विश्वविद्यालय : त्रिविमा जागिर अन्यत्रै काम

Tu 31

काठमाडौं । काठमाडौंको गोल्डेन गेट इन्टरनेशनल कलेजको वेबसाइट खोल्नेवित्तिकै क्याम्पसका सीईओ रमेश सिलवालको स्वागत मन्तव्य पढ्न पाइन्छ । त्यहाँ उनले लेखेका छन्, ‘हाम्रो क्याम्पसको मुख्य उद्देश्य राम्रो शिक्षा र सोचको विकास गर्दै दक्ष विद्यार्थी उत्पादन गर्नु हो ।’ आफ्नो कलेजको वेबसाइटमा आदर्श सन्देश राख्ने सिलवाल आफंै भने विश्वविद्यालयको नियम मिच्ने प्राध्यापक हुन् ।

त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसमा पूर्णकालीन जागिरे भइसकेपछि निजी क्याम्पस सञ्चालन गरी त्यसको पदाधिकारी हुन पाइँदैन । तर सिलवाल त्रिचन्द्र क्याम्पसको सह–प्राध्यापक भइकन गोल्डेन गेट कलेजको पदाधिकारी पनि छन् । त्रिवि अनुगमन निर्देशनालयले उनलाई नियम उल्लंघन गरी निजी शैक्षिक संस्था चलाएको बारे पटक पटक स्पष्टीकरण सोधेको देखिन्छ । तर उनले त्यसलाई वास्ता गरेका छैनन् ।

त्रिवि उच्च स्रोतका अनुसार विश्वविद्यालय अनुगमन निर्देशनालयले नियम मिचेर निजी शैक्षिक संस्था चलाएकोबारे सिलवाललाई चार पटक (२०७३ कात्तिक, २०७३ मंसिर, २०७३ चैत र २०७४ वैशाख) स्पष्टीकरण सोधिएको छ । तर, उनले अहिलेसम्म पनि स्पष्टीकरण पठाएका छैनन् । २०७३ असारमा त्रिविले राय पेश गर्न पत्र लेख्दा उनले ‘आफू गोल्डेन गेट कलेजको विशेषज्ञ र परामर्शदाता मात्र रहेको’ जवाफ दिएका थिए । त्यसको दुई महिनापछि त्रिवि अनुगमन टोली उनको क्याम्पसमा पुग्दा उनले आफू कलेजको सीईओ नभई अध्यक्ष भएको बताएका थिए । तर गोल्डेन गेट क्याम्पसको वेबसाइटमा उनले सीईओको हैसियतमा स्वागत मन्तव्य नै राखेका छन् । सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष हुन् ।

सिलवालले आफूले त्रिचन्द्र क्याम्पसलाई कुनै हानिनोक्सानी नहुने गरी निजी क्याम्पस चलाएको बताए । ‘मैले निजी क्याम्पस चलाएका कारणले एक दिन पनि त्रिचन्द्रको क्लास (कक्षा) छोडेको छैन’ सिलवालले भने, ‘त्रिवि अनावश्यक रूपमा मेरो विरुद्ध लागेको छ ।’

उनले अब छिट्टै त्रिचन्द्र क्याम्पसबाट राजीनामा दिने बताए । ‘अहिलेका उपकुलपति (तीर्थ खनियाँ) पनि चार वर्षसम्म एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यक्ष भएर बसेका थिए’ सिलवालले प्रश्न गरे, ‘उनलाई भने कारबाही नहुने, म विरुद्ध चाहिँ त्रिवि लागिरहने ?’

विश्वविद्यालयको मापदण्ड नटेर्ने र त्रिवि कार्यकारी परिषद्ले कारबाही पनि गर्न नसक्ने अर्का निजी क्याम्पस सञ्चालक हुन् त्रिचन्द्र क्याम्पसकै सह–प्राध्यापक लक्ष्यबहादुर केसी । उनले त्रिवि नियमको ठाडो उल्लंघन गर्दै निजी क्याम्पस चलाइरहेका छन् ।

केसी एसएबी स्कूल, मैतिदेवीका अध्यक्ष तथा एनआईसी कलेजका संस्थापक हुन् । त्रिवि उच्च स्रोतका अनुसार, केसीलाई त्रिवि अनुगमन निर्देशनालयले स्पष्टीकरण दिन पाँच पटक (२०७३ जेठ, २०७३ भदौ, २०७३ कात्तिक, २०७३ चैत र २०७४ वैशाखमा) पत्राचार गरिसकेको छ । त्रिवि अनुगमन निर्देशनालयले एकपटक त केसीलाई भेटेरै पत्र थमाएको थियो । तर, अहिलेसम्म पनि उनले स्पष्टीकरण दिएका छैनन् । त्रिविको पटक पटकको ताकेता नटेर्ने केसी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का पूर्व अध्यक्ष हुन् ।

नियम विपरीत निजी कलेज सञ्चालन गरेको सम्बन्धमा केसीले भने, ‘म जस्तो सम्पूर्ण जीवन शिक्षा क्षेत्रमा समर्पित गरेको मान्छेले त्रिविमा काम गरेर बचेको समय निजी क्याम्पसमा दिनु नराम्रो होइन ।’ उनले ‘प्राध्यापकको इन्टलिजेन्स (बौद्धिकता) निजी क्याम्पसमा प्रयोग हुनु राम्रै हुने’ तर्क गरे । केसीले भने ‘त्रिविले सोधेको स्पष्टीकरणको जवाफ पठाइसकेको छु, विस्तारै त्रिचन्द्र क्याम्पसबाट राजीनामा दिने मन बनाएको छु ।’

सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्गका सह–प्राध्यापक कृष्णप्रसाद न्यौपाने नियम मिचेर निजी शैक्षिक संस्था सञ्चालन गर्ने अर्का व्यक्ति हुन् । उनी काष्ठमण्डप कलेजका अध्यक्ष हुन् ।

नियम विपरीत निजी शैक्षिक संस्था सञ्चालन गरेको बारे उजुरी परेपछि त्रिवि अनुगमन निर्देशनालयले उनलाई राय पेश गर्न पत्र पठाएको थियो । जवाफमा न्यौपानेले हाकाहाकी आफू अध्यक्ष नै रहेको जवाफ पठाइदिए । तर पनि न्यौपानेमाथि त्रिविले कारबाही चलाउन सकेको छैन । यसपछि पनि न्यौपानेलाई त्रिवि अनुगमन निर्देशनालयले स्पष्टीकरणको लागि पटक पटक ताकेता गरेकोे छ । तर, उनी टसमस नगरी बसेका छन् ।

त्रिवि नियम विपरीत निजी शैक्षिक संस्था सञ्चालन गरेको भनेर सिलवाल, केसी र न्यौपानेलगायतका व्यक्तिहरूविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको थियो । सतर्कता केन्द्रले ती उजुरी त्रिविलाई पठाएपछि अनुगमन निर्देशनालयले छानबीन गरेको हो ।

छानबीनपछि निर्देशनालयले सिलवाल, केसी र न्यौपानेले नियम मिचेको ठहर गर्दै कारबाहीको लागि त्रिवि कार्यकारी परिषद्लाई जिम्मा दियो । तर, कार्यकारी परिषद्ले अहिलेसम्म पनि उनीहरूलाई कारबाही गर्न सकेको छैन । त्रिवि उच्च सूत्रका भनाइमा, ‘उनीहरू अब त्रिवि छोड्नै पर्ने अवस्था आए पनि प्राध्यापक बनेर मात्र छाड्ने मनस्थितिमा छन् ।’

