भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’

Cij 16

भरतपुर । पछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको मृत्यु भएको’ अस्पतालको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय पुगेको सो गोप्य प्रतिवेदनको खुलासा ।

२०७४ असोज, कात्तिक र मंसीरमा भरतपुर अस्पतालमा सुत्केरी गराउन आएका पाँच महिलाको ज्यान गयो । उनीहरू २१ देखि २८ वर्षसम्मका थिए । यो मृत्युबारे अस्पतालले औपचारिक रूपमा केही भनेको छैन । बरु सकेसम्म तथ्यहरू लुकाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनीले उल्टै हप्कीदप्कीको भाषा प्रयोग गरे । उनले भने, “जसरी मरे पनि तपाईंहरूलाई बताउन आवश्यक छैन । तपाईंहरूलाई बताउनुपर्छ भन्ने कहाँ लेखेको छ ?”

केही साताको अनुसन्धानपछि हामी स्वास्थ्य मन्त्रालयका उच्च सूत्रहरूको सम्पर्कमा पुग्यौं । त्यसपछि हामीलाई भरतपुर अस्पतालमा गम्भीर चिकित्सकीय लापर्वाही र व्यवस्थापकीय कमजोरीहरू थिए भन्ने थाहा भयो । यस बीचमा अस्पताल स्वयंले गरेको गोप्य समीक्षा रिपोर्ट पनि हाम्रो हात प¥यो । त्यसमा भनिएको छ, “उनीहरू सबैलाई बचाउन सकिन्थ्यो ।”

‘मर्न नपर्ने पाँच महिला’

सुत्केरी हुन चितवनको भरतपुर अस्पताल गएकी सर्लाही वागमतीकी २६ वर्षीया विना अधिकारीको ८ असोज, चितवन गुञ्जनगरकी २२ वर्षीया सुनु भुजेलको २६ असोज, प्रेमबस्तीकी २१ वर्षीया सुरुची सुवालको २० कात्तिक, नवलपरासी देवचुलीकी २८ वर्षीया शोभा चापागाइँको ४ मंसीर र चितवन गौरीगञ्जकी २२ वर्षीया केशिया महतोको १२ मंसीर मृत्यु भएको थियो ।

यी मृतकका परिवारलाई अस्पतालले उनीहरूलाई ‘कहीं लगे पनि बचाउन सकिन्नथ्यो’ भन्ने जवाफ दिएर घर पठाएको थियो । अस्पताल प्रशासनले परिवारका सदस्यलाई दिएको जानकारी अनुसार ती सुत्केरीहरूको ज्यान जानुमा अस्पतालको कुनै कमजोरी थिएन । बरु उनीहरूकै स्वास्थ्यमा गम्भीर खराबीले यस्तो दुःखद् परिणाम आएको हो । 

तर तीन महीना भित्र अस्पतालमा सुत्केरी गराउन आएका यी आमा र तिनका बच्चाकोे मृत्युबारे अस्पताल भित्र त्रास फैलियो । यसपछि उसले आन्तरिक रूपमा गोप्य समीक्षा ग¥यो । समीक्षाको निष्कर्ष गम्भीर निस्कियो । त्यसमा भनिएको छ, “उनीहरूको मृत्यु हुनुमा अस्पतालकै कमजोरी छ, सबैलाई बचाउन सकिन्थ्यो ।”  

ज्यान गुमाएका प्रत्येक महिलाको व्यक्तिगत समीक्षापछि अस्पतालले परिवार स्वास्थ्य महाशाखा, काठमाडौंमा पठाएको मृत्यु समीक्षा फारम (डेथ रिभ्यू फर्म) ले बचाउन सकिने ती सुत्केरी महिलाको मृत्यु अस्पतालकै कमजोरीले भएको पुष्टि गर्छ ।

खोज पत्रकारिता केन्द्र लाई प्राप्त ती प्रमाणअनुसार ‘गौरीगञ्जकी केशिया, प्रेमबस्तीकी सुरुची र सर्लाहीकी विनाको अस्पतालका विभिन्न विभागका चिकित्सकको बीचमा राम्रो समन्वय र आन्तरिक सञ्चार नहुँदा मृत्यु भएको’ भनेर अस्पतालले स्वीकारेको छ ।

