धितोपत्र बजार : आज पनि ओरालो

Share market

काठमाडौँ । धितोपत्र बजार सोमबार पनि ओरालो लागेको छ । दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर १ हजार ५ सय १ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ ।

सोमबार अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १ सय ५२ कम्पनीको ६ लाख ४३ हजार ५ कित्ता शेयर ३१ करोड ६८ लाख ६ हजार ७ सय ५८ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ ।

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस