औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

Jhul

झापा । लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल सुपानेट वितरण गरिएको छ ।

जिल्लाका अतिप्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका स्थानीयवासीलाई झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले जानकारी दिए ।

उनका अनुसार मेचीगनर–१० स्थित काँकरभिट्टामा ११ हजार थान, बाहुनडाँगी ७ हजार २ सय र भद्रपुर–२ स्थित पृथ्वीनगरमा ९२० थान झुल वितरण गरिएको छ । “स्वास्थ्य मन्त्रालयको सहयोगमा उपलब्ध झुल वितरण गरेका हौँ” उनले भने, “पछिल्लो समययता यी तीन स्थानमा औलोको जोखिम बढी देखिएको छ ।”

यता, जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको कार्यालयको तथ्यांकले देखाउँछ । पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको छ । आव २०७०/७१ मा ८९ जना, ०७१/७२ मा ५८ जना, ०७२/७३ मा ४२ जना र आव ०७३/०७४ मा ८ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयका भेक्टरकन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिए ।

औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट झुल वितरण गरिएको थियो । गाउँ तथा शहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताए ।

औलो लामखुट्टेको माध्यमबाट सर्ने एक सरुवा रोग हो । प्लाज्मोडियम भन्ने परजीवीका विभिन्न जातका कारण यो रोग लाग्ने गर्दछ । पोथी एनोफिलिस जातको लामखुट्टेले मानिसलाई टोकेमा औलोको संक्रमण हुन सक्छ ।

सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस