स्वास्थ्यमन्त्री पोखरेलकै गृहनगर बर्दिबासमा ९८ जनामा डेंगु

Dengo prabab

महोत्तरी । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा डेंगुका विरामी बढेका छन् । बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा हुन नसक्दा जिल्लामा त्रास फैलिएको छ ।

महोत्तरी जिल्लाको बर्दिबासमा ५ जनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ ।

अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा ५ जनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखा परिसकेको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए ।

यसरी दुई साताअघि ५ जनाबाट शुरु भएको डेंगु रोग १ सय जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन् ।

बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ । जिल्लाका विभिन्न सरकारी निकायहरुले बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् भने सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ ।

प्रतिकृया दिनुहोस