पाल्पा : पर्यटन विकासको खानी

Hira bk 11

आजभन्दा लगभग ४० वर्ष अगाडि नै पाल्पाको विकासका लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर त्यसबेलाका अग्रज स्व. भुयुमान लिगल, गणेशमान महर्जन लगायतले भन्ने गर्दथे । ४० वर्षपछिको अहिलेको अवस्थामा हेर्दा शिक्षाको क्षेत्रमा तत्कालीन समयदेखि नै पहाडी जिल्लामा सबैभन्दा बढि साक्षरता भएको जिल्लामा पर्दथ्यो । नेपालको राजनीति, प्रशासन र न्याय क्षेत्रलाई हेर्दा शिक्षाको क्षेत्रवाट बढि योगदान दिएको देखिन्छ । किनभने रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मी दुईजना प्रधान न्यायधीश भए । खिलराज त मन्त्रीपरिषद्को अध्यक्ष नै भए । मोहनमान सैंजु र पृथ्वीराज लिगल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भए ।

त्यति मात्रै होइन, मुख्य सचिव तथा गृहमन्त्री स्व. माधव घिमिरे भए । लीलामणी पौडेल गुल्मीका भए पनि उनको शिक्षा तानसेनको जेभिटीमा भएकोले त्यसमा पनि पाल्पाले गर्व गर्ने ठाउँ छ । यसरी तत्कालीक समयले शिक्षामार्फत नेपालकै अग्रणी न्यायधीश, योजनाविद तथा प्रशासकहरु जन्माएकोले शिक्षाको अवस्थालाई राम्रो मान्न सकिए पनि हाल आएर त्यसमा ठूलो उपलब्धी छैन । किनभने तत्कालीक समयमा रहेका विद्यालय र त्रिभुवन बहुमुखी क्याम्पसबाहेक शिक्षामा अरु छैनन, बद्लिदो परिस्थितिको समस्यालाई सम्बोधन गर्न स्थापना भएका केही बोर्डिङ स्कूलबाहेक ।

स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भने पश्चिमाञ्चल क्षेत्रमै नाम कमाएको मिसन अस्पताल थियो र अहिले पनि छ । तत्कालीन समयमा भारतको गोरखपुरबाट पनि त्यहाँ उपचार गराउन आउँथे । अहिले त्यो स्थानीय आवश्यक्ता पूर्ति गर्न मै सीमित छ । लुम्बिनी मेडिकल कलेजले अहिले एमविविएसको पनि पढाई गर्ने भएकोले त्यसमा केही प्रगति भएको मानिन्छ । तर पश्चिमाञ्चलका केही पहाडि जिल्ला बाहेकका अन्य क्षेत्रबाट उपचार गराउन आउने अवस्थाको बिकास भएन । किनभने त्यसका लागि बद्लिदो परिस्थिति सहितको अत्याधुनिक सेवा बिस्तार गर्न सक्नु पर्दथ्यो । तर त्यसो हुन सकेको देखिँदैन ।

पर्यटनको कुरा गर्दा पहाडी सहरहरुमा नेपालभर नै त्यत्तिको ठूलो र विकसित सहर अन्य कतै छैनन र पनि त्यसले बाह्य पर्यटक त पर्याप्त मात्रमा भित्र्याउन सकेन–सकेन, आन्तिरिक पर्यटकहरु पनि खासै आउन सकेको देखिँदैन । अहिले तानसेनमा केही स्तरीय होटेलहरु संचालनमा छन् । तर तिनीहरुले केवल विभिन्न काम विशेषले पाल्पा आउने ब्यक्तिहरुको आवश्यक्ता मात्र पुर्ति गरिरहेका छन् । यसरी ४० वर्ष अगाडि सुरु गरिएको शिक्षा, स्वास्थ्य पर्यटनको बिकासको अवधारणा कहाँ गएर फेल भयो भन्ने चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

अहिले नेपालको कर्मचारी तन्त्रमा ग्याप्स भन्ने शब्दावली प्रचलनमा रहेछ । त्यसको अर्थ गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जा भन्ने बुझिदो रहेछ । त्यसको मतलव अहिलेको कर्मचारीतन्त्रमा पनि अत्याधिक संख्यामा त्यहि ४ जिल्लाका व्यक्तिहरु छन् भन्ने हो र त्यसभित्र पाल्पालीहरुको संख्या त अन्य जिल्लाको तुलनामा बढि नै हुन्छ । पछिल्लो समयमा राजनीतिक क्षेत्रमा पाल्पाको त्यति ठूलो प्रभाव देखिँदैन । स्वयं योजना आयोगमा दुई–दुईजना उपाध्यक्षहरु पाल्पाली हुनु, अहिलेका चर्चित अर्थशास्त्री तथा प्रशासक रामेश्वर खनाल अर्थ सचिव सहित प्रशासनिक उच्च ओहोदामा पनि पाल्पाली हुँदा त्यहाँको बिकासमा किन ध्यान दिइएन । सम्भवतः पाल्पा छोडेर काठमाडौं आएपछि त्यस ठाउँलाई चटक्कै बिर्सिएर पनि हुन सक्छ ।

अहिले नेपाल भित्रिने करीव ८ लाख पर्यटकहरुको प्रमुख गन्तव्यहरु भनेको काठमाडौ उपत्यका, पोखरा र सौराहा हुन् । यी तीनै क्षेत्रका आ आफ्ना पहिचान छन् र अन्तर्राष्ट्रिय बजारमा तिनीहरुको ब्राण्डिङ भइसकेको छ । काठमाडौ उपत्यका देशको राजधानी हुनुका साथै यहाँको ऐतिहासिक मठमन्दिरहरु तथा संस्कृति छ । पोखराको ताल र हिमालको संगमले स्थापित प्राकृतिक सुन्दरता छ भने सौराहा जंगल सफारीका साथै दूर्लभ एकसिंगे गैडा छ । तर पाल्पाको पहिचान र त्यसको ब्राण्डिङ के त भन्ने प्रश्न नै महत्वपूर्ण हुन्छ । सानो तिनो रुपमा पाल्पाको तानसेनसँग प्राकृतिक सुन्दरता र ऐतिहासिकता दुइटै रहेको छ । खासगरी श्रीनगर डाँडाबाट देखि अन्नपूर्ण हिमाली श्रृंखला, सेन बंशीय राजा तथा त्यस पछिका शासक प्रशासकहरुबाट सिर्जित इतिहास र काठमाडौं कै जस्तो कलाकृतिहरु ।

त्यसको अलावा कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढि रहेका मगरहरुको रहनसहन तथा संस्कृति । तर यी कुराहरुले बाह्य पर्यटकहरुलाई आकर्षित गरेन र त्यसलाई प्रवद्र्धन गर्ने कोशिस पनि गरिएन । त्यसो हो भने के पाल्पाको पर्यटन बिकास सम्भव छैन त भन्ने अहम् प्रश्न हाम्रोसामु तेर्सिन्छ । अहिलेसम्मको बिकासको गतिलाई हेर्दा हामी चुप लागेर बस्यौं भने यस्तै तरिकाले बिकास हुँदै जाला । तर हामीले सुनियोजित तरिकाले अगाडि बढ्यौं भने त्यसलाई ब्राण्डकै रुपमा पनि बिकास गर्न नसकिने होइन ।

पाल्पालाई ब्राण्डको रुपमा विकास गर्ने भनेको यसलाई हिल स्टेशनको रुपमा हो । काठमाडौं नजिकको नगरकोट र धुलिखेल यसै रुपमा आफुले देश बिदेशका पर्यटकहरु आकर्षित गरिरहेको छ । हिल स्टेशनको रुपमा बिकास त गर्ने तर पर्यटकहरु कहाँबाट ल्याउने सबैभन्दा ठूलो चुनौती यहि हो । अहिले भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको चरणमा छ । यसको संचालनपछि त्यहाँ बर्षमा लाखौंको संख्यामा बौद्धमार्गी पर्यटकहरु आउने अनुमान छ । त्यसको केही प्रतिशत शीतल हावापानी भएको पाल्पाले आकर्षित गर्न सक्छ । अहिले गैंडाकोटदेखि कोरला नाकासम्म जोड्ने कालीगण्डकी करिडोरका सडक पनि निर्माणधीन छ । यो सडकलाई पाल्पाको रानीघाटमा जोडिन्छ । यो सडक पुरै कालोपत्रे सडकको रुपमा संचालन भएमा त्यहाँबाट मुक्तिनाथ जाने हजारौं स्वदेशी तथा भारतीय पर्यटकहरुको एकदिने गन्तव्य पाल्पा हुन सक्छ ।

अहिले भैरहवा, बुटवल तथा आसपासका सहरी क्षेत्रहरुमा दोस्रो पुस्ताका पहाडीयाहरु हुर्किसके र तेस्रो पुस्ताका हुर्किदै छन् । उनीहरुका बाबुबाजे पहाडबाट झरेपनि पहाडको जनजीवन कस्तो हुन्छ भन्ने उनीहरुलाई थाहा नहुन सक्छ । उनीहरुका लागि त पाल्पा एउटा पिकनिक गन्तव्यका साथै होमस्टे पनि हुन सक्छ । अहिले नवलपरासीको अमलटारीमा थारु होमस्टे संचालनमा छ । त्यहाँ बस रिजर्भ गरेर भैरहवा बुटवलका आन्तरिक पर्यटकहरु जान्छन् । त्यहाँ उनीहरुले थारु संस्कृतिको मज्जा लिनुका साथै जंगल सफारीमा रमाउँछन् । पाल्पाको बौद्ध गुम्बामा अहिले पनि होमस्टे संचालनमा छ । त्यसलाई अझ ब्यापक बनाएर मगर संस्कृतिको केन्द्रको रुपमा बिकास गराउन सकिन्छ र बुटवल भैरहवाका आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

धेरै ठाउँका हिल स्टेशनहरुको पर्यटक आगमनलाई हेर्दा त्यहाँ टाढा टाढाबाट धेरै संख्यामा पर्यटकहरु गएको देखिँदैन । दार्जिलिङलाई हेर्ने हो भने त्यहाँका अधिकांश पर्यटकहरु कलकत्ता, शिलगढी तथा आसपासका मैदानी क्षेत्रबाट घुम्न जाने आन्तरिक पर्यटकहरु नै हुन् । तानसेन पाल्पाको सबैभन्दा नजिक रहेको भारतीय सहर गोरखपुर हो, जुन अहिलेको उत्तरप्रदेशको मुख्य मन्त्रीको चुनावी क्षेत्र पनि हो र सो क्षेत्रको सबैभन्दा बिकसित सहर पनि । तानसेनबाट गोरखपुरको दुरी गाढीमा ४ घण्टा मात्र छ । गोरखपुर सहरको हालको जनसंख्या साँढे ६ लाख रहेको छ भने पूरै गोरखपुर जिल्लाको जनसंख्या साढे ४६ लाख रहेको देखिन्छ । अन्य राज्यहरुको तुलनामा उत्तरप्रदेश पिछडिएको मानिए पनि भारतमा भइरहेको तीव्र आर्थिक बिकासको असर त्यहाँ पनि परिरहेको छ । ४६ लाख जनसंख्याको २५ प्रतिशत मध्यम बर्गीय जनसंख्या मान्ने हो भने बाहिर घुम्नलाई निस्किन सक्ने जनसंख्या लगभग १२ लाख हुन सक्छ । र पाल्पाको हिलस्टेशनको सबैभन्दा नजिक र ठूलो बजार यहि १२ लाख जनसंख्या हुन सक्छ । अब चुनौति छ । यो १२ लाख जनसंख्यालाई पाल्पाको हिलस्टेशनले कसरी आकर्षित गर्ने ?

अहिले पाल्पाका केही व्यवसायीहरुले वेभसाईटमा २/३ दिनको भ्रमण प्याकेज बनाएको देखिन्छ । त्यसभित्र पहिलो दिन पाल्पा आउने, त्यहाँको स्थानीय बजार घुम्ने, भोलिपल्ट श्रीनगर घुम्ने र फर्किने । तर भारतीय पर्यटकलाई त्यहाँ कम्तिमा पनि तीनदिनसम्म व्यस्त राख्न सकिने थुप्रै कुराहरु हुन सक्छन् । तानसेनको रमणीय तथा ऐतिहासिक बजार घुमाउने र श्रीनगरवाट हिमश्रृंखला देखाउने त भइहाल्यो त्योबाहेक भारतीयहरु धार्मिक पनि भएकाले तानसेनबाट रुरु क्षेत्र रिडिसम्म पु¥याएर कालीगण्डकीको स्नान र बाटोमा एशियाकै सबैभन्दा ठूलो त्रिशुल दाबी गरिएको भैरवको दर्शनसहित फर्काउन सकिन्छ । रानीघाट दरबारसम्म पुग्ने बाटो राम्रो बनाएर त्यसको नेपालको राणाकालीन इतिहाससँग जोडिएका रोचक कथासहित पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । अझ कालीगण्डकीमा बाँध बाधेर रिडिसम्मै जम्ने ताल बनाउन सकियो भने स्टोरेज जलविद्युतका साथै जल पर्यटनलाई पनि बढाउन सकिन्छ । तर, यसका लागि ठूलो योजना र लगानीको आवश्यक्ता पर्दछ । हुन त तानसेनको पानीको समस्या समाधान गर्न त्यहाँबाट पानी पम्प गर्ने योजना पनि छ ।

अहिले स्थानीय तहको निर्वाचनपश्चात चुनिएको नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने स्थानीय सरकार रहेको छ । नेपाल सरकारले पनि सशर्त, निःशर्त र विशेष अनुदान दिन सक्ने ब्यवस्था अहिलेको नीतिमा गरेको छ । खासगरी विशेष अनुदानको ब्यवस्था सो ठाउँको बिकासका लागि गर्नुपर्ने विशेष योजना तथा कार्यक्रमको लागि हो । अतः यसको समेत सदुपयोग गर्दै अहिलेको निर्वाचित स्थानीय सरकारले पाल्पाको पर्यटन बिकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ । यदि यसो गरिएन भने विगत ४० बर्षमा यहाँका अग्रजहरुले देखेको सपना अधूरै रहे जस्तै अबको ४० वर्षसम्म पनि यस्तै रहन सक्छ ।

प्रतिकृया दिनुहोस