कहाँ हराए त १२ विदेशी कैदी ?

Bidesi kaidi

सिन्धुपाल्चोक । २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पले केसम्म गरेन ? देशलाई नै तहसनहस बनायो । यही भुकम्पले कतिको घरबास नै उठायो भने कति चाँही यही मौकामा चौका हान्न तल्लिन पनि देखिए ।

त्यही मौका छोपेर सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी कैदी भने साँढे दुई वर्षसम्म पनि सम्पर्कमा छैनन् । उनीहरुलाई प्रहरीले फरार सुचीमा मात्रै राखेको छ । तर, पक्राउ गर्न भने सकेको छैन ।

त्यसबेला सम्पर्क विहीन भएका १२ बाहेकका अन्य केही कैदीलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, ९ चिनियाँ, २ भारतीय र १ पाकिस्तानी कैदी भने अझैं गायब छन् ।

भूकम्प आएलगत्तै कारागारबाट २ सय १६ जना कैदी भागेका थिए । फरारमध्ये १ सय १८ जना सम्पर्कमा आइसकेका छन् । अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।

कोको छन् फरार ?
लिजुएन, जुल्पिङ झो पिङलगायत ९ जना चिनियाँ नागरिक भुकम्प आएलगत्तै फरार छन् । उनीहरुलाई सुन तस्करीको अभियोग लागेको छ । उनीहरुलाई जिल्ला अदालतले १० वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो ।

त्यसरी भुकम्प आएकै मौकामा फरार हुनेमा भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेञ्जिङ छिरिङ भुटिया र उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिम छन् । भुटियालाई ८ वर्ष कैद र ९ लाख ८५ हजार ३ सय १६ जरिवाना तोकिएको थियो । इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा ९ वर्ष कैद र १ लाख रुपैया जरिवाना गरिएको थियो ।

त्यसरी कैद भुक्तान नै नसकी फरार हुनेमा पाकिस्तानी नागरिक पनि छन् । उनलाई खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका थिए । उनी पनि अहिले फरार छन् ।

कहाँ हराए त १२ विदेशी कैदी ?
सबै विदेशी नागरिक नेपाल घुम्न मात्रै नेपाल आउँदैनन् । भनिन्छ, कतिपय चाँही ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ गर्नेगरी नेपाल आएका हुन्छन् । त्यही भएर पनि नेपाल आएपछि विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् ।

सिन्धुपाल्चोक कारागारबाट फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए ।

उनीहरुलाई पक्राउ गर्न सक्ने प्रहरीसँग खुवी भए पनि त्यसो गरेको पाइँदैन । तर, फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउँछन् । प्रहरीले चाँही सीमानामा रहेको प्रहरीलाई खबर गर्ने काम मात्रै गरेको छ ।

प्रतिकृया दिनुहोस