ठेक्का लिएर काम नगर्ने ठेकेदार चुनावी मैदानमा

Cij 30

काठमाडौं । निर्माण व्यवसायीहरू पनि दलहरूको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छन् । निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका भनाइमा, ‘धेरैजसो व्यवसायी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भएकोले उम्मेदवार भएका हुन् ।’
नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट पाउनेमा दिलमान पाख्रिन (धादिङ क्षेत्र नं. २) मोहन आचार्य (रसुवा), तीर्थ लामा (काभ्रे क्षेत्र नं. १), कान्छाराम उपनामले चिनिने पूर्णबहादुर तामाङ (रामेछाप क्षेत्र नं. २), इन्द्रबहादुर बानियाँ (मकवानपुर क्षेत्र नं. २ ‘ख’), राजु थापा (स्याङ्जा क्षेत्र नं. १), हरिशप्रसाद महतो (सर्लाही क्षेत्र नं. ३), गणेश लामा (काभ्रे क्षेत्र नं. १ ‘ख’), छत्रबहादुर बम्जन (सिन्धुली क्षेत्र नं. २), टेकबहादुर गुरुङ (मनाङ) छन् ।

दैलेखमा कांग्रेसको वागी उम्मेदवार रहेका गणेशबहादुर खड्का र एमालेबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा उठेका जनार्दन ढकाल (रसुवा) र चन्द्र लामा (काभे्र क्षेत्र नं. १ ‘ख’, प्रदेश सभाका उम्मेदवार खड्गबहादुर खत्री (सुर्खेत क्षेत्र नं. १ ‘क’) को पृष्ठभूमि पनि ठेकेदारी नै हो । जुम्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी देवेन्द्रबहादुर शाही निर्माण व्यवसायी हुन् ।

यसैगरी जुम्ला ‘क’ बाट प्रदेश सभाका प्रत्यासी नेपाली कांग्रेसका राजसिंह कठायत पनि जिल्लाका सक्रिय निर्माण व्यवसायी हुन् । त्यसैगरी सिरहा क्षेत्र नं. १ ‘क’ बाट प्रदेश सभामा समाजवादी फोरमका उम्मेदवार बैजनाथ साह पनि निर्माण व्यवसायी हुन् । निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य साह बीपी कन्स्ट्रक्सनका सञ्चालक हुन् । महासंघका अनुसार, प्रत्यक्ष र समानुपातिकमा गरेर चुनाव लड्ने व्यवसायीको संख्या ३५ हाराहारी हुन सक्छ ।

राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एण्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्सन प्रालि (पूर्णबहादुर तामाङको कम्पनी) जेभीले पाएको थियो । सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीन पटकसम्म ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएपछि मात्रै उसले बल्लतल्ल त्यो काम सकेको थियो । ठेक्का सम्झौतामा भनिएबमोजिम गुणस्तरीय काम नगरेकोले उसले अझै अन्तिम किस्ता भुक्तानी पाएको छैन ।

ठेकेदार तामाङ नेपाली कांग्रेसको तर्फबाट रामेछाप क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फका उम्मेदवार छन् । उनैले लिएको विराटनगर–दुहवी सडकको विस्तार कार्य वर्षौंदेखि लथालिंग अवस्थामा छ । सडक विभागले तयार पारेको अलपत्र आयोजनाको सूचीमा तामाङकै जेभीमा रहेको पाल्पाको ५ करोड ४७ लाखको अर्काे एक ठेक्का चार वर्षदेखि अलपत्र अवस्थामा रहेको उल्लेख छ ।

ठेकेदारहरू जीपछिरिङ लामा (लामा कन्स्ट्रक्सन), बहादुर सिं लामा (हिमदुङ एण्ड ठोकर प्रालि) यो निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिक तर्फका उम्मेदवार छन् । लामाले ठेक्का पाएको बिरिङ पुल, सुनकोशी पुल खैरेनीघाट, लिवाङ घर्तीगाउँ सडक अन्तर्गतको माडीखोला पुललगायत ६ वटा ठेक्काको काम वर्षौंदेखि अलपत्र छ ।

हिमदुङ ठोकरले लिएको वसन्तपुर म्याङलुङ लगायतका कुल ६ करोड ९० लाखका विभिन्न आयोजना अहिले पनि अलपत्र अवस्थामा छन् । ठोकरले लुम्बिनीमा बनाउँदै गरेको बुद्धिष्ट सर्किट सडकको निर्माण सुस्त गतिमा छ । २०७३ असारमा एक वर्ष म्याद थपियो तर थपिएको समयमा पनि सम्पन्न हुने गतिमा काम भइरहेको छैन ।
२०६७÷६८ मा हिमदुङ एण्ड ठोकर जेभीले धनकुटा डिभिजनअन्तर्गतको तेह्रथुमको मोराहाङ र पोक्लावाङ स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । उसले मोराहाङको ‘सिल लेभल’ र पोक्लाहाङमा ‘लेन्टिल लेभल’ सम्मको काम मात्र गरेर छाडेको छ ।

काठमाडौंकोे कमलपोखरीदेखि रातोपुलसम्मको सडक विस्तार ठेक्कामा गणेश लामाले सरकारलाई वर्षौंैसम्म झुलाएका थिए । उनै लामा अहिले काभ्रे जिल्लाबाट प्रदेश सभाको उम्मेदवार छन् । लामाको सिरुवा कन्स्ट्रक्सनले मजदूर कम्पनीसँग जेभीमा लिएको दैलेखको गोगनपानी स्वास्थ्य चौकी निर्माणको २ करोड ३२ लाखको ठेक्का समयमै नसकेकोले २०७४ भदौमा ६ महीनाका लागि म्याद थप गरिएको छ ।

कालिका कन्स्ट्रक्सन प्रालिका प्रमुख विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षमा चुनाव लड्दैछन् । कालिका कन्स्ट्रक्सनका कतिपय कामको प्रशंसा भए पनि उनले पनि सकेको ठाउँमा आफ्नो पहुँच प्रयोग गरेर फाइदा उठाउन बाँकी राखेका छैनन् । हुलाससँग जेभीमा ठेक्का लिएको दूधकोशी नदीको जयरामघाट पुल ९ वर्ष भइसक्यो, अझै सकिएको छैन ।

सडक विभागको रेकर्डले २०७३ फागुनसम्म यो आयोजनामा जम्मा ५२ प्रतिशत मात्रै काम भएको देखाउँछ । यसको ठेक्का अंक ११ करोड ९५ लाख छ । त्यस्तै ९ वर्षअघि २०६५/६६ मा कालिकाले नै ओइसिससँग जेभीमा ११ करोड ७९ लाखमा लिएको सुनसरी मोरङ पुल आयोजनाअन्तर्गतको काम अहिलेसम्म पनि सकिएको छैन ।

सगरमाथा राजमार्गअन्तर्गत खोटाङकोे राजापानी र बतासे जोड्ने साप्सुखोलाको पुलको निर्माण कार्य देवसायर र कान्छाराम जेभीले २०७१ सालमा ठेक्का लिए । दुई वर्षमा सक्ने गरी ठेक्का लिएको ६ करोडको मोटरेबल पुलको पिलर ठड्याउने र ‘टसल’ हाल्ने बाहेक केही काम भएको छैन । ढिलासुस्ती बापत पटक पटक हर्जाना तिरे पनि अझैसम्म उसले काम अगाडि बढाएको छैन ।

काम लिने, तर नगर्ने
२०७३ चैतमा समाजवादी फोरम प्रवेश गरेका पप्पु कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर हरिनारायण रौनियार पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि चुनाव लड्दैछन् । ‘आफूसँग कुल ५ किमीको पुलको ठेक्का रहेको’ हाकाहाकी दाबी गर्ने रौनियारका मात्रै आधा दर्जन ठेक्का रुग्ण ९अलपत्र० अवस्थामा छन् ।

अलपत्र आधा दर्जन आयोजना मात्रै करीब ८० करोड हाराहारीका छन् । सडक विभागका एक अधिकारीका भनाइमा, ‘ठेक्का लिएर काम नगर्ने र राजनीतिक आडमा सरकारी निकाय सताउनेमा उनी एक नम्बरमै पर्छन् ।’

२०६६ सालमा तत्कालीन हेटौंडा सडक डिभिजन कार्यालयका प्रमुख दयाकान्त झाले पप्पु कन्स्ट्रक्सन प्रालिलाई कारबाही गरे । तीनवटा ठेक्कामा नक्कली कागजात प्रयोग गरेको पाइएपछि झाले पप्पुलाई कालो सूचीमा राख्न सिफारिश गरे । तर, झाका लागि त्यो काम ‘महङ्गो’ सावित भयो । पप्पुका प्रोप्राइटर हरिनारायण रौनियारले कार्यालय प्रमुख झा विरुद्ध अख्तियारमा उजुरी हाले । तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले झाको बचाउ गरेनन् । उल्टै झालाई विभागमा सरुवा गरियो ।

सडक विभागमा झा विना जिम्मेवारी महीनौं बस्न बाध्य भए । उनले करीब एक वर्षसम्म अख्तियार धाउनु प¥यो । झालाई सार्वजनिक रूपमा बेइज्जत गरियो । तत्कालीन सार्वजनिक अनुगमन कार्यालयका प्रमुख तथा सचिव बजरंगप्रसाद साह पनि पप्पुको प्रभावमा परे । एक वर्ष अर्थात् साह त्यहाँ रहँदासम्म पप्पुलाई कुनै कारबाही भएन । उनी त्यहाँबाट हटिसकेपछि कालोसूची पनि न्यूनतम अर्थात् एक वर्ष मात्रै कायम भयो । त्यो एक वर्षमा पनि पप्पु कन्स्ट्रक्सनले लिन सक्ने सबै ठेक्का लियो । एक वर्षपछि कालोसूची पनि फुकुवा भयो । झा चाहिं हालै मात्रै सडक विभागबाट सेवा निवृत्त भएका छन् ।

‘चोरलाई चौतारो साधुलाई शूली’ चरितार्थ गर्ने उदाहरण थियो, त्यो । सडक विभागका एकजना इन्जिनियरका भनाइमा, ‘यो घटना थाहा पाएपछि विभागका जोकोही इन्जिनियरहरू ठेकेदारलाई कालोसूचीमा राख्ने आँट गर्दैनन् । यसपछिका प्रमुखहरूले पनि आफू प्रमुख रहुञ्जेल जोखिम उठाएनन् । कतिपय त कारबाही गर्नैपर्ने अवस्था आउँदा सरुवा मागेर अन्यत्रै गए ।’

विभागका एक जना वरिष्ठ इन्जिनियरले भने, ‘पप्पु कन्स्ट्रक्सनले त ठेक्का नै नपाए हुन्थ्यो, पायो भने पनि काम नगरिदिए हुन्थ्यो भन्ने ठान्छन् प्रोजेक्ट म्यानेजरहरू । किनकि उसले जस्तो काम गरे पनि सदर गर्नुपर्छ भन्ने भय छ विभागमा ।’ उनले भने, ‘यो भनेको जुनसुकै वेला फस्न तयार भएर बस्नु हो ।’

२०७४ साउनमा पूर्वी तराईमा बाढीले दर्जनांै पुलमा क्षति पु¥यायो । ती पुल सामान्य मर्मतपछि प्रयोगमा आइसके । ती सबैजसो पुल ४० देखि ५० वर्ष पुराना थिए । तर, बर्दियाको बबई नदीको ४२५ मीटर लामो पुल बनाएर हस्तान्तरण नहुँदै तीनवटा पाइल (फलामको खम्बा) भासिए । अहिले पुल प्रयोग गर्नै मिल्दैन । ४०/५० वर्षअघिको पुल उस्तै बाढीले सामान्य क्षति हुने तर बनिनसक्दै बबईको पुल क्षतविक्षत भएकोमा इन्जिनियरहरू आश्चर्य व्यक्त गर्छन् । तर, यो बर्बादीमा पनि उनीहरू केही गर्न सक्दैनन्, किनकि यो पुल निर्माण गर्ने कम्पनी पप्पु कन्स्ट्रक्सन हो ।

विभागले पनि कुन कुन ठेकेदारले कति पुलको ठेक्का पाएका छन् भन्ने एकीकृत विवरण उपलब्ध गराउन सकेन । विभाग स्रोतका अनुमानमा २०७४ भदौसम्म करीब १२०० पुलहरू ९२० देखि ८०० मीटरसम्मका निर्माणाधीन अवस्थामा छन् । १७ भदौमा निर्माण व्यवसायी महासंघको १९औं महाधिवेशन समारोहमा सोल्टी होटलमा भेटिएका पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारले ‘अधिकांश पुलको ठेक्का आफूसँग रहेको’ गर्वका साथ सुनाएका थिए ।

पप्पुले तिरुपति प्रालिसँगको जेभीमा भवन विभाग सुर्खेत डिभिजनअन्तर्गत पर्ने एक स्वास्थ्य चौकीको काम अलपत्र छाडेको भवन विभागको रुग्ण आयोजना सम्बन्धी डकुमेन्टले देखाउँछ ।

संसद्को तत्कालीन विकास समितिका सदस्य तथा सिन्धुलीका तत्कालीन सांसद् गणेश पहाडीले सिन्धुलीको कमला नदीको ४०० मीटर लामो पुल बनाउने जिम्मा लिएको ठेकेदार पप्पु कन्स्ट्रक्सनले वर्षौंसम्म काम नगरेको बताए । उनले भने, ‘ठेक्का लिएको पाँच वर्ष हुनलाग्यो काम नै शुरु भएको छैन । विभागले उसलाई कारबाही गर्दैन ।’

तर पप्पु कन्स्ट्रक्सनका प्रमुखको गुनासो सरकारप्रति छ । अहिले आफ्नो निर्माण व्यवसाय सबै छोराले हेर्ने गरेको बताउने पप्पुका म्यानेजिङ डाइरेक्टर रौनियारले भने, ‘परियोजनाहरू समयमा नसकिनुमा हाम्रो कुनै गल्ती छैन । आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइनु, हावा तालमा डिजाइन हुनु र समयमा जग्गा अधिग्रहण नहुनु मुख्य कारण हुन् ।’

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस