बीमा कार्यक्रम प्रभावकारी बन्दै

Health insurence

चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् ।

जसमध्ये असार अगाडि बीमा गराएका ३६ हजार सदस्यले सेवा लिइरहेका छन् । पौडेलका अनुसार गतवर्षको भदौ १ गतेबाट असारसम्म बीमा गरेकाले सेवा लिन थालेका हुन् ।

हालसम्म ५ हजार ३७१ जनाले विभिन्न अस्पतालमार्फत उपचार गराइ बीमा रकम दाबीगरी लिएको पौडेलले बताए । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारले वार्षिक २ हजार ५ सय बीमा शुल्क भुक्तानी गरेपछि ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजार उपचार सेवा थपिनेछ । ५ जनासम्मका लागि ५० हजार अनिवार्य गरिएको छ ।

यो कार्यक्रमको अधिकतम सीमा १ लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

 

प्रतिकृया दिनुहोस