विज्ञानको नजरमा वेद र बाइबलको अन्तर्कथा

Bed baibal1 597c004f43ed39.91045771 - सुरेन्द्र गौतम/नवराज पनेरू

केही महिनाअगाडि जनार्दन घिमिरेज्यूसँग कान्तिपुर एफएमको अन्तर्वार्तामा उहाँले सोध्नुभएको थियो, 'गणितमा मास्टर्स गर्नुभएको विद्यार्थी आफ्नो विधासँग असम्बन्धित रहेको धर्म, दर्शन र संस्कृतिको क्षेत्रमा कलम चलाउने प्रेरणा कहाँबाट पाउनुभयो?'

लाग्छ, उहाँले यो प्रश्न आजको युवासमाज, उसको सोच र धर्मप्रतिको विचलन देखेर अन्तर्आत्मादेखि नै सोध्नुभएको थियो। हुन पनि आजको भौतिकवादी, आधुनिक शिक्षाप्रणाली अवलम्बन गरिएको नेपाली समाजमा कुनै युवालाई धर्म, दर्शन र संस्कृतिबारे चाख लाग्नु अनौठो नै हो।

स्व. घिमिरेको सो प्रश्नको उत्तरमा हामीले प्रस्टसँग भनेका थियौं, 'धर्म, दर्शन र संस्कृतिको क्षेत्रमा कलम चलाउनुको मुख्य कारण त युवामा देखिएको आफ्नो धर्मप्रतिको निराशा, विरोधीपन तथा बेवास्तालाई चिरफार गर्नु तथा आफ्नो महान् पूर्वीय दर्शनबारे थोरै भए पनि जानकारी दिनु हो।'

सोही प्रश्नको समानान्तर रूपमा हामीलाई यो पनि सोधिन्छ, ‘तपाईंहरू युवा भएर धर्ममा किन लाग्नुभयो ?' सुरुआतमा यस प्रश्नको हामीसँग खासै ठोस जवाफ थिएन किनकि धर्मप्रतिको आस्था एवं आकर्षण अन्तरआत्माबाट नै हुने हो। पछि फेरि मनन गर्थ्यो। यस प्रश्नको पछाडि तमाम प्रश्न लुकेको हुनुपर्छ।

उमेर ढल्कँदै जाँदा, आफन्त टाढिँदै जाँदा र शारीरिक अशक्तताको समयमा आफ्नो सहारा भनेकै भगवान् हुन् भन्ने लाग्नसक्छ। त्यसैले त्यस्तो अवस्थामा मात्र मानिसहरू धार्मिक, आध्यात्मिक हुने आजको धरातलीय यथार्थबाट नै ती प्रश्न आएको हुनसक्छ। त्यसमा पनि केही महिनाअघि हाम्रो संयुक्त लेखनमा विद्यार्थी पुस्तक भण्डारबाट ‘विज्ञानको नजरमा वेद र बाइबल' प्रकाशनमा आएपछि हामीले विभिन्न जिज्ञासा, शंका, परीक्षा र प्रश्न सामना गरिरहनु परेको छ।

हामी पनि आधुनिक समाजकै साधारण युवापुस्ता नै हौ। औसत युवाको चाहना, आकांक्षा र सपना हामीसँग पनि मिल्छ। समवयी युवा जुन बाटोमा दौडिरहेका छन् त्यो बाटोमा दौडन हाम्रो पाइला पनि अघि नसरेका होइनन् तर कतै त्यो दौडमा भाग लिँदा हामीले आफ्नो वास्तविक धरातल र पहिचान गुमाउने त होइनौं जस्तो लाग्छ।

युवाले धर्मलाई आफ्नो स्वतन्त्रता र मनोरञ्जनको बाधक ठानेका छन्। यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन जस्ता पक्षहरूले उनीहरूमा धर्मप्रति विकर्षण गराएको हुनसक्छ। तर, उनीहरूले धर्मलाई जसरी बुझेका छन् त्यो वास्तविकताभन्दा धेरै नै टाढा छ।

वास्तवमा धर्म भनेको स्वभाव हो, गुण हो, वस्तु एवं पदार्थको स्वपहिचान हो। सूर्यको धर्म ताप र प्रकाश दिनु हो भने आगोको धर्म पोल्नु हो, वायुको धर्म वहनु तथा सजीवलाई प्राणवायु प्रदान गर्नु हो।

हामीले नजिकैबाट आजको युवापुस्ताको मनस्थिति नियाल्ने प्रयास गरेका छौं। आखिर उनीहरूमा धर्मप्रतिको विचलन कहाँबाट आयो ? मुख्यतः हाम्रो विद्यालय शिक्षाले पश्चिमा मतलाई अंगीकार गरी अघि बढ्यो जसले गर्दा विद्यार्थीले विद्यालय तहदेखि नै नेपाली माटो सुहाउँदो शिक्षाबाट वञ्चित भए।

१० वर्षे द्वन्द्वमा संस्कृत विषयलाई सामन्तको बिल्ला भिराएर स्कुल-स्कुलमा च्यात्ने काम भयो भने घरपरिवार र समाजमा पनि आमाबाबुले आफ्नो छोराछोरीलाई सनातन धर्म, दर्शन र संस्कृतिप्रति गर्वबोध गर्ने प्रेरणा दिनु त टाढाको कुरा मेरा छोराछोरी अमेरिका, अस्ट्रेलिया, युरोपमा हुनु आफ्नो गर्वको विषय ठाने। 

यस्तो गौरवशाली अतीत हुँदाहुँदै पनि किन आज हाम्रो आँखामा ज्ञानको अन्धोपना छायो? किन हामीले हाम्रा पूर्वज ऋषिमुनिहरूको ज्ञान तथा दर्शनलाई अपनाउन सकेनौं? किन दियोमुनिको अँध्यारो भयौं?

यसरी आफ्नोपनबाट टाढा हुँदा युवाहरू अन्त नै आकर्षित भएका छन्, बाटो बिराउन थालेका छन्, उपभोगवादी र अर्कैको भरिया बन्न पाउँदा गौरव महसुस गर्न थालेका छन्। हामीले परम्पराको निरन्तरता दिँदै आधुनिकता स्वीकार गर्न सक्छौं। दुवै पक्षलाई सँगसँगै धारण गरेर अघि बढ्न सक्छौं। धर्म, अध्यात्म, दर्शन र संस्कृतिलाई बोध गर्दै आधुनिक समाजमा रमाउन सक्छौं।

नेपाली युवाजमात अब गम्भीर बन्नुपर्ने देखिन्छ। म को हुँ? मेरो पहिचान के हो? मेरो इतिहास के हो? मेरो बाटो र गन्तव्य के हो ? भन्ने विवेकीय प्रश्नको जवाफ आजको युवाले आफैसँग खोज्नुपर्छ। त्यसैगरी सामाजिक पाटोबाट नियाल्दा शास्त्रीय मर्म विपरीतको स्वघोषित कर्मकाण्डमा अल्झिएर नेपाली समाजले ज्ञान, दर्शन र विज्ञानको महासागर वेद र वैदिक मतबाट टाढा रह्यो।

टुपी, श्राद्ध, व्रत र तीर्थ नै धर्म हो भन्ने मानसिकताले सनातन धर्ममा भएको ज्ञानको महत्वलाई ओझेलमा पारेको छ। सेवा नै धर्म हो, अरू सबै कपोलकल्पित हुन् भन्ने आंशिक सत्यले वास्तविक धर्मबाट नेपाली समाजलाई विमुख बनाएको छ। जब हाम्रो एउटा आँखाले वेद, उपनिषद्, गीता, दर्शन, नीति, पुराणहरू देख्थ्यौं तब अर्को आँखाले विकृत, अधर्म र विसंगतिले भरिएको समाज पनि देख्थ्यौं।

