उस्तै छ तातोपानीको पीडा, बढ्दै छ सास्ती

Tatopani ko pida

तातोपानी । नेपालको राजधानीबाट चीन जोड्ने सबैभन्दा छोटो दुरीको नाका तातोपानी आज तातोपानी जस्तो छैन । हिजोको तातोपानी आज सबैका लागि विरानो भएको छ । तर तातोपानी र व्यवहारमा भने चिसो पानीझै भएको छ ।

भूकम्पअघि निक्कै चहलपहल हुने तातोपानी आसपासको बस्ती हिजोआज सुनसान देखिन्छ । बाह्रबिसेको खुसार्नी बारीबाट तातोपानीतर्फको भीर र भोटेकोशी बाढीले भत्काएका दृष्य देख्दा सबैलाई अचम्म पार्छ । भूकम्पअघि तातोपानी पुगेर सामान खरिद गर्ने तातोपानीमा स्नान गर्नेहरुको मन त्यो दृष्ण्ले त्यसै पनि पोल्छ ।

भूकम्प गएको ३० महिना बितिसक्दा पनि तातोपानी, मार्मिङ, लिस्ती, फुल्पिङकटिका स्थानीय अझैं पनि त्रस्त छन् । बाह्रबिसेबाट तातोपानी लाग्दा त्यस भेगका बस्तीहरु अहिले पनि उजाडिएका छन् । कुनै समय दिनरात ब्यस्त रहने तातोपानी बाह्रबिसेको सडकखण्ड अहिले दिउँसो ३ नबज्दै सुनसान हुन्छन् ।

आफनो जन्मथलो चिराचिरा भएर खस्न ठिक्क परेका पहाड मुनीको जग्गामा बस्नु पर्दाको पीडा सबैको मुहारमा देख्न सकिन्छ । सरकारले भूकम्प पीडितको उचित व्यवस्थापन गर्न नसक्दा झिंगानेको झिक्राले बारेकोे छाप्रोमा कठिन दैनिकी चलाउनुपर्ने गुनासो छ यहाँको पीडितसँग । सरकारी र गैरसरकारी संस्थाले यस्तो र उस्तो घर बनाउनुपर्छ भनेर पीडितलाई कण्ठस्त पारिसके । तर, यो क्षेत्रमा भने पीडितले कहाँ गएर सुरक्षित घर बनाउने हो, अलमलमा छन् ।

सबैका अनुहारमा पीडा
भूकम्पपछि गएको सुख्खा पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् । पक्की घरमा मानिस हैन, ठूल्ठूला ढुंगाले घेरिका छन् । अझ पीडा त के छ भने खोलाको किनारबाट करोड खर्चिएर बनाइएको घरमा एक महिनासमेत राम्रोसँग बस्न नपाएका तातोपानीका नोर्साङ शेर्पाको पीडा पनि उस्तै छ ।

भूकम्पपछि निरन्तर गइरहने सुख्खा पहिरो र पटक पटकको भोटेकोशी बाढीले जिल्लाकै पर्यटकीय र व्यापारीक क्षेत्र भनी चिनिएका गाति, मार्मिङ, फुल्पिङकट्टि, लिस्ति, तातोपानी जस्ता बस्तीहरु उजाड बन्दै गएका छन् ।

पैसा हुने र सम्पन्नहरु बस्ती छाडेर अन्यन्त्र बसाई सरिसकेका छन् । तर, आर्थिक रुपले पछाडि परेका र तातोपानी नाकामा भारी बोकेर गुजारा चलाउनेहरुलाई बस्ती, बास र जग्गाको नै पीर चिन्ता छ । उनीहरु पहिरो र बाढीको त्रासमा दिन कटाइरहेका छन् ।

‘घर बनाउँ भने जमिन छैन भन्दै वडामा खटिएका ईन्जिनियर सुझाव दिन्छन्, नबनाउ भने पनि कति टहरोमा बस्ने ?’ आफ्नो दुःख सुनाउँदै भोटेकोशी गाउँपालिका मार्मिङका लोत्साङ तामाङ भन्छिन्, ‘हामीले पनि भोट हालेरै जिताएको हो । तर, हामीलाई नागरिकको व्यवहार गरिएन ।’

सुख्खा पहिरो गएपछि मार्मिङमा बस्दै आएकी तामाङलाई ईन्जिनियरले अहिले बस्दै आएको स्थानमा घर नबनाउन सुझाव दिएका छन् । तर, जिल्लाबाट कसैले सहयोग नगर्दा उनलाई निक्कै समस्या परेको छ ।

उमेरले ५५ टेकेकी तातोपानी लिस्ती की पासाङ बुटी शेर्पाको मनमा चिन्ता र डर मात्र छ । भूकम्पले घरबारी लगेपछि तातोपानीबाट लिस्ती आएर बसेको ३० महिना भइसक्यो । अझैं कतिञ्न्जेल यसरी बस्नुपर्ने हो उनी अन्योलमा परेकी छन् ।

भूकम्पपछिको पहिरोको डरले आफ्नो जग्गामा बस्न नसक्ने भएपछि अरुको जग्गामा बस्दै आएकी उनको १ नाति र २ नातिनी बिहान ९ बजे १ घण्टाको दुरीमा रहेको भाटाभुरे मावि जान्छन् । चिराचिरा भएको पहाड , साँगुरो भीरको बाटो छिचोलेर जान्छन् । बिहान हास्दै स्कुल पढ्न गएका नातिनातिना सकुसल नफर्किएलान की भन्ने सधैं चिन्ता भइरहन्छ ।

भूकम्पले पीडा त सबैलाई दिएकै छ । तर, तातोपानी क्षेत्रको समस्या अरुको भन्दा फरक छ । अस्थायी टहरोमा नयाँ मान्छे पुग्ने वित्तिकै सरकारले सुरक्षित थलो र ज्यान लुकाउने घर कहिले दिन्छ भन्दै उनीहरु प्रश्न गर्छन् । सकुञ्जेल त यहाँका पीडित समस्या लुकाएर कष्टकर दैनिकी काट्ने प्रयास गर्छन् । तर, सधैँभरी यसरी दैनिकी चलाउन गाह्रो हुने भएकाले सरकारले नै केही गरिदिन्छ की भन्ने आसमा रहन्छन् ।

अझै बन्न सकेन बेलिब्रिज पुल
भूकम्पको पीडितले सताएको यस भेगका स्थानीयलाई पुल नबन्दा झन समस्या थपिएको छ । गत साउनमा झरेको सुख्खा पहिरोले तातोपानी र फुल्पिङकट्टि हुँदै खासा जाने लार्चा पक्की पुल भाँचिएपछि अहिलेसम्म सरकारी निकायले चासो देखाएको छैन ।

स्थानीयले पटक–पटक पुल निर्माण गर्न आवाज उठाउँदै आए पनि सरकारी निकायले चासो नदिएपछि अहिले त्यस भेगका स्थानीयहरु बिरामी हुँदासमेत समयमा उपचार नपाउने अवस्थामा छन् ।एकातिर भूकम्पको पीडा त छ नै, भोटेकोशी वारीपारी गर्न पुल नबन्दा थप समस्यामा परेको तातोपानीको स्थानीय मिङमार लामा बताउँछन् । ‘विरामी हुँदासमेत हामीले समयमा उपचार गर्न पाएका छैनौँ’ उनी भन्छन्, ‘कम्तीमा पनि सरकारले पुल बनाइदिए त हामीले शान्तिसँग बाच्न पाउथ्यौं ।’

प्रतिकृया दिनुहोस