शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

Hlth bma

चितवन । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो ।

जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९९९, खैरहनी नगरपालिकाका ८ हजार ८३४, रत्ननगर नगरपालिकाका ११ हजार ३४१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

यस्तै कालिका नगरपालिकाका ५ हजार ९९, माडी नगरपालिकाका ३ हजार ४३६ र इच्छाकामना गाउँपालिकाका ५६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताए ।

बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उनले जानकारी दिए । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो ।

पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत ५ जनाको परिवारले वार्षिक २ हजार ५ सय बीमा शुल्क भुक्तानी गरेपछि ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजारसम्मको उपचार सेवा थपिनेछ ।

यो कार्यक्रमको अधिकतम सीमा १ लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

 

प्रतिकृया दिनुहोस