नाम मात्रको बन्दैछ वीरपुर स्वास्थ्य चौकी, जहाँ स्वास्थ्यकर्मी नै बस्दैनन्

Birpur helth post

कपिलवस्तु । विरामी भएपछि गाउँघरमा जो कोही पनि विरामी भएपछि स्वास्थ्य चौकी पुग्ने गर्छन् । तर, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ७ स्थित वीरपुर स्वास्थ्य चौकीमा उपचारको आसा लिएर जानेहरु सधैं रित्तो हात फर्किने गरेका छन् ।

यो स्वास्थ्य चौकी अहिले नाम मात्रको स्वास्थ्य चौकी बन्न पुगेको छ । वीरपुर स्वास्थ्य चौकीमा न स्वास्थ्यकर्मी बस्छन्, न सेवाग्राहीले नै गाउँमा स्वास्थ्य चौकी रहेको महसुस गर्छन् ।

यसरी नाम मात्रको स्वास्थ्य चौकी बन्नुको एउटै मात्र कारण स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्नु । स्वास्थ्यकर्मी नै नबसेपछि गाउँका स्वास्थ्य चौकीको अवस्था कस्तो होला भनेर सहजै अनुमान पनि गर्छ सकिन्छ ।

अहिले त स्वास्थ्य चौकीको भवन पनि जीर्ण अवस्थामा पुगिसकेको छ । स्थानीय बृद्ध वृद्धा लगायत मानिसहरु औषधी लिन गए पनि त्यहाँ स्वास्थ्यकर्मी नै हुदैनन् र स्वास्थ्य चौकी बन्द रहन्छ ।

तत्कालीन वीरपुर गाविस हुँदा मात्रै यो स्वास्थ्य चौकीमा उपचार गर्न आउने धेरै हुन्थे । अहिले सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्न छोडेपछि विरामीहरु चन्द्रौटा पुग्ने गरेका छन् ।

यो स्वास्थ्य चौकीका अहेव अजित अली महिनामा बल्लतल्ल १०÷१२ दिन मात्रै बस्छन् । उनी स्वास्थ्य चौकीमा बसेको बेला विरामी आए भने आज औषधी छैन, भोली आउनुस् भनेर फर्काई दिन्छन् । त्यही भएर पनि यहाँको स्वास्थ्य चौकीप्रति स्थानीयको मोह नै घटेको छ ।

‘यहाँ एक जना अहेव त छन् । तर कहिले मन लाएर बसेको देखिँदैन’ स्थानीय रामपाल यादव भन्छन्, ‘विरामीलाई आज औषधी छैन, भोली आउनु् भनेर फर्काई दिने गरेका कारण हामी आजित भइसकेका छौं ।’

गाउँमा रहेको स्वास्थ्य चौकीको अवस्थाबारे स्थानीयले पटकपटक जिल्ला जनस्वास्थ्य कार्यालय र अन्य निकायलाई पनि जानकारी गराइसकेका छन् । तर अहिलेसम्म कसैले ठाडो कान लगाएका छैनन् ।

मलाई थाहा भएन : जनस्वास्थ्य प्रमुख
अहिले स्वास्थ्य मन्त्रालयले प्रत्येक गाउँपालिका, महानगरपालिका र नगरपालिकाहरुमा सबै स्वास्थ्य चौकीको निरिक्षण गर्न संयोजक तोकेको हुन्छ ।

त्यसरी खटाइएका संयोजकको काम भनेको आफु मातहतका कर्मचारीले के काम गरिरहेका छन् ? उनीहरुको काम कस्तो छ ? आदी विषयको अनुगमन गरी जिल्लामा जानकारी गराउने हो ।

तर शिवराज नगरपालिकामा तोकिएका संयोजकले वीरपुर स्वास्थ्यचौकीमा अहेव अजित अलिको बारेमा जिल्लामा केही सुनाएका छैनन् । ‘मलाई उहाँको बारेमा कसैले केही सुनाएको छैन’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले निशान न्युजसँग भने, ‘उहाँको नराम्रो सुनेको छैन, यदी नराम्रो गरेको वा कार्य क्षेत्रमा नखटिएको जानकारी गराउने जिम्मा संयोजकको हो, त्यो बारे मलाई कुनै जानकारी छैन ।’

प्रतिकृया दिनुहोस