हामी यो निष्कर्षमा पुग्यौं, नेपाली समाज हिन्दु धर्मको मूल्यमान्यता र आदर्शअनुसार चलेकै छैन। समाजमा व्याप्त छुवाछूत, विभेद, उचनिच, गरिबी, शोषण, पछौटेपन र अन्धविश्वासलाई विश्लेषण गर्दा कदाकदा विश्वगुरु वेदव्यास यही भूमिमा जन्मिएका हुन् र? गौतमबुद्ध हाम्रै हुन् र? के हाम्रा पुर्खा ऋषिमुनि नै थिए र? जस्तो पनि भान हुन्छ।

पुस्तकको अर्को पक्षमा आधुनिक विज्ञान र प्राचीन वैदिक विज्ञानको समन्वय गर्ने प्रयत्न पनि गरिएको छ। वास्तवमा धर्म र विज्ञानको एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेका छन्। प्रसिद्ध भौतिकशास्त्री तथा विज्ञानको पिता भनेर चिनिने अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्, ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ।'

महान् वैज्ञानिकको उक्त भनाइको आशय हो— धर्म, दर्शन तथा आध्यात्मिकताको क्षेत्रमा तर्कलाई पनि उचित स्थान दिइनुपर्छ। बिना तर्क वितर्क सोझो रूपले अपनाइएको संस्कारले कहिलेकाहीँ ठूलो समस्या पनि खडा गर्ने गर्छ। सोही भनाइ प्राचीनकालमा महर्षि मनुले आफ्नो विश्वविख्यात ग्रन्थ मनुस्मृति (१२÷१०६) मा भनेका छन्, ‘यस्तर्केणानुसंधत्ते स धर्म वेद नेतरः।' अर्थात् जसले तर्कद्वारा अनुसन्धान गर्छ उसैले वेद जान्दछ, अर्काले होइन।

हाम्रो पुस्तकको नाम नै ‘विज्ञानको नजरमा वेद र बाइबल' भएको हुनाले पनि हामी युवाद्वय विज्ञान र धर्मको बीचमा देखा परेको ध्रुवीकरणलाई नजिकबाट नियालेर यी दुईको सम्बन्ध स्थापित गर्ने पक्षमा छौं भन्दा अत्युक्ति नहोला। वास्तवमा पूर्वीय दर्शन र आधुनिक विज्ञान एक अर्कामा निकै घनिष्ठ रूपमा सम्बन्धित छन्।

सन् १९६४ मा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार विजेता चाल्र्स एच. टाउन्जले पनि भनेका छन्, ‘भारतवर्षका विद्यार्थीले आफ्नो प्राचीन संस्कृतिको मूल्य बुझ्नुपर्छ किनभने जीवनको र मूल्यहरूको अर्थ यसैमा अन्तरनिहित छ। म यी दुई कुरालाई अलग गर्न सक्तिन-विज्ञान र भारतीय संस्कृतिलाई अलग ठान्दाको परिणाम अत्यन्त हानिकारक हुनेछ।'

हामीले यो पुस्तकमा पनि विशेषगरी प्राचीन वेदशास्त्रमा भएका अनेकौं विज्ञानयुक्त सन्दर्भलाई सप्रमाण उल्लेख गरेका छौं। जस्तै— चन्द्रमाको प्रकाश सूर्यको प्रकाशको परावर्तन हो, गुरुत्वाकर्षण बल, गुरुत्वबल, जलचक्र, पृथ्वीको आयु, ओजन तह, परमाणुको संरचना आदिको प्राचीन वैदिकशास्त्रमा कहाँकहाँ उल्लेख भएका छन् भनेर पेस गरेका छौं।

यी यावत् प्रमाणहरूले पनि यो स्वतः सिद्ध गर्छ— हाम्रा प्राचीन वेदशास्त्र तथा तिनका द्रष्टा र कर्ता ऋषिमुनिहरू भौतिक विज्ञानबारे अनभिज्ञ थिएनन् अपितु व्यावहारिक रूपमा भौतिकवादी पनि थिए भने पारमार्थिक रूपमा अध्यात्मवादी थिए। फरक यति नै हो कि उनीहरूले भौतिकतालाई भन्दा आध्यात्मिकतालाई बढी महत्व दिएका थिए।

पुस्तकको मूल विषयवस्तुको केन्द्र विज्ञान र धर्मबीच गरिएको तुलना भए पनि यसमा नेपाली समाजमा हाल तीव्र रूपमा भइरहेको धर्मान्तरणबारे पनि थोरै कलम चलाइएको छ। नेपाल जस्तो राजनीतिक रूपले अस्थिर, आर्थिक रूपले कमजोर तथा शैक्षिक (धार्मिक तथा भौतिक) रूपले असचेत नागरिकमा के कस्तो कारणबाट धर्मान्तरण गराइएको छ भन्नेबारे पनि संक्षिप्त विश्लेषण गरेका छौं।

अधिकांश मानिस नेपाली इसाईहरू आर्थिक प्रलोभनमा परेरमात्र धर्म परिवर्तन गर्ने गर्छन् भन्ने ठान्छन्। तर, यो पूर्ण सत्य नभई आंशिक सत्यमात्र हो। नेपालमा धर्मान्तरण गराउने अनेकौं कारण छन्। आर्थिक प्रलोभन, स्वर्ग, मुक्ति आदिको प्रलोभन, रोग निको हुन्छ भन्ने भ्रम, हिन्दु धर्मशास्त्रको गलत व्याख्या तथा कमजोर मानसिकतामा मनोवैज्ञानिक प्रभाव पारेर धर्मान्तरण गराउने गरिएको छ। जहाँ कमजोर छ, भत्काउन त्यहीँबाट सुरु गरिन्छ भनेझैं पश्चिमा इसाई मिसिनरीहरूले हामी नेपालीहरूमा देखिएको धार्मिक तथा आर्थिक कमजोरीलाई नै मुख्य आधार बनाएर धर्म परिवर्तन गराएका छन्।

आफ्नो मूल धार्मिक ज्ञानबारे अनभिज्ञ, यसको गौरव र महत्त्वप्रति तथा विश्वमाथि पारेको प्रभावबारे थाहा नभएको युवकयुवती र वयस्कमा उनीहरूको स्वधर्मबारे लघुताभाष गराउने तथा आफ्नो धर्ममा भएको भन्दा बढी प्रचार गरी धर्मान्तरण गराइएको छ। नेपालका कतिपय यस्ता पास्चरहरू पनि छन् जो आफूलाई वैदिक ज्ञानी भनी प्रचार गर्ने गर्छन्।

अज्ञानको धरातलमा स्थापना गरिएको समानता पनि हानिकारक हुने गर्छ। हाल नेपालका हिन्दुमा देखिएको मूल समस्या नै यही हो। आपुूmलाई आदर्शवादी तथा समानतावादी भनेर चिनाउन चाहने हिन्दुहरू विभिन्न धर्मको तुलनात्मक अध्ययन गरी विश्लेषण गर्नु त कहाँ हो कहाँ स्वयं आफ्नो धार्मिक ग्रन्थमाथि लागेको धूलो टक्टक्याएर त्यहाँको सुनौलो अक्षर पल्टाउनसमेत सक्दैनन्।

अनि भन्छन् 'सबै धर्म एउटै हो, ज्ञान एउटै हो। यो भ्रम अब हिन्दु समाजले चिर्न आवश्यक छ। अब हामीले पनि यो प्रण गर्नुपर्छ, आफ्नो धर्मको ज्ञान प्राप्त नगरी अज्ञानको धरातलमा टेकेर सबै धर्म समान भन्दैनौं र भन्न आवश्यक पनि छैन। सुरुसुरुमा हामीमा पनि यो भ्रम रहने गथ्र्यो, सबै धर्म र धार्मिक ग्रन्थको सार तथा ज्ञान एउटै हो। तर, पछि अध्ययन गर्दै जाँदा लाग्न थाल्यो- ओहो ! हामी कति गलत रहेछौं?

