उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि नीतिगत तथा व्यस्थापकीय सुधार अावश्यक

Yubaraj khatiwada

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकूल नीतिगत तथा व्यस्थापकीय सुधारका कार्य सरकारले तत्काल शुरु गर्ने बताएका छन् । 
संसद्को माथिल्लो सदन राष्ट्रियसभामा आज उनले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी दिँदै साधारण खर्चलाई मितव्ययी बनाउन मितव्ययितासम्बन्धी नीति जारी गरी कडाइका साथ पालना गरिने बताउँदै भने, “प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम राजश्व परिचालन गर्न र कार्यक्रम कार्यान्वयन गर्नका लागि सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिनेछ ।” 

डा खतिवडाले पूँजी परिचालन उचित रुपमा हुन नसकेको जानकारी गराउँदै ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण हुन नसकेको र उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रम बढी देखिएको स्पष्ट पारे । 

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उहाँले शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताउनुभयो । विदेशीको नेपालप्रतिको सद्भाव कायमै छ भन्दै उहाँले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरे । 

दुई अध्यादेश स्वीकृत 

राष्ट्रियसभाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४’ र ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा पहिलो अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले र दोस्रो अध्यादेश गृहमन्त्रीका तर्फबाट कानूनमन्त्री तामाङले नै प्रस्तुत गर्नुभएको थियो । दुवै अध्यादेशसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

धन्यवाद प्रस्ताव पारित 

बैठकले संघीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सांसद पर्शुराम मेघी गुरुङले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । 

सांसद रामनारायण बिंडारीले समर्थन गर्नुभएको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गरेका थिए । बैठकको विशेष समयमा विमला पौडेल, बिन्दा राना आले, रमेशप्रसाद यादव, भैरवसुन्दर श्रेष्ठलगायतले मुलुकको समसामयिक समस्याका बारेमासरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस