विश्वविद्यालयमा बेतिथि : त्रिविमा जागिर, निजीमा काम

Dhruba bhattarai

काठमाडौं । अमृत साइन्स क्याम्पस लैनचौरका सह–प्राध्यापक डा. सुरेन्द्रप्रसाद सिंह पेन्टागन कलेजका अध्यक्ष हुन् । उनी हिसानका उपाध्यक्ष पनि छन् । तर शैक्षिक क्षेत्रमा उनी एसपी सिंहको नामले बढी चिनिन्छन् । उनीविरुद्ध पनि सतर्कता केन्द्रमा उजुरी परेपछि त्रिविको टोली अनुगमनको लागि अमृत क्याम्पस र पेन्टागन कलेज गयो ।

तर अमृत क्याम्पसले सुरेन्द्रप्रसाद सिंह नाम गरेको व्यक्ति आफ्नो क्याम्पसमै नरहेको भनेर पत्र बुझनै मानेन । पेन्टागनले पनि आफ्नो कलेजमा सो नाम गरेको व्यक्ति नरहेको भन्ने जवाफ दियो । तर त्रिविको टोलीले यति पनि पत्तो पाउन सकेन कि एसपी सिंह नाम गरेकोे व्यक्ति सुरेन्द्रप्रसाद नै हुन् । उनै सुरेन्द्रप्रसाद सिंहले पेन्टागन कलेजको वेबसाइटमा एसपी सिंहको नाममा कलेज अध्यक्षको हैसियतमा ‘वेलकम नोट’ राखेका छन् । त्रिविबाट सेवा निवृत्त हुने क्रममा रहेका सिंह हाल अमृत साइन्समा विदामा बसेर पेन्टागनमा समय बिताउँछन् ।

नियम विपरीत कार्य गर्ने अध्यापकहरूलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि रजिष्ट्रारको कार्यालयलाई पठाएको पत्र । र, निजी शैक्षिक संस्था सञ्चालन गर्ने र अनुमति विपरीत निजी क्याम्पसमा अध्यापन गर्नेहरूमाथि अनुगमन गरी त्रिवि अनुगमन निर्देशनालयले तयार गरेको प्रतिवेदन ।

त्रिचन्द्र क्याम्पसका ध्रुव भट्टराईविरुद्ध पनि काठमाडौं मोेडेल कलेजको प्रिन्सिपल भएको भन्दै उजुरी प¥यो । उजुरी पश्चात् त्रिवि अनुगमन निर्देशनालयले भट्टराई र काठमाडौं मोडेल कलेजलाई पत्र पठाई त्यसबारे जवाफ पठाउन भन्यो ।

जवाफ पठाउँदै भट्टराईले आफू काठमाडौं मोडेल कलेजको प्रिन्सिपल नरहेको जनाए । कलेज प्रशासनले पनि सोही बेहोराको जवाफ त्रिविलाई पठायो । यही जवाफलाई स्वीकार्दै त्रिविले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएन । तर त्रिविले यतिसम्म पनि बुझन सकेन कि उनै भट्टराई काठमाडौं मोडल कलेजको संस्थापक हुन् । कलेजको वेबसाइटमै भट्टराईलाई संस्थापक सदस्य भनेर चिनाइएको छ ।

सरस्वती बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. खोमराज खरेल विरुद्ध पनि हेनरीफोर्ड कलेज, कलंकीमा अध्यक्ष भएको भन्दै उजुरी प¥यो । त्यसपछि त्रिवि अनुगमन टोलीले हेनरीफोर्ड कलेजमा अनुगमन ग¥यो । साथै खरेललाई स्पष्टीकरणको लागि पत्र पनि पठायो । पत्रको जवाफ लेख्दै खनालले आफू अध्यक्ष नरहेको जनाए ।

खरेलकै पत्रलाई विश्वास गरेर त्रिविले उनीमाथि थप अनुसन्धान गरेन । तर, अहिले पनि हेनरीफोर्ड कलेजको वेबसाइटमा खरेललाई अध्यक्ष नै भनेर चिनाइएको छ ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक पितृभक्त अधिकारीविरुद्ध पनि सेन्ट जेभियर्स कलेजमा कार्यरत रहेको भन्दै अख्तियारमा उजुरी प¥यो । यसबारे छानबीन गर्न अख्तियारले त्रिविलाई निर्देशन दियो । छानबीनको क्रममा त्रिविले अधिकारी स्वयम् र सेन्ट जेभियर्स स्कूललाई पत्र पठायो । दुवैले सेन्ट जेभियर्समा काम नगरेको जवाफ दिए । तर पितृभक्त अधिकारी अहिले पनि तिलिङटार उच्च माविमा आबद्ध रहेको सो क्याम्पसको वेबसाइटबाट थाहा हुन्छ ।

त्रिचन्द्रकै होमबहादुर बानियाँ एनआईसी कलेजका संस्थापक हुन् । उनी सगरमाथा इन्जिनियरिङ कलेजमा पनि आबद्ध छन् । त्रिचन्द्र क्याम्पसकै उप–प्राध्यापक रामेश्वर अर्याल र वाल्मीकि क्याम्पसका सह–प्राध्यापक किशोर गौतम पनि काठमाडौं मोडेल कलेजका संस्थापक सदस्य हुन् । कलेजको वेबसाइटअनुसार गौतम हिमालय कलेज अफ इन्जिनियररिङका निर्देशक पनि छन् ।

त्रिवि व्यवस्थापन केन्द्रीय विभागका सह–प्राध्यापक अजय ढकाल पनि काठमाडौं मोडेल उच्च माविका संस्थापक सदस्य हुन् । व्यवस्थापन विभागकै उप–प्राध्यापक भरतसिंह थापा एपेक्स कलेजका फ्याकल्टी सदस्य छन् । थापा आफू एपेक्स कलेजको एमबीए कोअर्डिनेटर समेत रहेको बताउँछन् । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागका भेषराज पोखरेल टेक्सस इन्टरनेशनल कलेजको निर्देशक रहेको कलेजको वेबसाइटमा उल्लेख छ । उनी टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्कको सीईओ समेत हुन् ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा.डा. व्रतराज आचार्य र प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल ज्ञानकुञ्ज कलेजको नेपाली विभाग सदस्य छन् । नेपाल कमर्स क्याम्पसका उप–प्राध्यापक जितेन्द्र उपाध्याय एभरेष्ट कलेजका विभागीय सदस्य हुन् । उपाध्यायले एभरेष्टमा एकाउन्टेन्सी पढाउँछन् ।

त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागका डा. सुरेन्द्रमान बज्राचार्य लोटस रिसर्च सेन्टरका सदस्यसचिव हुन् । उनलाई त्रिविले अनुमति बेगर अन्यत्र काम नगर्न सचेत मात्र गराएर छाडिदिएको छ ।

महाराजगञ्ज क्याम्पसका खेलानन्दप्रसाद सिंहलाई निजी शैक्षिक संस्थामा काम गरेको बारे त्रिविले नसिहत दिएको जनाएको छ । त्रिवि शिक्षा केन्द्रीय विभागका डा. प्रेमनारायण अर्यालले पनि पूर्वस्वीकृति विना निजी क्याम्पसमा अध्यापन गर्ने गरेका छन् । उनले त्रिविको नियम उल्लंघन गरेकोमा एउटा स्पष्टीकरण लेखेर छुटकारा पाएका छन् ।

मोफसलमा पनि उस्तै
त्रिवि अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसमा कार्यरत पूर्णकालीन शिक्षक या कर्मचारी अर्को कुनै संस्थामा पूर्णकालीन नै भएर काम गर्न पाइँदैन । यदि आंशिक रूपमा अन्यत्र काम गर्नु परेमा पनि त्यसको लागि त्रिवि अनुगमन निर्देशनालयबाट पूर्वस्वीकृति लिनुपर्छ ।

तर अहिले विना स्वीकृति विश्वविद्यालयबाहिर काम गर्ने प्राध्यापकहरूको जमात ठूलो छ । राजधानीमा मात्र होइन, अनुमति बेगर निजी क्याम्पसमा अध्यापन गर्नेहरू मोफसलमा पनि उत्तिकै छन् ।

भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापकहरू डा. शम्भुकुमार गुप्ता, डा. शंकरप्रसाद खनाल र सुभाषचन्द्र श्रीवास्तव पनि अनुमति विना निजी क्याम्पसमा काम गर्छन् । भैरहवा क्याम्पसकै उपप्राध्यापक पीताम्बर तिवारी र शिक्षक सहायक केशव शर्मा पनि निजी क्याम्पसमा काम गर्छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक भानुभक्त शर्मा कँडेल र सूर्यभक्त सिग्देल तथा रूपेन्देहीको बुटवल बहुमुखी क्याम्पसका सह–प्राध्यापक शान्ता शाक्य पनि विना अनुमति निजी क्याम्पसमा अध्यापन गरिरहेका छन् । उनीहरू कसैले पनि विश्वविद्यालयबाट अनुमति लिएका छैनन् ।

यी पात्रहरू त केही उदाहरण मात्र हुन् । सयौं प्राध्यापकहरूले निजी क्याम्पस सञ्चालन गर्ने तथा अनुमति विना अध्यापन गर्ने गरेका छन् । ‘निजी शैक्षिक संस्थाहरू धेरै खुलेका जिल्लाहरू जस्तै चितवन, विराटनगर, पोखरालगायतका ठाउँहरूमा त्रिविका शिक्षकहरूको मनपरी बढी भएको पाइन्छ’ त्रिवि अनुगमन निर्देशनालयका सदस्यसचिव विष्णुप्रसाद खनालले भने, ‘त्यहाँ सम्बन्धित क्याम्पसले नै कडा नियमन गरे नियन्त्रण हुन सक्छ, नत्र हामीले देशभर नियन्त्रण गर्न सम्भव छैन ।’

देशभर त्रिभुवन विश्वविद्याललयबाट सम्बन्धन प्राप्त क्याम्पस एक हजार ८४ वटा छन् । यस्तै आंगिक क्याम्पस ६० वटा छन् भने ३९ वटा केन्द्रीय विभागहरू छन् । त्रिविअन्तर्गत नौ वटा डीन कार्यालय, चार वटा अनुसन्धान केन्द्र र अन्य निकायहरू छन् ।

त्रिविका यी सबै निकायहरूमा देशभर १६ हजारभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् । त्रिविका अधिकांश शिक्षक कर्मचारीले अन्यत्र काम गर्ने गरेको पाइए पनि थोरैले मात्र पूर्वस्वीकृति लिने गरेका छन् । तर, अहिलेसम्म थोरै संख्याका पहुँचहीन शिक्षक र कर्मचारीलाई विभागीय कारबाही गरिएको भनेर त्रिवि उम्कने गरेको छ ।

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...