कहाँ संसारको प्राचीनतम् ज्ञान, दर्शन र विज्ञानको खानी वेद, उपनिषद्, दर्शन तथा कहाँ साधारण नैतिक शिक्षामा अल्झिएको बाइबल ! कहाँ भौतिकता र आध्यात्मिकताको समन्वयात्मक वर्णन गर्ने शास्त्र र कहाँ व्यावहारिक रूपमा अव्यावहारिक र अविश्वसनीय घटनाको वर्णन गरिएको बाइबल ! तसर्थ सर्वधर्म सम्मान हुनसक्छ तर सर्वधर्म समान कदापि हुन सक्दैन।

विश्वमा सबैभन्दा पहिले परमाणुबारे व्याख्या गरिएको हाम्रो शास्त्र वैशेषिक र न्यायदर्शन हो तर पनि हाम्रो शिक्षाप्रणालीले परमाणु अवधारणाको प्रथम आविष्कारकर्ता डेमोक्रेट्स हो भनेर घोकाएको पाउँछौं। अहो कस्तो विडम्बना ! ग्रिसको एउटा भूमिमा त्यति बेलाको समयसापेक्ष रूपमा बढी ज्ञान भएको प्लेटो, अरस्तु र सुकरातलाई हामी विश्वको महान् दार्शनिक भनेर सगर्व भन्छौं तर हामी आफ्नै भूमिमा जन्मिएका कपिल, गौतम, पाणिनी, बुद्ध, व्यास आदिलाई भने पछौटे र ढुंगेयुगी देख्छौं।

तर, यो केवल नेपाली समाजले मात्र देख्दो रहेछ किनकि प्रसिद्ध जर्मन दार्शनिक प्रोफेसर म्याक्समुलरले भनेका छन्, ‘वेदान्त भनेको एउटा यस्तो प्रणाली हो जसले गोथिक कथिड्रलको हल्लिने गगनचुम्बी गजुरका टुप्पामा अन्तिम खुड्किलो टेकेको बेलाझैं गरी आज पनि उभिरहेको छ।

हाम्रा दार्शनिकहरू प्लेटो, कान्ट, हेगेल र हेराक्लिटस् सम्मै कसैले पनि यत्रो अग्लो गजुर निर्माण गर्ने आँट गरेका छैनन्।' त्यस्तै प्रसिद्ध अमेरिकी कवि, नाटककार र दार्शनिक टीएस एलियट भन्छन्, ‘पूर्वीय दार्शनिकहरूको विलक्षणताको तुलनामा महान् युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन्।'

अहो ! यस्तो गौरवशाली अतीत हुँदाहुँदै पनि किन आज हाम्रो आँखामा ज्ञानको अन्धोपना छायो? किन हामीले हाम्रा पूर्वज ऋषिमुनिहरूको ज्ञान तथा दर्शनलाई अपनाउन सकेनौं? किन दियोमुनिको अँध्यारो भयौं? किन टाढाटाढासम्म सम्मानित रहेको हाम्रो पूर्वीय दर्शन आज आफ्नै घरआँगनमा अपमानित हुन पुग्यो? यो विषयमा अब नेपालका विद्वान्, राजनीतिज्ञ, धार्मिक गुरु, युवा विद्यार्थी तथा समस्त चेतनशील वर्गले भित्रैदेखि आत्मसात् गर्नुपर्ने देखिन्छ।

साभार: अन्नपूर्ण पोष्ट

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

छाउगोठको बास जनावर भन्दा देवताको डर

Chaupadi

जाजरकोट । जुनीचाँदे ४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस...