उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन

Dr. devkota

काठमाडौं । लण्डनस्थित किङ्स कलेज हस्पिटलमा वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको उपचार भइरहेका बेला काठमाडौंकी रहेकी सरला रिजाललाई आघात पर्‍यो । आफ्ना पति वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग राति सुत्ने बेला सल्लाह गरिन्। भावुक बनेका दम्पत्तिको राय मिल्यो ‘डा.देवकोटालाई निको होस भन्ने कामनाका साथ दीप प्रज्वलन गर्ने।’

दुई वर्षअघि सरलालाई पेटको क्यान्सर भएको थियो । अप्रेशनपछि अहिले बिसेक भइरहेको छ। चर्चित न्युरो सर्जन डा. देवकोटा आकस्मिक रुपमा बेहोस भएपछि उपचाररत भएको समाचार सार्वजनिक भएपछि उनी भावुक भइन् । तर, दीप प्रज्वलन कहाँ गर्ने ?कसरी गर्ने ? यी प्रश्नले दम्पत्तिलाई खेदिरह्यो ।

उनै दम्पत्तिको परिकल्पनालाई सार्थक तुल्याउन अन्य चिकित्सकले पनि आइतबार मध्यान्ह १२ बजे स्टेस्थेस्कोप बिसाए । प्रेस्क्राइब गर्ने कलम थन्काए र हान्निए, पशुपतिनाथको शरणमा। अगुवाको भूमिका निर्वाह गरेका डा. रिजाल आफै पनि एक महिलाको अप्रेशन गर्नुपर्ने कामलाई रोकेर मन्दिर आएका थिए । उनलाई पूर्व मन्त्री मोदनाथ प्रश्रित, एमाले सांसद रामेश्वर फुयाँल लगायतकाले पच्छाए ।

उपचाररत ६३ वर्षीय डा. देवकोटालाई निको होस भन्दै पशुपति परिसरमा चिकित्सकले लर्को लागेर कामना गर्दै दीप प्रज्वलन गरेको दृश्यले सर्वसाधारण अचम्भित देखिन्थे । सम्भवतः पहिलो पटक चिकित्सकले भगवानको शरणमा पुगेर गरेको प्रार्थनालाई धेरैले विष्यमका साथ हेरिरहे ।

यद्यपी, उपस्थित चिकित्सकदेखि सर्वसाधारणसम्मको एउटै कौतुहल थियो, ‘डा देवकोटालाई भएको के हो ? के उनी ठिक भएर फर्कलान ?’ रिजालले भने, ‘गल ब्लाडर (पित्त थैली)को समस्या हो भन्ने सबैलाई थाहा भयो । तर अब कुन खालको समस्या हो । निको हुन सक्ने/नसक्ने ? अप्रेशन हुन सक्ने/नसक्ने डिटेलमा थाहा पाए भने जानकारी गराउँछु। तर, उहाँचाहिँ अस्पतालमै हुनुहुन्छ। उहाँको उपचार भइरहेको छ।’

व्यक्तिगत सूचना सार्वजनिक नगर्ने अस्पतालको प्रचलन अनुरुप डा। देवकोटाको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरिएको छैन । परिवारले पनि औपचारिकरुपमा सञ्चारमाध्यमलाई केही बताएको छैन । उनकी पत्नी डा. मधु देवकोटा पनि साथमै छिन् । छोरी पनि लन्डनमै अध्ययनरत छिन् । तर, आफन्तलाई समेत स्वास्थ्यका बारेमा केही नबताएका कारण कौतुहलता विस्तार भइरहेको छ।

डा. देवकोटा, जसले हजारौं विरामीलाई जीवनदान दिएकोले शीघ्र स्वास्थ्यलाभको कामना गरिएको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा।रिजालले बताए । उनले भने, ‘उहाँ विरामी हुनुहुन्छ भन्ने सुनेपछि शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो । धेरैैं सहभागीले दीप प्रज्वलनका साथ गरिएको प्रार्थना भगवान पशुपतिनाथले अवश्य सुन्नुहुन्छ भन्ने विश्वास लागेको छ।’

त्यहिँ विश्वासमा विश्वस्त देखिन्थे, वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द श्रेष्ठ, डा. हरिश जोशी, डा. मुकुन्द ढुंगाना लगायतका चिकित्सक, बिरामी चिकित्सकलाई निको होस भन्ने कामनाकासाथ डेढ सय दीप प्रज्वलन गरे। अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस