नेपाली बजार सुक्दै, भारतीय बजार फस्टाउँदै

बजार अनुगमनमा सरोकारवालाको उदासिनता

Border shop13

बनियानी, झापा । दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ ।

यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो ।

दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा अहिले नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।

“चाडपर्वका बेला किनमेलका लागि प्रायःजसो गलगलिया जाने गरेकी छु”, भद्रपुर–५ की पूजा शर्माले भनिन् , “त्यता सामान किन्दा अलि सस्तो पर्ने गरेको छ ।” दुई÷चार रुपैयाँ सस्तो हुने भएपछि आफू भारतीय बजारमा किनमेलका लागि जाने गरेको उनले सुनाईन् ।

नेपाली बजारमा चिनीको मूल्य पसलअनुसार रु ८० देखि ९० सम्म पर्ने गरेको छ भने भारतीय बजारमा भारतीय रुपैयाँ ४० देखि ४३ अर्थात नेरु ६२ देखि ६८ पर्ने गरेको छ ।

“यहाँ रु १७० प्रतिकेजी पर्ने दाल त्यहाँ भारु ७० मा पाइन्छ”, बिर्तामोड–६ की मीना बस्नेतले भनिन्, “सामानको दाम दुई÷चार रुपैयाँ कम हुने भएकाले किनमेलका लागि भारतीय बजार जाने गरेकी हुँ ।”

नेपाली बजारमा सामानको मनपरी मूल्य र बजार अनुगमन नहुँदा नेपाली उपभोक्ता भारतीय बजार जान बाध्य भएको उनको भनाइ छ ।
“बजार अनुगमन हुँदैन”, उनले भनिन् , “दाम पनि पसलैपिच्छे फरक–फरक हुन्छ, पसल सञ्चालकले अनुहार हेरेर सामानको मूल्य लिन्छन् ।”

भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताका कारण दिनदिनै बढ्दै गएका छन् भने नेपाली बजार सुक्दै गएका छन् ।
भद्रपुरको नजिकको भारतीय बजार गलगलिया दिनदिनै फस्टाउँदै गएको छ ।

“भारतीय सीमावर्ती बजारको ग्राहक भनेकै नेपाली उपभोक्ता हुन्”, भद्रपुर–८ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले भने , “सस्तो हुने भएपछि यहाँका उपभोक्ता उतै जान्छन्, सामानको गुणस्तरबारे खासै चासो हुँदैन ।”

खाद्यवस्तुमा मिसावट बढ्दै गएकाले उपभोग्य वस्तु खरिद गर्दा सर्वसाधारणले गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । “नेपाली रुपैयाँ भारतीय बजार जाने गरेकाले त्यसका लागि सरोकारवाला र व्यापारीले प्रभावकारी कदम चाल्नुपर्छ”, उनले भने ।

कुनै पनि वस्तु बिक्री गर्दा लागत मूल्यभन्दा २० प्रतिशतसम्म मुनाफा लिन पाइँदैन । त्योभन्दा बढी भएमा कालोबजारी गरेको ठहर्छ । तर, बजार अनुगमन नहुँदा अत्यधिक मुनाफा राखेर व्यापारीले मालसामान बिक्री गर्ने गरेको भद्रपुर–७ की लक्ष्मी ढकालले गुनासो गरिन् ।

“न बजार अनुगमन हुन्छ, न त कुनै पसलमा सामानको मूल्यसूची नै छ”, उनले भनिन् , “खानेकुराको दाम नै थाहा हुँदैन, जति भन्यो त्यति तिर्न बाध्य छौँ ।”

त्यस्तै, सीमावर्ती क्षेत्रमा खुलेका मनी चेञ्जरले महँगो दरमा भारतीय रुपैयाँ सटही गर्ने गरेका छन् ।
नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर भारु एक सयको १६० रुपैयाँ १५ पैसा भए पनि यहाँ रु १६५ मा कारोबार हुँदै आएको छ । सरोकारवाला निकायले नियमन र अनुगमन गर्न नसक्दा नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।

प्रतिकृया दिनुहोस