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार विश्वविद्यालयका पूर्णकालीन शिक्षक तथा कर्मचारी अर्को कुनै निजी क्याम्पसको सञ्चालक वा पदाधिकारी भएर काम गर्न पाउँदैन । निजी क्याम्पसहरूले पनि त्रिविबाट स्वीकृति नलिएको व्यक्तिलाई काममा लगाउन पाउँदैनन् । तर विश्वविद्यालयमा काम गर्ने शिक्षकहरूलाई त्रिविले अन्यत्र क्याम्पसमा शिफ्ट नजुध्ने गरी पढाउन भने अनुमति दिन सक्छ । तर यसका लागि स्वीकृति लिनुपर्छ ।

‘शिक्षक वा कर्मचारीले त्रिभुवन विश्वविद्यालय सम्बन्धी कामबाहेक कुनै प्रकारको अन्य रोजगारी कार्यकारी परिषद्बाट तोकिएको पदाधिकारी वा समितिको पूर्वस्वीकृति बेगर गर्नुहुँदैन’ नियमको परिच्छेद ९ (६९) मा लेखिएको छ– ‘त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा एकैसाथ पूरा वा आंशिक समयमा समेत कुनै नियुक्ति लिई वा नलिई काम गर्नुहुँदैन ।’

नियमको परिच्छेद ९ (७१) अनुसार त्रिविका शिक्षक तथा कर्मचारीले कुनै परामर्श वा अनुसन्धान सम्बन्धी प्रतिष्ठान खोल्न वा सञ्चालन गर्न चाहेमा उपकुलपतिको स्वीकृति लिनुपर्छ । नियममा भनिएको छ— ‘विश्वविद्यालयले शिक्षक कर्मचारीले गरेको लापरवाहीको प्रकृति हेरेर नसिहत दिने, ग्रेड, बढुवा रोक्का गर्ने तथा भविष्यमा विश्वविद्यालय सेवामा अयोग्य नठहरिने÷ठहरिने गरी बर्खास्त समेत गर्न सक्छ ।’

विश्वविद्यालयका विभिन्न केन्द्रीय विभाग र आंगिक क्याम्पसमा जागिर खाने तर आफ्नै लगानीमा निजी क्याम्पस सञ्चालन गरेर त्यसको पदाधिकारी भई काम गर्ने प्राध्यापकको संख्या ठूलो छ । सरकारी क्याम्पसमा नियुक्ति लिने तर निजी क्याम्पसमा लगानी गरी संस्थापक बन्ने मध्येमा थापाथली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मनोजकुमार थापा पनि एक हुन् ।

उनी काठमाडौं मोडेल उच्च माविका संस्थापक सदस्य हुन् । यसबारे उनलाई स्पष्टीकरण दिन त्रिवि अनुगमन निर्देशनालयले पत्र पठाएको थियो । तर सो पत्रको जवाफमा उनले ‘आफू काठमाडौं मोडल उच्च मावि र हिमालय कलेज अफ इन्जिनियरिङको शेयरधनी मात्र रहेको तर सञ्चालक नरहेको’ भनेर उम्किए ।

यस्तै अर्का एक शिक्षक हुन् पाटन संयुक्त क्याम्पस, पाटनढोकाका सह–प्राध्यापक ध्रुवराज श्रेष्ठ । उनले २०६८ कात्तिकदेखि २०७३ भदौसम्म बीपी मेमोरियल हेल्थ इन्ष्टिच्यूूट एण्ड रिसर्च सेन्टर, धापासीमा त्रिविको स्वीकृति विना काम गरे । त्रिविबाट होली भिजन टेक्निकल कलेजमा २०७२ असार मसान्तसम्म पढाउने भनेर अनुमति लिएका श्रेष्ठले पछि त्रिविकै आँखा छलेर कान्तिपुर डेन्टल कलेज बसुन्धरामा काम गरे । उनले त्रिवि रजिष्ट्रार कार्यालयलाई लेखेको पत्रमा बीपी मेमोरियलमा पढाउँदा अन्जानमा त्रिविको पूर्व स्वीकृति नलिएको भनेर स्वीकारेका छन् ।

अमृत साइन्स क्याम्पस, ठमेलका उप–प्राध्यापक जयप्रकाश हमालले पनि विना स्वीकृति मनमोहन मेमोरियल हेल्थ इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टर, सोल्टीमोडमा काम गरेको भेटियो । उनले त्यहाँ ३ मंसिर २०७० देखि ३० पुस २०७२ सम्म विना स्वीकृति काम गरेका थिए ।

हमालकै आग्रहमा त्रिविले उनलाई २०७२ असार मसान्तसम्मको लागि मात्र राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, बानेश्वरमा काम गर्न अनुमति दिएको थियो । तर, उनले नियम मिचेर मनमोहन मेमोरियलमा पनि काम गरेका थिए । हमालले त्रिविलाई पठाएको पत्रमा ‘अन्जानवश स्वीकृति नलिई मनमोहन मेमोरियलमा काम गरेको र त्रिविको जानकारी पाएलगत्तै काम छाडेको’ उल्लेख गरेका छन् ।

सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्गका शिक्षक सहायक जनक पौडेलले पनि त्रिविको अनुमति विना विगत तीन वर्षदेखि मनमोहन मेमोरियल हेल्थ इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टरमा काम गरिरहेका छन् । पौडेलले स्वीकृति विना शंकरापुर कलेज जोरपाटीमा पनि काम गरेका थिए ।

उनी गोंगबुको बीएसटी कलेजमा पनि कार्यरत थिए । तर पौडेलले ‘शैक्षिक सत्र २०७३/७४ मा मनमोहन मेमोरियलमा काम गर्नको लागि अनुमति लिएको तर त्यसभन्दा अगाडिको मितिमा पूर्व स्वीकृति लिनुपर्छ भन्ने ज्ञान नभएकोले अनुमति नलिएको’ स्वीकार गरेका छन् ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक वामदेव झले त्रिविको स्वीकृति नलिई २०६६ सालदेखि हालसम्म नेशनल कलेज अफ फूड साइन्स एण्ड रिसर्च टेक्नोलोजी, नयाँबजारमा काम गरिरहेका छन् । उनले त्रिविले सोधेको स्पष्टीकरणको जवाफमा ‘अन्जानवश भूल भएको’ उल्लेख गरेका छन् ।

पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका प्राध्यापक प्रदीपकुमार भट्टराईले त्रिविको स्वीकृति बेगर तिलिङटार मावि, धापासीमा काम गरिरहेका छन् । तर भट्टराईले त्रिवि अनुगमन समितिले अनुमति विना निजी क्याम्पसमा काम गरेकोबारे स्पष्टीकरण सोध्दा आफू कुनै निजी क्याम्पसमा संलग्न नरहेको जवाफ पठाएका थिए । उनले पठाएको पत्रमा भनिएको छ– ‘म सेवानिवृत्त हुन लागेको अवस्थामा त्रिविबाट यस्तो पत्र आउनु सम्मानजनक नभएको लागेको छ ।’ तिलिङटार माविले त्रिविलाई पत्र पठाउँदै भट्टराईले स्कूलको सल्लाहकारको रूपमा काम गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साल असार २२ गते त्रिविलाई पत्र पठाउँदै पद्मकन्याका प्रा. प्रदीपकुमार भट्टराई, थापाथलीका सह–प्राध्यापक मनोजकुमार थापा, पाटनका सह–प्राध्यापक ध्रुवराज श्रेष्ठ, त्रिचन्द्रका सह–प्राध्यापक वामदेव झ, अमृत साइन्सका उप–प्राध्यापक जयप्रकाश हमाल र सरस्वतीका शिक्षक सहायक जनक पौडेलले त्रिवि नियम विपरीत कार्य गरेकोले उनीहरूलाई कारबाही गर्न त्रिवि रजिष्ट्रार कार्यालयलाई पत्र पठाएको थियो । यद्यपि उनीहरूमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

खोज पत्रकारिता केन्द्रबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...