाकै अर्को रुप हो। यो अभौतिक सांस्कृतिक हिंसा हो, जसले महिलालाई कामुक, यौनउत्तेजक वस्तु बनाउन प्रेरित गर्दै सारमा महिलालाई शरीरको बन्धक बनाएर पितृसत्तात्मक दुनियाँकै दास बनाइराख्छ। जबजब टिभी, रेडियो, मनोरञ्जन क्षेत्रलगायत सञ्चारका विभिन्न माध्यममा महिला शरीरलाई केस्रा केस्रा छोडाइन्छ, महिलाका प्रत्येक अंगलाई बेच्नका लागि नंग्याइन्छ, तब कुनै पनि सचेत महिला हिंसाको शिकारमा परेको महसुस गर्छन्।

टेलिभिजन विज्ञापनको एउटा उदाहरण हेरौँ ः जहाँ एउटा बहुराष्ट्रिय पेय (कोकाकोला)को विज्ञापनमा महिलाको शरीरलाई त्यसैको उत्पादनको जम्बो बोतलसँग तुलना गरिन्छ, तब महिलाको अस्मिताको धज्जी उडाइएको हुन्छ। एक हुल ठिटाहरु १८÷२० की युवतीलाई मिनी साइजको (कोक) बोतल र वयस्क महिलालाई एउटा जम्बो भाँडोसँग तुलना गर्छन्। यसैबाट स्पष्ट हुन्छ, पुँजीवाद र पुरुषप्रधान समाज महिलालाई छोपेर वा नंग्याएर वा लालीपाउडर घसेर जसरी भए पनि उसको शरीरलाई भोग्य वस्तुका रुपमा मात्रै राख्न चाहन्छ।

सञ्चारमाध्यममा महिलाको छवि कस्तो आउनु पर्छ वा हुनुपर्छ भन्नेबारे बेला बेलामा गोष्ठी, सेमिनार र छलफल हुने गरेको छन्। त्यहाँबाट पारित हुने एक मात्रै कुरो हो महिलाको छविलाई ‘बदल्नुपर्छ’। तर माल वा मोडलका रुपमा प्रस्तुत गरिएको यस्ता महिलाका विषयमा भने कमै मात्र चर्चा हुन्छ किनकी कतिपयले त्यस्तै केस्रा केस्रा केलाएर बेच्न राखिएको महिलाको अस्मितालाई एक तह माथिको ‘सशक्तिकरण’ ठान्दछन्। उनीहरु सामाजिक संरचनामा खरावीमा देख्ने होइन कि त्यसका पूर्जामा खिया देख्छन्। जब मेशिन नै खराब छ भने त्यसबाट उत्पादन हुने चीज के गतिलो हुन्छ? अनि भन्छन्– छवि सशक्त आएन। जब समाजले महिलालाई मान्छे नै मान्दैन र वस्तु मात्रै ठान्छ भने सशक्त र अशक्त छविको कुरै आउँदैन।

सुन्दरी प्रतियोगिता बजारमा माल बेच्नका लागि केही थान पुतलीहरु तयार पार्ने उपक्रम हो। यसलाई शासकीय पुरुषहरुको मनोरञ्जनका निम्ति दिल बहलाउने पुतली निर्माणको वार्षिक कार्यक्रम पनि भन्न सकिन्छ।

म सानो छँदा घरमा सुन्दरी प्रतियोगिताबारेमा विभिन्न छलफल, बैठक र बहसहरु हुन्थे। बा (घनश्याम ढकाल)ले सुन्दरी प्रतियोगितालाई सांस्कृतिक अतिक्रमणका रुपमा आएको महिलाविरोधी कार्यक्रम भन्नहुन्थ्यो। अलि ठूलो भएपछि आमाको साथ लागेर सुन्दरी प्रतियोगिताविरुद्धको कार्यक्रममा भाग लिन म पनि जान्थेँ। यता पोखराको सभागृह गेटमा उफ्रीउफ्री मिस पोखराविरुद्ध हामी नारा लगाउँथ्यौँ, पुलिसले लाठी चार्ज गर्दै हामीलाई तितरबितर पार्न सुरु गथ्र्यौँ। खराब चीजको विरोध गर्दा किन लखेट्छ हामीलाई भन्ने लाग्थ्यो। तर ऊ पनि त त्यही पुरुष संरचनाको हतियारबन्द पूर्जा न हो, जसलाई पुरुष शासनको सरकारले निर्देशन दिइरहेको छ। विरोध गर्दा वित्तिकै लाग्थ्यो मलाई – मिस पोखरा प्रतियोगिता हुँदैन, बन्द हुन्छ। तर यता हामी सभागृहको गेटमा नारा लाउँदै उफ्रिरह्यौँ, हलभित्र मिस पोखरा चयन जारी नै रह्यो। १२÷१५ जनामा ‘सुन्दरी’ छानिइन्। माओवादी जनयुद्ध चलिरहँदा अनेमसंघ क्रान्तिकारी यसको जमेर विरोध गथ्र्यो। यता विरोध हुन्थ्यो, उता भिटामिन छर्केसरी सुन्दरी प्रतियोगिता फस्टाइरहेको पाइन्थ्यो।

त्यहाँदेखि अहिलेसम्म मिस पोखरा, मिस नेपालजस्ता प्रतियोगिता अञ्चल, जिल्ला, नगर, टोललगायत विभिन्न समुदायमा फैलिएको छ। यो प्रतिस्पर्धा स्कुल स्कुलमा हुन थालेको छ भने अहिले त कोठास्तरीय पनि सुन्दरी प्रतियोगिता हुन्छ। यो सामान्य लगानीले यसै हर्लक्क बढेको व्यवसाय भने पटक्कै होइन। यसमा सबै सबै खालमा व्यापारी र पुँजीपतिका साथै त्यसबाट विज्ञापन पाउने उद्देश्यले सञ्चार क्षेत्रको संलग्नताले नै विघ्नै मौलाएको हो। सीमित युवतीलाई आयोजकको नियमानुसार हिँड्न, बोल्न र खान ‘सिकाएर’ ‘सुन्दरी’ छान्ने अभियानमा ठूला ठूला बहुराष्ट्रिय कम्पनी, व्यापारी र बजारको रुचिले महिलालाई वस्तुकरण गर्ने कार्यले विस्तार पाएको हो। आजकल त ‘सुन्दरी’को विष प्राथमिक तह पढ्ने साना नानीहरुमा समेत बढिरहेको छ।

नत्र नेपाली समाजमा महिला समूहले अचार बनाउने तालिम एक वर्ष सञ्चालन ग¥यो भने अर्को वर्ष सञ्चालन गर्नलाई मादल बजाउँदै चन्दा उठाउन हिँड्न पर्छ। किनकि यो अचार यात्रा आत्मनिर्भरको प्रक्रिया हो भने सुन्दरी प्रतियोगिता मदारीको इशारामा नाच्ने प्रतियोगिता हो। त्यसकारण यहाँ आत्मनिर्भरलाई पछार्दै परनिर्भरलाई धुरी चढाइन्छ र बाहिर चमकधमक सहित परनिर्भरतालाई नै आत्मनिर्भर बन्ने नाम दिएर कलिला युवतीहरुको मष्तिस्कमा सुन्दरताको लाली घसिन्छ।

मूलतः यो महिलालाई वस्तुकरण गर्ने उपक्रम नै हो। सौन्दर्य प्रसाधन र विलासिताका वस्तुलाई अधिकाअधिक खपत गराउनका लागि मोडल तयार पार्ने नाटकको नाम हो सुन्दरी प्रतियोगिता र महिला शरीरको उपयोग गरेर आफ्ना उत्पादनहरु बिकाउने मेलो हो। तीब्र प्रतिस्पर्धाको समयमा उत्पादित वस्तुहरुको व्यापार बढाउनका लागि ल्याइएको अस्त्र हो तर यसलाई पुँजीवादले ठाडो विरोध गर्दै महिलाको सशक्तिकरण गर्न ल्याइएको उद्दारात्मक काम हो भन्छ। जसले महिलाभित्र लुकेर बसेको क्षमताको महिलाले प्रदर्शन गर्न पाउँछन्।

