बागलुङको ढोरपाटन पूर्ण खोपयुक्त घोषित

Khop

बागलुङ । ढोरपाटन नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुुक्त नगर बनेको छ ।

जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका कुनै पनि बालबालिका यस वर्ष नियमित खोपबाट वञ्चित नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

घोषणाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिका, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, वडामा रहेका स्वास्थ्यचौकी, खोप समन्वय समिति र स्वास्थ्य संस्था व्यवस्थापन समितिले संयुक्त पहल गरेका थिए । नगरका सबै वडामा रहेका खोप पाउने उमेरका सबै बालिबालिकालाई खोपको सुनिश्चितता भएपछि पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताए ।

बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपबी, डिपिटी, दादुरा, रुबेला, टिटी, जेईजस्ता खोप पूर्णरुपमा पाइरहेको उहाँको भनाइ छ । ‘घोषणासँगै आउँदा दिनमा पनि सबै बालबालिकालाई नियमित खोप दिलाउने सुनिश्चितता गरिएको छ’ तिवारीले भने । घोषणा कार्यक्रममा सहभागी सरोकार भएका सबै पक्षले बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

खोप नियमित रुपमा पाएका खण्डमा शिशु तथा बालबालिकालाई १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मी बताउँछन् । कुनै पनि बालबालिका खोपबाट वञ्चित नहून् र नियमित पाउनुपर्ने खोपको सुनिश्चितता होस् भनेर पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइरहेको छ ।

बालबालिकाले खोप पाए/नपाएको बारे यकिन गर्ने दायित्व अभिभावकको समेत भएकाले सजग रहन कार्यालयले आग्रह गरेको छ । यसअघि जिल्लास्थित साविकका ११ गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको थियो । तीमध्ये ढोरपाटनमा पर्ने साविकका केही गाविस पनि घोषणा भइसकेका थिए ।

घोषणा कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सजग हुनुपर्ने तथा सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय जनप्रतिनिधिले समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

घोषणा कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाइने नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । बागलुङ जिल्ला पूर्ण साक्षर र खुला दिसामुक्त जिल्ला यसअघि नै घोषणा भइसकेको छ । जिल्लालाई घरभित्रको धुवाँमुक्त जिल्ला बनाउने अभियान पनि सँगैसँगै चलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...