अस्पतालमा विद्युत र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती

Khotang 12

खोटाङ । जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । १५ सैया रहेको अस्पतालमा विस्तार गरिएको विद्युत र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो ।

अस्पतालमा विद्युत्को उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैँ जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् । अस्पतालमा रहेको जेनेरेटर दुई महिनाअघि देखि बिग्रिएर थन्किएपछि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्तले बाध्य भएर आफैँ भाडा तिरेर जेनेरेटर चलाइरहेका हुन् ।

जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युतबाट बत्ती मात्र बल्ने गरेको छ भने ३ दिनदेखि बन्द रहेको खानेपानी अझै सञ्चालन भएको छैन । जिल्ला अस्पतालमा जडान गरिएको विद्युत र खानेपानी आइतबार दिउँसो परेको असिनापानीले एकैसाथ बन्द गराएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा विस्तार गरिएको कम क्षमताको विद्युत्ले काम नगरेपछि विशेषगरी श्वासप्रश्वासका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । “अस्पतालले कुनै व्यवस्था नगरेपछि आमाको ज्यान बचाउन आफैँले भाडा तिरेर जेनेरेटर चलाइरहेको छु”, पीडित सोल्माका सन्तोष राईले भने, “यसप्रति तत्काल सम्बन्धित निकायको ध्यान जानुप¥यो ।”

दुई दिनअघि देखि अस्पताल भर्ना गराएर आमाको उपचार गराई रहेका राईले जेनेरेटर चलाउन लाग्ने पेट्रोलसमेत आफैँले खरिद गरेका छन् । राईकी आमासँगै अस्पताल भर्ना भएर उपचार गराइरहेका अन्य बिरामीका लागि पनि उस्तै समस्या रहेको बिरामीका आफन्तले बताएका छन् ।

अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यालय प्रमुखलाई प्रशासनमै झिकाएर निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए । “अस्पताल भर्ना भएर उपचार गराइरहेका बिरामीका आफन्तले मसँग पटक–पटक गुनासो गरिरहेका छन्,” उनले भने, “समस्या के हो, तत्काल समाधान गर्न निर्देशन दिएको छु । लामो समयदेखि झेल्दै आएको समस्याको दीर्घकालीन समाधानकालागि स्थलगत निरीक्षण समेत गर्ने तयारी गरेका छौँ ।”

अस्पतालले झेल्नु परेको समस्या समाधानका लागि आफूले सक्दो पहल गरिरहेको अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए । “विद्युत्को समस्या दीर्घकालीन रुपमा समाधान गर्न ट्रान्सफर्मर लगायतका सामग्री खरिद गरेका छौँ,” उनले भने, “प्राधिकरणले जडान नगरी दिएपछि हाम्रो केही पत्तो चलेन । खानेपानीको हकमा एकजना कर्मचारी नै खटाए पनि उचित व्यवस्था गर्न सकिएको छैन ।”

यसअघि अस्पतालमा विस्तार गरिएको विद्युत्ले दिउँसोको समयमा मात्र काम गर्ने गरेको थियो । खानेपानी भने पटक–पटक बन्द हुने हुँदा वैकल्पिकरुपमा अस्पताल नजिकै रहेको ठूलो धाराबाट लगेर उपयोग गर्ने गरिएको छ ।

मौसम परिवर्तनसँगै अहिले अस्पतालमा बिरामीको चाप पनि बढेको र विद्युत् तथा खानेपानी पर्याप्त नहुँदा झनै समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालमा विद्युत् र खानेपानी उचित मात्रामा नभएपछि कतिपय बिरामी अस्पताल नजिकै होटलमा बसेर उपचार गराइरहेका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...