क्षमता, बुद्धि, अद्वितीय रुप आदि आदि आयोजकले भनेका आधारमा प्रत्येक वर्ष सुन्दरी छानिन्छन् र बार्षिक सुन्दरीको मूल उद्देश्य भनेको तथाकथित समाज सेवा हुन्छ। प्रजातन्त्रको बहालीपछि नेपालमा सुरु भएको यो प्रतियोगिताका सुन्दरीहरुले समाजसेवा कत्तिको गरे त? यो त झल्झलाकार उज्यालोमा खोज्दा पनि भेटाउन गाह्रो परेको छ। उनीहरुको समाजसेवा एक वर्षको कुनै दिन वृद्धाश्रम, अनाथ शिविरमा गएर उसले जागिर खाएको कम्पनीले भनेको पोज दिँदै क्यामेराका अगाडि विस्कुट बाँड्ने रहेछ। त्यो पोजमा पनि विस्कुटको नाम प्रस्ट क्यामेरामा आउने गरी हो। एक वर्षपछि त उनीहरुको ‘समाजसेवा’ पूर्ण विराम पो लाग्छ। मूल उद्देश्य त प्रायोजित कम्पनीका उत्पादन विकाउनु नै हो। त्यसैलाई बजारले ‘सुन्दर’ घोषित गरिदिन्छ।

महिलाको नेतृत्व, क्षमता, सार्वजनिक छवि र आत्मविश्वास बढाउन सुन्दरी प्रतियोगिता हुनु पर्ने दलील पनि पेश गर्ने एकथरि छन्। साथै नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर नेपाललाई चिनाएको दाबी गर्छन्। कलिला युवतीको शरीरको नंग्याउँदै, छोडाउँदै नेपाललाई चिनाउनु पर्ने हो भने यसरी चिनिनुमा सबै नेपालीलाई लाज लाग्छ। विकसित देशहरु आविश्कार, हतियार, अद्भूत वस्तु निर्माण, विशालकाय संरचना, विश्व चर्चित पुस्तक, विचारक अगाडि सारेर चिनिइरहेको भने नेपाली बजारका ठेकेदार चाहिँ नवयौवना युवतीको शरीर सुन्तलाका केस्रासरी छोडाएर प्लेटमा प्रदर्शन गरेर नेपाललाई विश्वमाझ चिनाउने दाबी गर्छ।

जुन देश भौगोलिक र सांस्कृतिक विविधताको धनी छ, त्यही देशका पुँजीपतिहरु यस्तो विविधतालाई कुरुप करार दिँदै विदेशी मापदण्डको कुइरा, खैरा, गोरो छालालाई सुन्दर भनेर प्रमाणित गर्न लिट्टी कसेर लागेको छ। मौलिक सौन्दर्य, श्रम र मिहेनतलाई बेकामे बनाएर पश्चिमा खोक्रो र इतिहास विनाको प्लाष्टिक सुन्दरतालाई स्थापित गराउन बजार लागिरहेको छ, त्यसैको शिकार महिला बनिरहेका छन्। यस्ता खालका प्रतिस्पर्धाले स्थानीय सौन्दर्यलाई घृणा गरी पश्चिमा अर्थात् बहुराष्ट्रिय कम्पनीहरुले बनाएको मापदण्डको सौन्दर्यलाई जबरजस्ती लादिरहेका छन्।

हावापानी जस्तो छ, त्यस्तै खालको शारीरिक संचरना र रुपरंग, सुन्दरता निर्माण हुन्छ। स्थानीय पर्यावरण अनुसार नै मानिसको रंग, रुप, स्वरुप विकास हुन्छ। तर यहाँ पुँजीवाद तराईलाई कालो र असुन्दरको प्रतीक मान्छ, मोटो हुनुलाई भद्दा ठान्छ, होचो हुनु कमजोरी ठान्छ र उसैका अनुसार कालोका विरुद्ध गोरोको युद्ध छेड्छ, मोटोलाई थलथले करार दिँदै हीन भावना पैदा गरिदिन्छ। पुँजीवादको गोरो ‘सुन्दरता’ अविकसित मुलुकहरुमा मनोवैज्ञानिक शासन गर्नका लागि ल्याइएको हतियार हो।

बजार विस्तार गर्ननिम्ति कुमारी स्थान (Virgin Place) का रुपमा बहुराष्ट्रिय कम्पनीहरुले ‘सुन्दरता’को कुटिल अस्त्र तेस्रो मुलुकमा भरपूर प्रयोग गरिरहेका छन्। महिलालाई रुपको पुतली बनाउँदै दास नै बनाइराख्न यो अवधारणा ल्याइएको हो। बजारले निर्माण गरेको ‘सुन्दर’ महिलाको वास्तविक आन्तरिक क्षमतालाई नस्ट गरी लाली पाउडरको डिब्बामा कैद गर्न दत्तचित्त छ। यसले महिलाको आन्तरिक बौद्धिकताको कुनै कुरै गर्दैन। सुन्दर हुनका लागि पारिजातलाई सौन्दर्यप्रसाधन किन चाहिएन? अरुन्धती रोय आफ्ना अनुहारको चमकले होइन कि पुस्तकले भारत सरकारलाई आथ्थु आथ्थु पारिरहेकी छन्। किन मञ्जुश्री थापाको किताब व्यग्रताका साथ प्रतीक्षा हुन्छ? जनयुद्ध कालमा गोरखाको जेलबाट सुरुङ खनेर सारा संसारलाई चकित पार्ने उमा भुजेल, मीना मरहठ्ठा, कमला नहर्की, एन्जिला विकलगायतका महिला योद्धाहरु र अल्ट्रा धावक मीरा राई कुनै सौन्दर्य प्रतियोगितामा भाग लिएका थिएनन्। उनीहरु आन्तरिक क्षमताकै कारण चर्चित छन्।

गोरो हुनु पर्ने, अन्तर्राष्ट्रिय मापदण्डको उचाइ हुनु पर्ने, घाउ खत, कोतरेका दाग नहुनु पर्ने जस्ता नियममा पर्ने युवतीले मात्रै यस प्रतियोगितामा भाग लिन पाउने छन्। यसको अर्थ सोझो सोझो छ– श्रम नगर्ने, कुर्चीमा मात्रै बस्ने विशेष र उपयुक्त। खेत खलियान, कारखानामा पाखुरा चलाउने महिलाको छाला त घामले डढेको कालो, खस्रा र पटपटी फुटेका हात र शरीरमा घाउखत वा चोटपटक लाग्छ। त्यस्ता युवती वा महिला त अस्वीकृत नै हुन्छन्।

पुँजी बजारले निर्धारण गरेको सुन्दरी मापदण्ड नै श्रमलाई हेला गर्ने र सामानको उपभोगमा मात्रै रमाउन जोड दिने प्रतियोगिता हो। नेपालजस्तो मुलुकमा महिलाहरु अझै पनि घरबाहिर काम गर्ने वातावरण पर्याप्त मात्रामा बन्न सकेको छैन, त्यस्तो मुलुकमा सौन्दर्य प्रतियोगिता मोहनीमय बिजुलीमा लोभ्याएर युवतीहरुको दिमागलाई गुमराह बनाउने उद्यम मात्रै हो। उचाइ, मोटाइ, छाती, कम्मर, जाँघको नाप, छालाको रंगको आधारमा युवतीलाई ‘सुन्दर’ घोषित गरिनु भनेकै युवतीका मानसिकतामाथि शासन गर्नु हो। ताकि सोही बमोजिमका नाप, उचाई, मोटाइ, गोलाइ नभएका युवतीहरु ‘कुरुप वा अयोग्य’ बनाइनु नै हो त। सुन्दरी प्रतियोगिताको ‘अन्तर्राष्ट्रिय मापदण्ड’मा नपरेका ‘अयोग्य’ युवतीमा दास मनोवृत्ति विकास गरी बजारले तोकेको साधन उपयोग गर्न बाध्य बनाउने राजनीति हो।

विश्व बजारले महिलालाई वस्तुको रुपमा हेर्छ र सोही अनुसार एउटीलाई ‘राम्री’ र अरुलाई ‘नराम्री’ घोषित गर्छ। बजारको मूल रणनीति भनेकै बिना आधार एवं तर्क बजारका बस्तुमाथि आँखा चिम्लेर विश्वास गराएर माल बिकाउनु हो। त्यसैले बजार विस्तारको हतकण्डा अनुरुप नै यो सुन्दरी प्रतियोगिता सन्चालित छ।

र, बजार भन्छ– ‘तु चीज बडी हे मस्त मस्त!’ सेतोपाटीबाट

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

किन दिए वीपी प्रतिष्ठानका डेपुटी रजिष्ट्रारले राजीनामा ?

Dr. rauniyar

धरान । पछिल्लो समयमा संकटमा पर्दै आएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप संकट प...