आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु

Aakha aspatal

चितवन । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपण शुरु गरिएको छ । भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गरिसकेको छ भने नानी संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि तयारी गरिरहेको छ ।

यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपणका लागि त्यहीँबाट मगाइने उनले बताए । नानी प्रत्यारोपणका लागि एकजना चिकित्सकले भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेका छन् ।

अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आइसकेको कार्यबाहक अध्यक्ष धरेलले बताए ।

नानी संकलनपछि अप्टिसोल मिडिया र कर्नीसोल मिडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी बिग्रिदैन । डा. पुष्पा गिरी श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ ।

आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । ११ हजारमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।

कुनै पनि व्यक्तिको मृत्यु भएको ६/७ घण्टाभित्रमा आँखाको नानी निकाल्न सके उत्तम हुन्छ तर १२ घण्टा सम्मको पनि नानी प्रयोगमा ल्याउन सकिने डा श्रेष्ठले बताए ।

सम्बन्धित मृतकका परिवारको स्वीकृतिमा मात्रै आँखाको नानी निकाल्न सकिने भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्कले बताए ।

अस्पतालले आँखा दान गर्न इच्छुक व्यक्तिलाई आह्वान पनि गरेको छ । आँखा दान गर्न इच्छुक व्यक्तिलाई परिचयपत्र दिइने र तीनको मृत्युभएपछि सम्बन्धित परिवारले अस्पताललाई खबर गर्नुपर्ने हुन्छ ।

डा. श्रेष्ठकाका अनुसार यहाँका अस्पतालसँगै देवघाट धाममा पनि आँखाको नानी संकलनका लागि काम गरिनेछ ।

नानी संकलन उल्लेख्य भएमा अर्को वर्षबाट यही आँखा बैंक स्थापना गर्न सेवा फाउण्डेशन नामक संस्थाले आवश्यक उपकरण उपलब्ध गराउन आश्वासन दिइसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस