रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप,

१४ प्रहरी र गठबन्धनका ३ कार्यकर्ता घाइते

Jhadep 15

रौतहट । रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परेर १४ प्रहरी र ३ जना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो ।

एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुुंगामुुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुुग्यास सेल प्रहार गर्नुु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताए ।

झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये २ जनाको चन्द्रनिगाहपुुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।

त्यसैगरी प्रहरीतर्फ १० र ४ जना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । २ जनाको टाउकामा टाँका लागेको, एकजनाको हात भाँचिएको, एकजना प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाए ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दलका कार्यकर्ताले काम गरेको पाइएमा अथवा सूचना आएमा नियमानुुसार कार्यवाही गर्ने बताए । गए राति भएको घटनाको छानबिनसमेत भइरहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस