स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट दुई हजार भत्ता

1 thausand

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ ।

आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो ।

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

सरकारले प्रदान गर्दै आएको १ हजार ५ सय र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा ३ हजार ५ सय भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट  ५ सय र गाउँपालिकाको तर्फबाट २ हजार गरी जम्मा २ हजार ५ सय भत्ता पाउने छन् ।

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।

थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई ५ हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु ३ हजार ५ सय प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ ।

प्रतिकृया दिनुहोस