शल्यक्रियापछि होशमा आइसकेको अवस्थामा अकस्मात् मिर्गौलाले काम नगरेपछि केशियालाई के–कस्तो उपचार गर्ने भन्ने बारेमा उपचारमा संलग्न चिकित्सकहरूबीच अन्तरविभागीय समन्वय हुन नसक्दा उनको मृत्यु भएको थियो । “बहुविभागीय विशेषज्ञ (जस्तै नेफ्रोलोजी इकाई) उपलब्ध भएको भए उनलाई बचाउन सकिन्थ्यो” अस्पतालले गरेको समीक्षाको निष्कर्ष छ ।

सोही अस्पतालमा नियमित जाँच गराउँदै आएकी केशियालाई अस्पतालले २२ मंसीरमा सुत्केरी हुने दिन तोकेकोमा उनी १० मंसीर नै अस्पताल पुगेकी थिइन् । जाँचपछि डाक्टरहरूले प्रेसर हाई (उच्च रक्तचाप) रहेछ, औषधि खाएर तुरुन्त अपरेशन गर्नुपर्छ भन्दै त्यसै दिन शल्यक्रियाबाट बच्चा निकालिदिएका थिए । परिवारका सदस्यहरूले बताएअनुसार उनी घरबाट आफैं चोकसम्म हिंडेर सार्वजनिक भ्यान चढेर अस्पताल गएकी थिइन् ।

शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ र ‘आईसीयू’ मा राख्दा उनलाई भिरुलेन्ट इन्फेक्सन (कडा खालको विषाक्त संक्रमण) भएको अस्पतालको समीक्षा प्रतिवेदनले स्वीकार गरेको छ । जसका कारण सेप्टिक सक (रगतमा विष फैलने काम) भएको थियो ।

समीक्षा प्रतिवेदनमा ‘अस्पतालमा आपत्कालीन अवस्थामा आवश्यक पर्ने जनशक्ति उपलब्ध नहुनु’ उनको मृत्युको अर्को कारण भनिएको छ । केशियाको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा विभागीय प्रमुख डा. सुनिलमणि पोखरेलले गरेका हुन् । शल्यक्रिया टोलीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमनाथ सुवेदी, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारी पनि संलग्न थिए ।

सुरुचीलाई पनि ‘आईसीयूमा अनुभवी चिकित्सकको टोली भएको भए र विभिन्न विभागहरूको बीचमा सही तरीकाले सूचना आदानप्रदान भएको भए बचाउन सकिन्थ्यो’ भन्ने अस्पतालको समीक्षा दस्तावेजको निष्कर्ष छ । अस्पतालले शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ मा राख्दा ‘सुरुचीमाथि निगरानी नपुगेको’ स्वीकारेकोे छ ।

शल्यक्रियापछि ‘सक’ (अत्यधिक रक्तस्रावपछि बेहोश हुनु र हातगोडा चिसो हुनु) अवस्थामा पुग्नुअघि समयमै हेरचाह नगर्दा सुरुचीको मृत्यु भएको थियो । अस्पतालको अभिलेखमा ‘सुरुचीको ‘सक’ पहिचान नभएको र रक्तस्राव नरोकिएपछि दोस्रो अपरेशनको तयारी तत्काल गर्न नसक्दा’ उनको मृत्यु भएको उल्लेख छ । उनको शल्यक्रियामा सर्जन डा. मन्जु पाण्डे, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारीलगायत संलग्न थिए । अपरेशन गरेर पोष्ट अपरेटिभ वार्डमा पु¥याउँदा समेत रगत बग्न नरोकिएपछि उनको अवस्था गम्भीर भएको थियो । उनको उपचारमा डा. जीवन परियार, डा. रामहरि ढकाल लगायतको टोली सामेल थियो ।  

सर्लाही वागमतीकी विना पनि अस्पतालमा समयमै सही उपचार पाएको भए बाँच्ने महिला हुन् । अस्पतालको समीक्षा अनुसार, उनको मृत्यु हुनुको कारण पनि ‘अस्पतालका विभागहरूको बीचमा सूचना प्रवाह राम्रोसँग हुन नसक्नु’ हो । उनलाई ‘आईसीयूमा राख्दा राम्रो हेरचाह नपुगेको’ अस्पतालको आन्तरिक समीक्षा रिपोर्टले स्वीकार गरेको छ । तर, मृत्युपछि उनका आफन्तलाई उपचारमा संलग्न चिकित्सकहरूले ‘मुटु र कलेजो फेल भएर आमा र बच्चा दुवैलाई बचाउन नसकिएको’ बताएको थियो ।

अस्पतालले तयार गरेको गोप्य अभिलेख अनुसार चितवन गुञ्जनगरकी सुनु र नवलपरासी देवचुलीकी शोभा पनि सुरक्षित प्रसूति सेवा लिन अस्पताल जाँदा ज्यान गुमाएका ‘बाँच्ने सम्भावना भएका’ महिला हुन् ।

स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका अनुसार, कुनै सुत्केरीको मृत्यु भएमा मातृ मृत्यु समीक्षा फारम भरेर ७२ घण्टा भित्र मन्त्रालयमा पठाइसक्नुपर्छ । भरतपुर अस्पतालले पनि यस्तो फारम केन्द्रमा बुझाएको छ ।

अस्पतालले परिवार स्वास्थ्य महाशाखालाई पठाएको मृत्यु समीक्षा फारममा दुवैलाई बचाउनै नसकिने भनेर लेखिएको छैन । तर, उनीहरू मर्नुको कारण र बचाउन सकिने उपायको बारेमा अस्पतालले गोलमटोल विवरण दिएको छ । मातृशिशु सुरक्षा कार्यक्रमको गुणस्तर तथा नीतिगत व्यवस्थामा सुधार ल्याउने उपयोगिताका लागि भरिने त्यस्तो फारममा ती विवरण छुटाउन डाक्टरहरूलाई छूट छैन । 

तर, सुनु र शोभाको मृत्युको कारण र बचाउन सकिने सम्भावित उपायका बारेमा विवरण लुकाउनु शंकास्पद रहेको नाम खुलाउन नचाहने एक विशेषज्ञ बताउँछन् । शोभाको शल्यक्रियामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमनाथ सुवेदी, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारी, डा. दिलीपकुमार यादवलगायत संलग्न थिए ।

सुत्केरी हुन अस्पताल पुगेकी सुनुको दुई दिनसम्म उपचार नथाल्दा बच्चा जन्माउन नसकी ज्यान गएको थियो । उनको ज्यान जानुमा अस्पतालका चिकित्सकहरूको अर्को कमजोरी पनि जिम्मेवार देखिएको छ । उनले भरतपुर अस्पतालमै चार पटक गर्भ परीक्षण गराएकी थिइन् । गर्भको शिशु असामान्य रहेकाले जीवित जन्माउने सम्भावना कम रहेको २२ साउनमै भिडियो एक्सरेबाट पत्ता लागे पनि डाक्टरहरूले उनी र उनको परिवारलाई यसबारे केही बताएका थिएनन् । त्यसको दुई महीनापछि सुनाको मृत्यु भएको थियो । त्यसपछि मात्र डाक्टरहरूले ‘पहिल्यै फ्याँक्नुपर्ने बच्चा जन्माउने समय कुरेर बसेकोले यस्तो परिणाम आएको’ तर्क परिवारसँग गरेका थिए । 

“अस्पतालले २५ असोजको मिति दिएर एक–दुई दिन पहिले नै ल्याउनु भनेको थियो । हामीले त्यसै ग¥यौं तर लगेको दुई दिनसम्म पर्खाएर मात्रै राखियो । ज्यान गएपछि डाक्टरहरूले हाम्रै दोष देखाए”, सुनाकी सासू तिलकुमारीले भनिन् । अस्पतालले सुत्केरी बेथा लाग्ने समय पर्खाइरहेको अवस्थामा एक्कासि बेहोश भएपछि आईसीयूमा लगिएकी सुनाको होशमा नआई मृत्यु भएको थियो । 

अस्पताल प्रशासनले आन्तरिक अभिलेखमा महिलाहरूको ज्यान जानुमा अस्पताल र चिकित्सककै कमजोरी रहेको स्वीकार गरे पनि दोषी देखिएकालाई जिम्मेवार बनाएर कमजोरी सुधार्नु सट्टा अहिले पनि गल्ती लुकाउने प्रयास गरिरहेको छ ।

अस्पतालले सार्वजनिक रूपमा दिने गरेको अभिव्यक्तिबाट ऊ आफ्नो कमजोरी लुकाउन खोजिरहेको प्रष्ट हुन्छ । अस्पतालले तयार गरेको मृत्यु समीक्षा फारम, मेडिकल रेकर्ड, मृत्यु प्रमाणपत्र र मृतकका परिवारलाई दिएको मौखिक जवाफ आफैंमा बाझिएका छन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनी ‘सुत्केरीको मृत्यु हुनुमा अस्पतालको कुनै दोष नभएको’ दाबी गर्छन् । प्रारम्भिक खोज पछि हामी उनको अन्तर्वार्ता गर्न चितवन पुगेका थियौं । उनले भने “सुत्केरी महिलाहरूको मृत्यु हुनुमा अस्पतालको कुनै कमजोरी होइन, उनीहरूकै मेडिकल कज (रोगहरू) जिम्मेवार छ, उनीहरूलाई कहीं लगे पनि बचाउन सकिन्नथ्यो ।” अस्पतालले आन्तरिक रूपमा तयार गरेको प्रतिवेदन बोकेर त्यहाँ पुगेका हामीलाई ढाँट्न उनले हरसम्भव प्रयास गरे ।

यसअघि अस्पतालले केशिया, सुनु, विना र शोभाको परिवारलाई उनीहरूको मुटु र मिर्गाैलाले काम नगर्दा मृत्यु भएको मौखिक जवाफ दिएको थियो, जसलाई चिकित्सकहरूले ‘कहीं लगे पनि निको पार्न नसकिने रोग’ भनेर व्याख्या गरेका थिए । यस्तै सुरुचीको परिवारलाई उनीहरूले अत्यधिक रक्तश्रावपछि रगत जम्ने तत्वको अभावमा रक्तश्राव नरोकिएकाले मृत्यु भएको बताएका थिए । उनको परिवारलाई पनि ‘कहीं लगे पनि सञ्चो नहुने’ जवाफ दिएका थिए । डा. मरासिनीले हामीलाई पनि त्यही कुरा दोहो¥याए ।

मृतकका परिवारलाई दिइएको मृत्यु प्रमाणपत्रमा अस्पतालले तिनै कारण लेखेको छ । अस्पतालले केशियाको परिवारलाई ‘सेप्टिक सक’, सुरुचीको परिवारलाई ‘कोयागुलोप्याथी’, सुनुको परिवारलाई ‘कार्डियाक फेलियर’ र ‘एस्पाइरेसन फेलियर’ को कारणले मृत्यु भएको भनेको छ । यस्तै शोभा र विनाको परिवारलाई मुटु र मिर्गौला फेल भएको कारणले मृत्यु भएको भनेको छ ।

सार्वजनिक रूपमा गल्ती स्वीकार्न नचाहने अस्पताल प्रशासनले सोधखोज गर्न जाने परिवारलाई सकेसम्म सबै दोष मृतकमै थोपरेर उम्किने, नसकेमा केही रकम दिएर घटना सामसुम पार्ने गरेको पनि भेटियो ।

मृत्यु भएका पाँचै महिलाको परिवारलाई अस्पतालले उनीहरूकै रोगका कारण मृत्यु भएको बताएको थियो । यीमध्ये चार जनाको परिवारले ‘डाक्टरले भनेपछि होला’ भनेर चित्त बुझाएका थिए । तर, नवलपरासीकी शोभाका आफन्तले अस्पतालमा प्रदर्शन गरेपछि नगद रकम दिएर कुरा मिलाइयो । अस्पतालले शोभाको परिवारलाई दुई लाख रुपैयाँ नगद दिने, छोरीहरू पढाइदिने र उनीहरूको उपचार पनि आजीवन निःशुल्क गर्ने आश्वासन दिएर फर्काएको थियो । शोभाकी सासू मनरुपा चापागाईंले भनिन्, “हामीले शव नउठाउने अडान लिएपछि कुरा मिल्यो ।”

यसैगरी सुनाको मृत्युपछि आक्रोशित भएको उनको परिवारलाई पनि एक जनालाई मासिक नौ÷दश हजार रुपैयाँको जागिर दिने आश्वासन अस्पताल प्रशासनले दिएको मृतककी सासू तिलकुमारीले बताइन् । ‘‘ज्यानै गइसकेपछि जागिरले के गर्नु भनेर स्वीकारेनौं”, उनले भनिन् । 

औषधि : ‘ब्याच नम्बर छैन’ 

अस्पतालकै अभिलेख अनुसार बिरामीको उपचारमा अन्तरविभागीय समन्वयको अभाव र अपरेशनपछिको संक्रमणबाट महिलाहरूको मृत्यु भएको देखिन्छ । अस्पताल र चिकित्सकले जिम्मेवारी लिनुपर्ने डरले पहिलो कारण गोप्य राख्ने प्रयास गरिरहेको अस्पताल प्रशासनले उपचारमा प्रयोग भएका औषधिमा खराबी हुनसक्ने आशंका रहे पनि यकिन भइनसकेको बताउने गरेको छ । 

अस्पतालले औषधिका केही नमूना परीक्षण गरिदिन औषधि व्यवस्था विभाग बबरमहल, काठमाडौंलाई २० मंसीरमा पत्र पठायो । सो पत्रमा अस्पतालले चलाखीपूर्ण बेहोरा लेखेको देखिन्छ । पत्रमा ‘भरतपुर अस्पतालमा उपचार गराउन आउने प्रसूति सम्बन्धी बिरामीहरूको विगतको तुलनामा अनपेक्षित रूपमा मातृ मृत्युदर बढिरहेकोले औषधिको गुणस्तर परीक्षण गर्न विशेषज्ञ टोली खटाई सहयोग गरिदिन अनुरोध छ ।’

अस्पतालकै शब्दमा ‘अनपेक्षित मातृ मृत्युदर बढिरहेको’ साढे दुई महीनापछि मात्रै औषधि परीक्षणका लागि पत्राचार गरेको देखिन्छ । अस्पताल प्रशासनले त्यसबीचमा आफूले गरेका प्रयत्नहरूबारे केही बताउन सकेको छैन । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनी भन्छन्, “यस विषयमा के गरियो त्यो भन्न जरूरी छैन ।”

अस्पतालको अनुरोधपछि २ पुसमा काठमाडौंबाट विज्ञ टोली भरतपुर अस्पताल गयो । तर, टोलीलाई अस्पतालले मृत्यु भएका बिरामीलाई प्रयोग गरिएका औषधि कुन–कुन हुन् भन्ने जानकारी दिएन । विज्ञ टोलीकी सदस्य राष्ट्रिय औषधि प्रयोगशालाकी वरिष्ठ गुणस्तर निरीक्षक शिवानी खड्गीले भनिन्, “मृतकको मेडिकल रेकर्ड हेर्दा औषधिको नाम मात्र थियो, कुन व्याच नम्बरको भन्ने खुलेको थिएन ।”

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाबाट गएको टोली सामान्य सोधपुछ र औषधि भण्डारणको अनुगमन गरेर फर्कियो । त्यसपछि अस्पतालले परीक्षणका लागि पठाएका विभिन्न ९ वटा औषधिको नमूना त्यसको झण्डै एक महीनापछि २६ पुसमा मात्रै औषधि व्यवस्था विभागमा पुग्यो । ती सबै नमूना ‘आमा सुुरक्षा कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले सुत्केरीलाई निःशुल्क उपलब्ध गराउने औषधिका हुन्, जसको परीक्षण राष्ट्रिय औषधि प्रयोगशालामा अहिले भइरहेको छ । 

मृत्युको तथ्यगत कारण पत्ता लगाउन मृतकहरूको शव पोस्टमोर्टम गर्नुपर्नेमा अस्पतालले गुञ्जनगरकी सुनु भुजेल बाहेक अरू चारको पोस्टमोर्टम नै गरेन । केही मृतकका आफन्तले अनपेक्षित मृत्युको शोकमा पोस्टमोर्टम गर्नेतिर ध्यान नगएको बताएका छन् । केही मृतकका परिवारले पोस्टमोर्टम गर्न चाहँदा पनि अस्पतालले ‘शरीर टुक्राटुक्रा पार्नुपर्र्छ’ भन्ने जवाफ दिएर त्रसित बनाएको पाइएको छ ।

मृत्यु भएकी विनाका श्रीमान् विराज अधिकारी भन्छन्, “मेरो बिरामीको मृत्यु हुनुमा डाक्टरले दिएको जवाफ पत्यार लागेन । पोस्टमोर्टम गराउँछु भन्दा डाक्टरहरूले ‘गर्ने हो भने सबै भित्री अंग निकालेर देखाइदिन्छौं’ भने ।” विराजले भने, “ज्यान गइसकेपछि किन त्यसरी चिरफार गरेर अंग निकाल्नु, जे हुनु भइसक्यो भनेर आँखा चिम्लँदै अस्पतालले दिएको कागजमा सही गरें । अनि आमा र बच्चाको शरीर छुट्याएर वागमतीमा ल्याई अलग अलग अन्त्येष्टि गरेंं ।”

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...